हङकङमा कुनसाङ काका
‘हङकङ नेपाली फाउन्डेसनले पारिजात स्मृति दिवसमा यसपालि कुनसाङ काकालाई बोलाउँदैछ, सहयोग गर्नुपर्छ है’, हङकङका एकमात्र पूर्णकालीन पत्रकार किसन राईले भनेपछि लौ राम्रै गर्न लागिएछ भन्दै म काकाको बारेमा घोत्लिन थालेछु। साहित्यको ‘स’ र राजनीतिको ‘र’ बुझ्न थालेदेखि नै मैले यिनलाई चिन्न थालेको हो। उमेरले घटीबढी भए पनि विचार र लेखाइसँग पिताजी केवलपुरे किसानसँग नजिक भएर होला, यिनी मेरो मनमा छन्।
अझ विगतलाई कोट्याउँदा हातमा स्मार्ट फोन थिएन त्यस बेला। नेपाल फोन गर्न पनि मिनेटको आठ डलर लाग्ने जमानामा शनिबारको कान्तिपुरमा यिनको ‘बेलाको बोली’ स्तम्भ सापटी हेरेर फिर्ता दिने गुन लगाएका थिए, पशुपति स्टोर हङकङका घनश्याम भाइले। जहाँ सात समुद्रपारि रहे पनि स्वदेशबाट निस्कने अधिकांश पत्रपत्रिका र पुस्तक हेर्न, किन्न पाइन्छ। भीआईपी स्टोर हङकङकी रमा भाउजूले (हाल बेलायत) लौन, दीक्षा छोरी आज कुनसाङ काकाको ‘बेलाको बोली’ आउँछ, एकछिन पसलमा बसिदिनु म कम्प्युटरमा पढेर आउँछु भनेर भन्ने गरेको दशक नाघिसकेछ।
यी काकाका लेखनशैली र यथार्थपरक अभिव्यक्ति मन पराउने एक जोडी प्रतिनिधि पात्र भए पनि शनिबार बिहान छापिएर त्यही दिनको उडानबाट बेलुकी दुकान–दुकान आइपुग्दा ६ हङकङ डलर (करिब ५० रुपैयाँ) पर्ने कान्तिपुर दैनिक किनेर यिनको स्तम्भमा घोत्लिने दर्जनौं पाठक थिए।
‘हङकङ एअरपोर्टबाटै किसन राईले फेसबुकमा फोटो राखिसके, लौ काका आइपुगेछन्’, कसैले सुनायो, यो सुन्नासाथ काकालाई भेट्ने तिर्खा अझै जाग्यो। नभन्दै गैरआवासीय नेपाली संघ हङकङले बगैचा रेस्टुराँमा राखेको कार्यक्रममा काकालाई लिएर आइपुगे किसन। नचिन्नेले को रहेछ यो मझौला कदको कपाल फुलेको, मोटो चस्मा लगाएको, पातलो टाठो बूढो भनेर हेराहेर गरे। यिनलाई चिनेका र पढेका झुण्डहरूले भने झम्टिहाले सेल्फी लिन। म सबैभन्दा पछि मुख उदयाएर पालो पर्खे। करिब ६ वर्षअघि काकाको कान्तिपुरमा लेखको एउटा वाक्य सुनाएँ, ‘जनवादी प्रगतिशील कवि केवलपुरे किसानको पार्थिव शरीरलाई कर्मकाण्डी शैलीमा आर्यघाटमा अन्त्येष्टि गरिरहँदा एमालेका सकलगण मौन मुद्रामा शदगद् दिइरहेका थिए।’ परिचय थाहा पाइहाले, कण्ठै रहेछ क्यारे काका खिसिक्क हाँसे। यो लेख हामी तेह्रदिने काममा व्यस्त रहँदा पढिएको, जुहारी खेल्न मन लागेन, तपाईंको बुझाइ लेखाइ सही यथार्थपरक तर वास्तविकता म बताउँला भन्दै गर्दा हङकङको चलन खादा, बिल्ला, विशेष अतिथि र छोटो दुई शब्दका लागि काका व्यस्त भइहाले।
