बार्सिलोना ५ अंकले अघि, १० खेलाडीमा सीमित रियलको जित
एजेन्सी : स्पेनिस ला लिगाको आइतबारको खेलमा लिग लिडर बार्सिलोलाने सहज जित निकालेको छ । गिरोनामाथि २–० को जित निकालेको बार्सिलोना दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई ५ अंकले पछि पार्न सफल भएको छ ।
बार्सिलोनाको जितका लागि डिफेन्डर काब्रल सेमेडो र कप्तान लियोनल मेसीले एक–एक गोल गरे । सेकेडोले खेलको ९ औ मिनेटमा गोल गरेका हुन् भने मेसीले ६८ औं मिनेटमा गोल गरेका हुन् ।
५१ औं मिनेटमा डिफेन्डर स्पिनोसा दोहोरो पँहेलो कार्ड खादै बाहिरिएपछि गिरोना १० खेलाडीमा सीमित भएको थियो ।
ला लिगा कै आइतबारको खेलमा अर्काे उपाधि दावेदार टोली रियल मड्रिडले स्पानियोल माथि ४–२ को जित निकालेको छ । रियलको जितका लागि करिम बेन्जिमाले ४ मिनेट र पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । १५ औं मिनेटमा रामोस र ६७ औं मिनेटमा बेलले गोल गरेका थिए । स्पानियोलका लागि बापटिस्टाले २५ औं मिनेटमा गोल गर्दा ६४ औं मिनेटमा मैदान छिरेका रोसेलले ८१ औं मिनेटमा गोल गरे ।
७२ औं मिनेटमा डिफेन्डर राफेल भरानेले सिधै रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको रियल मड्रिडले अन्तिममा गोल खाए पनि नजिता आफ्नो पक्षबाट उम्किन भने दिएन।
अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २१ खेलबाट ४९ अंक छ । समान खेलबाट ३९ अंक रहेको रियल तेस्रो स्थानमा उक्लिएको छ । २१ खेलबाटै ४४ अंक बनाएको एथ्लेटिको मड्रिड दोस्रो र ३६ अंक रहेको सेभिल्ला चौथो स्थानमा छन् ।
ला लिगाका आइतबारका अन्य खेलमा रियल भल्लाडोलिडले सेल्टाभिगोमाथि २–१, एथ्लेटिक बिल्बाओले रियल बेटिसमाथि १–० को जित निकाल्दा रियल सोसिडड र हुयस्काले गोलरहित बराबरी खेले ।