एक शिक्षकको ह्याट्रिक
पद्य विधाका सबैजसो उपविधामा कलम चलाउँछन्, सूर्यप्रसाद लाकोजू। पेसाले शिक्षण सेवा भए पनि साहित्यमा उत्तिकै तन मन दिइरहेका एक अक्षरकर्मी। उनले हालै गीत, मुक्तक र कविता विधाका तीन संग्रह अर्थात् ह्याट्रिक कृति प्रकाशनमा ल्याएका छन्। र, क्रमशः नाम जुराएका छन् ‘सुसेली’, ‘शाश्वत स्वरहरू’ र ‘मेरो घाम’।
सुसेली गीत संग्रहमा उनले ७१ वटा गीत समेटिएका छन्। त्यसो त गीत भन्नेबित्तिकै मायाप्रीतिकै हुन्छन्, कोरिन्छन्।
फूलको माया उनेर बस्छु नबिर्सी आउनू
यसपालिको तिहारमा तिमी जून बनी छाउनू। (जून बनी छाउनू है, ६७)
यसको अलावा लाकोजूको गीत संग्रहमा मन, मुटु, प्रीत, जून, आँसु, हाँसो, मिलन, बिछोड, भुल, सुख, दुःख, सपना, पूmल, याद, जित, हार थिममै गीति भाका कोरेका छन्। कतिपय गीत राष्ट्रप्रेममा समर्पित छन्।
देशको माया मखमली बनी मनमा फुल्दछ
मेचीदेखि महाकालीसम्म यो मन फुल्दछ। (चाहना, ३०)
गीतले सजीवता तब पाउँछ, जब संगीतकार अनि गायक, गायिकाले यसमा ज्यान भर्छन्। सुसेली गीतसंग्रहका गीतहरूले पनि सजीवता पाउने कुरामा उनी आशावादी छन्।
अर्को कृति ‘शाश्वत स्वरहरू’ मुक्तक संग्रहका धेरैजसो मुक्तक उम्दाको छन्। मुक्तकमा माया प्रेमको प्रसंग त हुने भइहाल्यो।
रित्तो थियो प्रेमको गाग्री भर्न मन लाग्यो
हृदयभरि तिम्रो नाम छर्न मन लाग्यो
मन लाग्दैन बस्न यहाँ तिमीबिना एक्लै
तिम्रो मनमा सुटुक्क डेरा सर्न मन लाग्यो (३०)
सामाजिक परिवेश अनि वर्तमान राजनीतिक परिस्थितिमा पनि बेपर्वाह व्यंग्य कसेका छन् लाकोजूले।
दयाको रोटी सेक्दैछौ तिमी
मेरो स्वाभिमानमा टेक्दैछौ तिमी
सापटी लिएको मेरो कलमले
इतिहास आफ्नो लेख्दैछौ तिमी। (९१)
१०१ वटा मुक्तक संग्रृहीत छ यसमा। मुक्तक संग्रहको अर्को महत्वपूर्ण आकर्षण भनेको प्रत्येक मुक्तकको भावना समेटिने गरी चित्रकार मञ्जु स्याउलाले कोरेका का सान्दर्भिक चित्र। मुक्तक भनेको चोटिलो हुनुपर्छ, अचार जत्तिकै ट्वाक्क हुनुपर्छ। यस मानेमा लाकोजूका मुक्तकहरूले मुक्तकको इज्जत राखेको छ।
‘मेरो घाम’ कविता संग्रहमा ५३ वटा कविता छ। आमा शीर्षकको कविताबाट थालनी गरेर मेरा बा शीर्षकको कवितामा टुंग्याएका छन् कविले। संग्रहमा आफ्नो थातथलोको वर्णन पनि समेटेका छन् कविले। नयाँ वर्ष, सहिद र २०७२ को भूकम्प पछि धरहरा शीर्षकमा कविता नकोर्ने कवि शायदै होलान्, यसै सूचीमा अटाएका छन् लाकोजू पनि।
कान्तिपुर हेर्ने त्यो आँखा
एकाएक नियमित र आकस्मिकताको
गर्भभित्र हराएको छ।
मेरो धरहरा। (मेरो धरहरा १४, १५)
यस कविता संग्रहमा प्रायः कविता बिम्बयुक्त एवं प्रतीकात्मक छन्।
बेरेर कात्रो
मेरा सपनाहरूमाथि
एक हूल मान्छेजस्तै देखिने प्राणीहरू
मलामी जाँदैछन्।
हेरेर पुलुक्क मलाई
मेरा आशाहरूमाथि कुल्चेर
नाचिरहेका छन्
एक हूल देशका ठेकेदारहरू। (आजको दिन, ६०)
संख्या होइन, स्तरीयताको आशा गर्नेको जमात बढ्दै गरेको समय, लाकोजूले सजगता बढाउनु आवश्यक छ। सत्य÷प्रकाश, बुद्धका योद्धा हो, पदको मान्छे, फटाहा, काग मजुर बन्दैन, कुरा, पर्ख, बुद्ध बिउँझाउन चाहन्छु, सहिद र मेरो देशलगायत शीर्षकका कविता अत्यन्त छोटा छन्। यी कविता हुन् कि मुक्तक कन्फ्युज पार्ने खालका छन्। मुक्तक, कविता अनि गीतले आ–आफ्नो साँध सिमाना कायम राख्नुपर्छ।
पछिल्लो समय नेपाली साहित्य क्षेत्रमा आख्यानले बजार लिएको बेला पद्य विधाका फरकफरक उपविधामै दत्तचित्त तवरमा लागेका छन् लाकोजू। साहित्यलाई अनुत्पादक क्षेत्र मानिँदै आएको समयमा यो एउटा अदम्य हठ नै भन्नु पर्छ शायद।
यसअघि ‘पूmल’ र ‘मन’ कविता संग्रह प्रकाशनमा ल्याइसकेका लाकोजूले पछिल्लो समय आफ्नो नामको प्रतिबिम्बस्वरूप ‘घाम’ शीर्षकमा डेरा सारेका छन्। हाल साहित्यिक त्रैमासिक प्रकाशनमार्पmत् अन्य स्रष्टालाई पनि डोर्याउँदै आएका छन् उनले। आगामी दिनमा उनीबाट अझ चोटिलो रचनाको आशा गर्न सकिन्छ।