धुर्मुस-सुन्तलीले क्रिकेट रंगशाला बनाउने भएपछि गाउँमा खुसीयाली

धुर्मुस-सुन्तलीले क्रिकेट रंगशाला बनाउने भएपछि गाउँमा खुसीयाली

भरतपुर : रंगशाला निर्माणका लागि केही महिनाअघि सर्भे हुँदा पश्चिम चितवनको शान्तिचोक वरपरका बस्तीमा चर्चा र बहस हुन थाल्यो। रंगशाला बने गाउँकै विकास हुनेमा आशावादी थिए, स्थानीय। रंगशाला बनाउन उपयुक्त जग्गाको खोजीमा रहेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ जग्गा अवलोकनका लागि पुगेपछि भने गाउँको भरोसा बढ्यो। लामो समयको छलफल र प्रयासपछि सोही स्थलमा रंगशाला निर्माण हुने भएपछि अहिले त्यस क्षेत्रमा खुसीयाली छाएको छ।

राष्ट्रिय गौरवको आयोजना आउने भएपछि ओझेलमा परेको क्षेत्रको पहिचान बढ्ने स्थानीय ६३ वर्षीय आशबहादुर गुरुङ बताउँछन्। ‘रंगशाला बन्ने कुराले सिंगो गाउँ नै खुसी छ’, उनले भने, ‘गाउँमा हुने विकास कार्य हाम्रो छोरानातिको भविष्यसँग पनि जोडिएको छ।’ रंगशाला कहिले बन्ला भन्ने विषय यतिबेला चोक चौतारामा दिनहुँ चर्चाको विषय बनेको छ।

स्थानीय लक्ष्मी भट्टराई पनि अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण भएपछि गाउँको मुहार फेरिने विश्वास व्यक्त गर्छिन्। ‘रंगशाला बनेपछि हाम्रो यो पिछडिएको ठाउँको पनि विकास होला भन्ने लागेको छ’, उनले भनिन्। पश्चिम चितवनको रामपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुन लागेको हो। भरतपुर महानगरपालिकाको वडा नम्बर १६ स्थित कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण गर्न लागिएको हो।

भरतपुर महानगरपालिका र धुर्मुस—सुन्तली फाउन्डेसनको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो। रंगशाला निर्माणको लागि धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बुधबार रंगशाला निर्माणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दैछन्।

लामो समयको प्रयासपछि रंगशाला निर्माण हुने कुरा सबैको लागि उपलब्धिको विषय भएको महानगरपालिकाकी प्रमुख दाहालले बताइन्। जग्गा खोज्न निकै चुनौतीपूर्ण परिस्थितिको सामाना गर्नु परेको उनको भनाइ छ। ‘राष्ट्रिय गौरवको आयोजना सञ्चालन हुनु सबैका लागि गौरवको विषय हो’, दाहालले भनिन्, ‘खेल्नलायक मात्रै होइन, हेर्न लायकको पनि रंगशाला निर्माण गर्ने सोच हो।’

शिलान्यास भएको दुई वर्षभित्र रंगशाला निर्माण गरिसक्ने भनिए पनि १८ महिनामै काम सम्पन्न हुने दाबी दाहालले गरिन्। रंगशाला निर्माणको औपचारिक घोषणा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन्। सोही कार्यक्रममा गुरुयोजनाको लागि तयार गरिएको खाका पनि प्रस्तुत गरिनेछ। रंगशालाका लागि त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कृषि तथा वन विश्वविद्यालयको भोगचलनमा रहेको जग्गा त्रिपक्षीय सहमतिबाट भरतपुर महानगरपालिकालाई उपलब्ध गराइएको थियो।

रंगशाला निर्माणका लागि २० बिघा आठ कठ्ठा जग्गा धुर्मुस—सुन्तली फाउन्डेसनलाई उपलब्ध गराइएको छ। रंगशाला निर्माणको लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहमतिपत्रमा हस्ताक्षर भएपछि ६ महिनाभित्र निर्माणकार्य अगाडि बढाई त्यसको दुई वर्षभित्र काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गरिने योजना छ।

‘हामीले यो क्षेत्रलाई खेलकुदको हब बनाउन खोजेका हौं’, धुर्मुस—सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले भने, ‘कुनै पनि हालतमा विश्वको नमुना रंगशाला बनाउँछौं।’ उनले सबैको सहयोगबाट मात्र निर्माणले गति लिने भन्दै सहयोगका लागि आह्वान पनि गरेका छन। रंगशाला निर्माणका लागि मोडालिटी तथा रंगशालाको व्यवस्थापन र सञ्चालन कार्यविधि तयार पारिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मापदण्डबमोजिम आवश्यक प्रक्रिया पूरा गरेर रंगशाला निर्माण गरिने बताइएको छ। रंगशालाको निर्माणकार्य भरतपुर महानगरपालिका, धुर्मुस—सुन्तली फाउन्डेसन र विदेशी सरकारी तथा गैरसरकारी संघसंस्थाको आर्थिक सहयोगमा अगाडि बढाउन लागिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.