‘लु किसनजी बूढासँग बसेर पेटभरि कुरा गर्ने रहर छ, मिलाउनुहोला।’ ‘बिग बुद्ध जाँदा मिलाउला’, एक दिन उनले भने। हङकङको औपचारिक कार्यक्रम भ्याएर बिग बुद्ध घुमाएर ल्याउँदा तुङ्चुङको केबलकार स्टेसनको फेदैमा पर्खिरहेको थिए। काकाका पथप्रदर्शक थिए उनै किसन राई र हङकङका भयवादी लेखक देश सुब्बा। जाडो अलि बढेको थियो, काकाले कफी खाने मनशाय राखे। अनि मैले सोधँ, ‘एउटा सानो साइड सिन छ, हिँड्न सकिन्छ नि थोरै ? ’, ‘किन नसक्नु यार’, उनले भने। मैले हरेक दिन नाप्ने गरेको थुम्कोको गोरेटो बाटो हुँदै ओरिजनल तुङ्चुङ पुरानो माझीगाउँ लिएर गएँ।
जे देख्ने त्यही सोच्ने र लेख्ने निडर, सत्ता र भत्ताको लोभ नगर्ने, यथार्थवादी, आदर्शको जीवन बाँच्ने कलमवीर लाग्छन् कुन्साङ काका मलाई।
ल हेर्नुस्, यो पारि झलमल्ल एअरपोर्ट, करिब नेपालको दुर्गम जिल्लाको जनसंख्या अटाउने गगनचुम्बी भवनहरू, मुख्य सहरसम्म जाने आठ लेनको सडक, दस वर्षमै निर्मित समुद्रमाथिको चर्चित चिङ्मा पुल। हालै सञ्चालित समुद्रमाथि बनेको पचपन्न किलोमिटरको संसारकै लामो हङकङक मकाउ जुहाई पुल। के गर्नु हाम्रो देशमा माओको लेनिनको फोटोअगाडि उभिएर हात मात्रै उठाउने हुन्, काम गर्ने होइनन् क्यारे। काठमाडौँका जनताले मेलम्चीको पानी पिउन गाग्री लिएर कुरेको दुई दशक भइसक्यो। मैले दृश्य देखाउँदै कुरा राख्दा काका अनुहार खुम्च्याउँदै सुनिरहे।
पिताजीले जीवनको अन्तिमपटक हङ्कङ आउँदा हरेकपटक यहाँको परिवर्तित विकास देखेर भनेको ‘छोरा देश विकास हुन माक्र्सवाद, लेनिनवाद माओत्सेतुङ विचारधारासँगै इमानदारितावाद, नैतिकवाद र अनुशासनवाद पनि चाहिने रहेछ’, यो सुनाउँदा काकाले असहमति जनाएनन्। अब कफी सपमा कफीको चुस्की र खाजासँगै काकासँग गफिने पालो देश सुब्बालाई दिएँ।
घरको लिफ्टको बटम दबाउँदा काकाले सोधे, ‘छयालीस तला ? ’ लेखेको मात्र हो तर चिनियाँहरू हामीभन्दा बढी अन्धविश्वासी र संस्कारी हुन्छन्। चार अंकलाई अशुभ मान्छन्। चार, चौध, चौबीस, चौँतीस, चवालीस घटाउँदा चालीस हाराहारीमा पर्न आउँछ। मैले मेरी श्रीमती बेन्जुको परिचय गराएँ। उनले थपिन्, ‘तपाईंको नाम धेरै सुनेको, म साहित्यकारचाहिँ हैन, बरु मेरो भाइ र काका तपाईंका रचना नछुटाई पढ्थे।’
मैले सातवर्षे छोरीको पनि परिचय गराएँ। ‘यो एउटा मात्र ? ’ काकाले सोधे ? ‘छोरो एक्काइस वर्षको छ, बेलायतको किङ्स कलेजमा राजनीतिक अर्थशास्त्र पढदै छ। मैले आईटी पढ् भनेको, हजुरबा र बाउको जिनले होला, मानेन’, मैले भनेँ।
