एउटा अर्को जिन्दगी
निर्मल बर्मा
निर्मल बर्मा भारतका चर्चित लेखक हुन्। उनको जन्म सन् १९२९ मा सिमलामा भएको थियो। देहान्त सन् २००५ मा ७६ वर्षको उमेरमा भयो। बर्माले विशेष गरी उपन्यास, कथा, निबन्ध र अनुवादमा कलम चलाए। उनी विशेषतः प्रयोगवादी लेखक थिए। भारतमा चलेको ‘नयी कहानी’ आन्दोलनको उनी एक अभियन्ता थिए। ‘लालटिनकी छत’ उनको चर्चित उपन्यास हो। उनले ज्ञानपीठ पुरस्कार, पद्मभूषण, साहित्य अकादेमीलगायत पुरस्कार प्राप्त गरेका थिए। प्रस्तुत निबन्ध उनको ‘साहित्यको आत्मसत्य’ निबन्धसंग्रहको एक निबन्ध ‘एक दुसरी जिन्दगी’बाट अनुवाद गरिएको हो।)
कुनै कुनै बेला हामी पुरानो घनिष्ठ मित्रको बारेमा सोच्छौं उनीसँग पहिलो भेट कहाँ र कहिले भएको थियो ? तर स्मृतिलाई जति नै टक्टक्याए पनि त्यो पहिलो भेट सम्झनामा आउन गाह्रो हुन्छ। लाग्छ, मित्रसँग सदैव नजिक थियौं। त्यसैले मित्रहरूको पहिचान कुनै प्रथम परिचयको घेरामा अटाउँदैन।
सम्भवतः पुस्तक र मेरो सम्बन्ध यस्तै छ।
स्कुलको वार्षिक परीक्षापछि नयाँ कक्षा जानलाई ममा बेग्लै उत्साह हुन्थ्यो। त्यो उत्साह र अभिरुचिभित्र नयाँ साथी बन्छन्, पुराना अध्यापक छुट्छन् भन्दा पनि गोलबजारको इन्डियन बुक डिपोबाट किनिने नयाँ पुस्तक थियो। जब म नयाँ पुस्तक लिएर घर फर्किन्थेँ, लाग्थ्यो कुनै खजाना लुटेर फर्किरहेछु। कस्तो लट्ठ पार्ने मोहक सुगन्ध ! आज वर्षौंपछि पनि त्यो ताजा पुस्तकको सुगन्ध याद गरिरहेछु। मेरोबाहेक अरू भाइबहिनीको पुस्तकमाथि पनि मेरो सदैव लोभी र गिद्धेदृष्टि रहन्थ्यो। मेरी ठूली बहिनी मेधावी छात्रा थिइन्। प्रत्येक वर्ष परीक्षामा प्रथम भएबापत रंगीचंगी कागजले बेरिएको नयाँनयाँ पुस्तक इनाम पाउँथिन्। त्यो इनाममाथि पहिलो हक मेरै हुन्थ्यो। मन भरुन्जेल पढेर मात्र बहिनीलाई दिन्थेँ।
त्यो म भित्रको एकान्तपन थियो या बालापनको पागलपन ? भन्नु गाह्रो छ। त्यो आदत थियो भने आजपर्यन्त जारी छ। पुस्तक मेरो अर्को जिन्दगी थियो, मेरो आफ्नो जिन्दगीको समानान्तर चल्ने। कुनै उत्कृष्ट कथा या उपन्यासको पठनपछि मलाई अनुभूत हुन्थ्यो कि जसरी भारी वर्षापछि क्रमशः खुल्छ, सिमलाको पहाड। हो, त्यो कञ्चन, स्निग्ध पहाडझैं म खुल्दै गइरहेछु। त्यो उत्कृष्ट पुस्तकको कमाल थियो।
पुस्तक अध्ययनको वर्षौंको अनुभवले मलाई के लाग्न थाल्यो भने पुस्तकले मनको शोक, हृदयको डर वा अभावको पीडालाई मात्रै कम गर्दैन। बरु अरूको आँखा बचाएर दुखिरहने कपालमुनि मुलायम सिरानी राखिदिन्छ।