बेन्जु भान्सातिर लागिन्। काकालाई सोधँे, ‘के पिऊँ ? ह्विस्की, वाइन, बियर।’ काकाले भने, ‘ह्विस्की तर सिभास घटी पिउन मन लाग्दैन आजकल।’ मैले सिभासको बिर्को निमोठेँ। देश र किसनले पनि त्यसैमा सहमति जनाए। काकासँग पलेँटी कसियो। कुराको पन्तुरो फुकाउँदै मैले भनँे, ‘पिताजीको अन्त्येष्टिमा तपाईं र गोविन्द भट्टराईलाई छुट्टै सँगै बसेको देखेको थिएँ। भट्टराई एक हप्तापछि बितिहाल्नु भो। तेह्र दिनको शोकसभामा तपाईंलाई देखिएन। एक वर्षको पिताजीको वार्षिकीमा केवलपुरे किसान स्मृतिग्रन्थ विमोचनमा छुटाउन नहुने नाम भनेर भनेको थिएँ। म छोटो समय मिलाएर काठमाडौं गएको थिएँ। प्रकाशक, आयोजकहरूलाई छुटाए या आउन पाउनु भएन।’
मैले अलि लामै कुरा राखेँ, अक्सर मनबाट भन्दा भोटका लागि, पार्टीका लागि देखावटी आधुनिक अन्त्येष्टि गर्नेेहरूलाई मैलेभन्दा तपाईंले धेरै नजिकबाट नियाल्नुभएको छ। बरु २००८ सालमा स्व. श्यामप्रसाद शर्माको नेतृत्वमा खोलिएको प्रगतिशील लेखक संघको सदस्यबाहेक जीवनभर कुनै पार्टीको सदस्य नबनी जनताको लेखिरहने पिताजीले आफ्नो मत्युपछि छोराहरूले कुनै पार्टीको झन्डा ओढाउन नदिऊन्। र, आफ्नो शरीरलाई जिउँदो छउन्जेल वास्ता नगर्ने प्रज्ञा भवनमा नराखून् भन्ने इच्छामा चाहिँ हामी सजग थियौं। तत्कालीन एमाले पार्टी नेता झलनाथ खनालका निजी सहायकले कमरेड खनाल अन्त्येष्टिमा आएर पार्टीको झन्डा ओढाउने भनेर भाइ विमललाई फोन आएको थियो। ‘कमरेड फूल लिएर आउनुभए राम्रो’, विमलले जवाफ दियो। उहाँले त्यही गर्नुभयो।
डा. सरोज धितालले अवस्था अलि गाह्रो छ भनेपछि जीवनको अन्तिम घडीतिर करिब एक वर्ष राखियो हङकङमा बुवालाई। एक दिन राति घर आइपुग्दा सुत्नुभएको रहेनछ। निधारमा खरानीजस्तो सेतो धर्सो देखेँ। जिन्दगीभर टीका नलगाउने, पूजा नगर्ने पिताजीले टीका लगाएको अचम्म लाग्यो।
काममा बस्दै गर्दा कान्तिपुर पल्टाएँ, काकाको लेखमा टक्क अडिएँ, माथिको वाक्य त्यो साँझ फेरि दोहोर्याएँ। कतिले तपाईंको लेखबारे आलोचना गरे पनि, केवलपुरे किसानको सिंगो जीवनलाई नजिकबाट नियालेको र बुझेको व्यक्तिको यथार्थपरक अभिव्यक्ति भन्ने मलाई लाग्यो। काकाले मुन्टो हल्लाए।
काकाले कम बोले, धेरै सुने। छयालीस सालअघि पिताजीसँग घनिष्ठ, नजिक, प्रजातन्त्रपछि अलि टाढा, गणतन्त्रपछि झन् टाढा भएका राजनेता, उपनेता, साहित्यकार लेखकहरूका बारेमा सोधेँ। एउटा शब्दभन्दा बढी, वाक्यभन्दा कममा सटिक मन छुने उत्तर दिए गाँठे यी काकाले। विविध पारिवारिक कुरा पनि भए। खानपानपछि काकालाई बिदाइ गर्दै, यस्तो विशेष संयोग जुराइदिने किसन राईलाई धन्यवाद दिएँ।
हुन त काकालाई आजीवन प्रतिपक्षी, गाली शिरोमणि, छुच्चा लेखक भन्नेहरूले भने पनि मलाई चाहिँ जे देख्ने त्यही सोच्ने र लेख्ने निडर, सत्ता र भत्ताको लोभ नगर्ने, यथार्थवादी, आदर्शको जीवन बाँच्ने कलमवीर लाग्छन् कुन्साङ काका। सायद उनीसँग मेरो पनि जीवन जिउने रसायन मिलेर होला।
(लेखक हङकङमा व्यवसाय गर्छन् )