प्रायः पुस्तकसँग मेरो सहरको याद जोडिएको छ। सिमला जाँदा जब अम्बाले स्टेसनबाट गुज्रिरहेको हुन्छु, मलाई मेरो हजुरबुवाको अन्तिम दिनहरू याद आउँछ। आमा र म उनलाई भेट्न गएका थियौं। भित्र कोठामा हजुरबुवा आमालाई आफ्नो बिसन्चोबारे बताइरहँदा म भने बरन्डामा नेहरूको ‘विश्व इतिहासको झलक’ पढिरहेको हुन्थे। जुन नेहरूले नैनी जेलबाट छोरी इन्दिरालाई पत्रमा लेखेका थिए। अम्बलाको लामो दिनमा बसेर मैले विभिन्न सुदूर देशको यात्रा गरेको थिएँ। जब म बनारस र कलकत्ता जाँदा मुगलसराय स्टेसनबाट गुज्रिन्छु, हरबखत शरतबाबुको उपन्यास ‘गृहदाह’ याद भएर आउँछ। जहाँ महिमकी पत्नीलाई उसको मित्र सुरेशले भगाउँछ। र, अचला (सायद उनको नाम उही थियो) रेलको डिब्बामा अन्तिमसम्म पतिको प्रतीक्षामा हुन्छे।
र, त्यो रात जब म पहिलोपल्ट मस्को गएको थिएँ। एअरपोर्टबाट बाहिर देखेँ, खेतका गरागराहरू जूनमा नुहाइरहेको। हेर्नुस् त मेरो पागलपन ! बसको झ्यालबाट बाहिर हेर्नासाथ सोच्न थालेँ— यो कटेज ‘युद्ध र शान्ति’ उपन्यासमा वर्णित कटेज होला। जहाँ आन्द्रेले पहिलोपल्ट नताशाप्रति प्रेम अनुभूत गरेको थियो। रातमा निद्रा नलागेर त्यही ओकको रूखलाई स्पर्श गर्दै होला। र, नताशा बार्दलीबाट लुक्दै उसलाई नै हेरिरहेकी होली।
बसको झ्यालबाट हेर्दा वर्षौंपहिले पढेको दुर्दान्त प्रेमकथा सय वर्षपछि मस्कोको चाँदनी रातमा चरितार्थ भएको पाएँ।
स्कुलको अन्तिम वर्ष जब हामी बालापनको खुला आँगनलाई पछाडि छाडेर किशोरवयको स्वप्नील, ज्वरग्रस्त बिरानो दुनियाँमा प्रवेश गर्छौं, तब हाम्रो किताबी दुनियाँ पनि वेगल भएर आउँछ। म सम्झिन्छु त्यो दिन; जब मैले हार्डीको उपन्यास, चेखवको कथा र तुर्गनेवको अविस्मरणीय बुवा र छोरा पढेको थिएँ। तर जुन पुस्तकले मलाई भित्रैबाट हल्लाएको थियो (आज कसैले विश्वास गर्लान् ? ) रोमा रोलाँको विराट ऐपिक उपन्यास ज्याँ क्रिस्तोफ थियो। यो पुस्तकबारे वर्तमानमा कमैलाई जानकारी होला।
आजपर्यन्त त्यो पुस्तकको हल्का नीलो गाता र पातलो कागजको पाना सम्झनामा आइरहेछ। मेरो मित्र स्वामी, कपिलाजी, उनकी आमा सत्यवतीजी (उहाँको घरमा साहित्यिक गोष्ठी हुन्थ्यो) बनारसी चतुर्वेदी, वात्सायनजीलगायत साहित्यप्रेमीहरूको पहिलो रोजाइ थियो उक्त पुस्तक। र, एकअर्कामा नखुलाए पनि हाम्रो आदर्श पात्र थिए— ज्याँ क्रिस्तोफ। हामीलाई क्रिस्तोफझैं बन्नु थियो— कलामर्मज्ञ, पियानोवादक र उदात्त मानवीय आर्दशको जाज्वल्यमान प्रतीक। आज सम्झिन्छु, कालान्तरमा साम्यवादमा मेरो रुचि बढ्नुमा माक्र्स र लेनिनको पुस्तकभन्दा ज्याँ क्रिस्तोफको बढी भूमिका थियो। ज्याँ क्रिस्तोफ जस्तो सुन्दर, संवेदनशील र आदर्श स्वप्नमा जिउने युवकको जीवनगाथा पढेर म साम्यवादप्रति आकर्षित भएको थिएँ। मेरो मित्र स्वामिनाथन प्रायः उपन्यासको एउटा वाक्य दोहोर्याइरहन्थे, जुन हाम्रो जीवनको चरम सत्य बनेको थियो, प्रत्येक व्यक्ति एक्लै सत्यको मशाल लिएर अँध्यारोमा हिँड्छ।
आज आधा शताब्दीपछि पनि यो वाक्य मेरो अन्तरहृदयमा मैनबत्तीझैं प्रदीप्त जलिरहेछ।
कुनै किताब प्राप्त गर्दा अनौठो संयोगसँग साक्षात्कार भएझैं लाग्छ। हाम्रो आत्मा मृगतृष्णाको आगोमा जलिरहेको बेला ती पुस्तक हात लाग्छ र प्रतीक्षा समाप्त हुन्छ। लाग्छ, वर्षौं पढ्न प्रतीक्षा गरेको पुस्तक हात लाग्यो। जब अज्ञेयको ‘शेखर’ पढेँ, मलाई यस्तै अनुभूति भयो। सोचेँ— हिन्दीमा पनि गहन पुस्तक लेख्न सकिँदो रहेछ। एउटा चमत्कारझैं लाग्यो मलाई। महिनौंसम्म अज्ञेयको भाषा र शैलीको नशा मेरो मनमा गढेर बस्यो। प्रेमचन्द, सुदर्शन, जैनेन्द्रको उत्कृष्ट कथाहरू पहिले पनि नपढेको होइन। तर अज्ञेयको प्रभाव उनको कथ्यमा होइन, त्यो प्रज्ज्वलित इन्टेन्सिटीमा थियो, जसले शब्दको माध्यमबाट हाम्रो भावजगत्लाई बिस्तारै–बिस्तारै तरंगित गरिदिन्थ्यो।
कुनै पुस्तकको स्मृति तिनको पानाबाट उप्केर हाम्रो जिन्दगीको गातामा बाँधिएको हुन्छ। म स्टिफेन्स कलेजका दिनहरू सम्झिरहेछु। हाम्रो घर दिल्लीमै भए पनि म होस्टेल बस्थे। बुवालाई परीक्षाको तयारीका लागि होस्टेल बस्नुपर्छ भनेर मनाएको थिएँ तर यथार्थ अर्कै थियो। होस्टेलमा साथीहरूसँग बस्नुको आनन्द र सम्मोहन बेग्लै थियो। कलेजको लाइबे्ररी होस्टेल बस्नुको अर्को कारण थियो, जहाँ म नजिकै आइरहेको परीक्षाको तनावबाट मुक्ति पाउन खाना समयअघि एकाध घण्टा पढ्थेँ। लाइब्रेरीमा भर्खरै किनिएको किताब राख्ने अलग्गै दराज थियो। ती नयाँ किताब सूचीकृत नभएका कारण कोठामा लगेर पढ्न पाइन्नथ्यो। त्यहीँ भने पढ्न मिल्थ्यो।
अझै पनि मलाई त्यो साँझ याद छ, जब म ती नयाँ पुस्तकहरूलाई ओल्टाई पल्टाई सुम्सुम्याइरहेथेँ। त्यही बेला मेरो हातमा यस्तो पुस्तक आइलाग्यो कि त्यो पुस्तकको प्रत्येक नयाँ अध्याय टेढो अक्षर (इटलिक्स) बाट सुरु भएको थियो। त्यहाँ मात्र छालको विवरण थियो; जो दिनको प्रत्येक प्रहर, प्रकाश र छायाँ, मध्याह्न र साँझमा आफ्नो रंग, उछाल र ज्वारभाटाको हृदयभेदी आवाजमा गुञ्जिरहन्थ्यो। यी छालमा उपन्यासको छ साथीहरूको जीवनको उतारचढाव प्रतिविम्बित थियो। जो बच्चादेखिकै साथी थिए र लामो अन्तरालपछि फेरि सँगै थिए। तपाईंहरूले अनुमान लगाउनुभयो होला, त्यो भर्जिनिया उल्फको उपन्यास ‘वेब्स’ (छाल) थियो।
नजिकै आइरहेको परीक्षाको तनाव थियो या होस्टेल जीवनको एकांकीपन। त्यो साँझ सब थोक भुलेर उक्त पुस्तक पढ्दै गएँ। सबै पात्रको मोनोलोग्स शैलीमा लेखिएको उक्त उपन्यास भर्जिनिया उल्फको सम्भवतः सबैभन्दा जटिल तर मर्मस्पर्शी पुस्तक हुनुपर्छ। एक पात्र बर्नार्डको अन्तिम एकालाप जुन ‘ओ मृत्यु’ बाट सुरु हुन्छ, त्यसले मलाई वर्षौंसम्म त्रस्त बनाइरह्यो। मैले ‘छाल’ उपन्यासलाई किन पनि यति बिस्तारपूर्वक सम्झिएँ भने समयान्तरमा भर्जिनिया उल्फ मेरो सबैभन्दा प्रिय लेखक भई। त्यो पुस्तकको हरियो गाता मेरो स्मृतिमा गढेर बसेको छ।
उहिले आजको जस्तो पेपरब्याक पुस्तक धेरै कम पाइन्थ्यो। किताबप्रति मेरो लगाव कथ्यप्रति मात्रै थिएन। किताबको बाहिरी आवरण, कभरप्याकेट, पानामा प्रयुक्त खास किसिमको कागज, अक्षरको प्रिन्टटाइप आदि अनेकौं चिजसँग लगाव जोडिएको हुन्थ्यो। रोयल साइजको आकारमा पढ्न पाइने ‘म्याजिक माउन्टेन’ र ‘वार एन्ड पिस’ जस्तो पुस्तक आज पकेटबुकमा देख्नु र पढ्नु अश्लील कर्मजस्तो लाग्दो रहेछ। लगभग यो त पहिलो प्रेमझैं हुँदो रहेछ। जसरी हामी प्रेमिकाको अनुहारमात्र होइन, उनको सलवार–कमिजको रङ, सल ओढ्ने अन्दाज, चप्पलमा लागेको धुलो सप्पै याद गर्छौं। त्यसरी नै पहिलोपटक पढेको पुस्तक याद गर्दा रहेछौँ।
आज वर्षौंपछि मेरा प्रिय पुस्तकहरूको सस्तो संस्करण र नयाँ अनुवाद (ती जति नै श्रेष्ठ किन नहुन्) देख्छु, मलाई चित्त दुखेर आउँछ। केहीअघि ‘वार एन्ड पिस’को नयाँ अनुवाद हेर्दै थिएँ, मेरो प्रिय पात्र आन्द्रेलाई अंग्रेजी नामकरण एन्ड्र्यु बनाएको देख्दा ठूलो आघात लाग्यो। अनि झटपट त्यो अनुवादलाई जहाँको तहीँ फिर्ता राखिदिएँ। लाग्यो, मैले कुनै अशुभ बस्तुलाई छोएँ।
पुस्तक आफैंमा साथी हो। फेरि कुनैकुनै बेला पुस्तकको माध्यमबाट नयाँ मित्रता स्थापित हुँदो रहेछ। प्रागमा जब मैले आइसल्यान्डका विद्यार्थी भेटेँ, उनीहरूका लागि म सुदूर ग्रहको प्राणी थिएँ, जसरी मेरा लागि तिनीहरू। तर, उनीहरूको विनोदप्रियता, मेधावीपन र बियर पिउने रुचिले मलाई नजिक हुन उत्प्रेरित गर्यो। मलाई ठट्टामा ‘कुआयट इन्डियन’ भनेर जिस्क्याउँथे। जसले गैह्रम ग्रिनको उपन्यास ‘कुआयट अमेरिकन’ पढेको छ, तिनीहरूलाई यसभित्र लुकेको व्यंग्य थाहा हुन्छ। एकपटक पबमा बियर पिउँदै गर्दा जब मैले आइसल्यान्डी लेखक नोबेल पुरस्कार विजेता लैक्सनेसको उपन्यास ‘इन्डिपेन्डेण्ट पिपल’का बारेमा कुरा गरेँ, उनीहरू अचम्भित भए। उनीहरूले सायद सपनामा पनि सोचेका थिएनन्, एउटा सुदूर भारतीयले अपरिचित देश आइसल्यान्डका लेखकको किताब पढेको होस्। त्यसपछि हाम्रो चिनजान गहिरो मित्रतामा परिणत भयो। गर्मीको छुट्टीमा हामी आइसल्यान्ड गयौं। उनले लैक्सनेससँग भेट्ने व्यवस्था मिलाइदिए। कुनै विश्वविख्यात लेखकसँग जीवनमा पहिलोपल्ट अन्तर्वार्ता लिएँ।
एकै जिन्दगीमा हामी पुस्तकको सहाराबाट अनेकौं विचित्र जिन्दगीको बाटोदोबाटो घुम्छौं। मेरो लागि सुख के हो ? भनेर कसैले सोधेमा सोचविचार नगरी भन्ने थिए— कुनै घमाइलो दिनमा रूखको छहारीमा बसी चेखवको कथा, टामस मानको उपन्यास या रिल्केको पत्र पढ्नु। यी पुस्तक नपाएमा जापानी र प्राचीन चिनियाँ हाइकु पढ्नु।
र अन्त्यमा, जो–जसले मेरो पुस्तक लगेर फिर्ता गर्न भुले, उनीहरूलाई सायद थाहा छैन, मेरो र्याकमा एउटा दुर्लभ पुस्तक छ। जुन पुस्तक मैले लन्डनको चैरिङ क्रसरोडको ऐन्टिक पसलमा किनेको थिएँ। मूल्य मात्र दुई पाउन्ड। त्यो पुस्तक हो, टीएस एलियटको ‘अफ्टर स्टें«ज गड्स’को प्रथम संस्करण। यो पुस्तक दुर्लभ यसकारण भयो कि दोस्रो संस्करण छाप्ने अनुमति एलियटले दिएनन्।
अनुवाद : प्रकाश थाम्सुहाङ