झिलिक्क उब्जिएको - ब्राजाकी !
विक्रम संवत् २०१९ बाट म मनु ब्राजाकी भएको हुँ। पोखरामा टेस्ट फेल भएर जनकपुर आएपछि।
पोखरामा हुँदा स्कुलमा चेतमानसिंह थिएँ, साथीहरूका माझमा श्यामजी, घर परिवारमा श्यामबाबु।
२०१६-१७ सालतिर पोखरामै हुँदा म साहित्यिक रचनाहरू लेख्न थालिसकेको थिएँ। गजल, कविता, कथा लेख्थेँ, श्यामकुमारका नामबाट। लेख्न त म बनारसमा हुँदैदेखि लेख्न थालेको थिएँ, रुवाइहरू।
केही साथीहरूलाई सुनाउँथेँ। केही लेख्थेँ, चित्त बुझ्दैनथ्यो, च्यात्थेँ, फाल्थेँ। सुनाएकाहरूमध्ये केही साथीहरूले मन पराउथेँ। वाह ! वाह ! गर्थे।
पोखरा बगरका तान्त्रिक बाबाले भगवतीको ‘परसादी’ दिँदै ‘केही लेख्छौ कि लेख्दैनौ ? ’ भनी सोध्दा मैले ‘अलि-अलि लेख्छु,’ भनेकै थिएँ। उनले प्रसन्न हुँदै ‘मलाई थाहा छ हो, खुब लेख, जति सक्छौ लेख। तिम्रो मुक्तिमार्ग त्यही हो,’ भनेका थिए। दालमण्डीको, बम्बैको, पुस्तकालयको अनुभवसमेत जोडिएर मभित्र एउटा मानवतावादी लेखकमा हुनुपर्ने सिर्जनशीलता बिस्तारै हुर्किंदै गइरहेकै थियो।
पोखरामा मेरा सहपाठी, साथीमध्ये एक हुनुहुन्थ्यो दुर्गा बरालजी। अहिले कान्तिपुरका कार्टुनिस्ट ‘वात्स्यायन’। उहाँ चित्रकला र साहित्यमा रुचि राख्ने, म साहित्य र चित्रकलामा रुचि राख्ने।
एक दिन क्षेत्रीयस्तरको चित्रकला प्रतियोगितामा हामी दुवै भाग लिइरहेका थियौं। त्यहाँ अरूअरू स्कुलबाट पनि प्रतियोगीहरू आएका थिए। १५-१६ जना नै थिए। संयोगले हामी दुवै एउटै टेबुलमा पर्यौँ। हातको पञ्जाको चित्र बनाउन दिइएको थियो। उहाँले बनाउन थाल्नुभो, मैले पनि बनाउन थालेँ। तर मेरो ध्यान आफूले बनाउनुभन्दा पनि उहाँले बनाएको चित्र हेर्नेतिर बढी केन्द्रित थियो। किनभने दुर्गाजी मन्दा राम्रो चित्र बनाउनुहुन्थ्यो। त्यसो त उहाँसँग नजिक हुनुभन्दा अघि म पनि आफूलाई चित्रकलामा कम ठान्दिनथेँ।
समय सकिएपछि हामी दुवैले बनाएको चित्र बुझायौं र सँगै बाहिर निस्कियौं। बाहिर निस्केपछि मैले उहाँलाई भनेँ- ‘हेर्नुस् दुर्गाजी ! मैले तपाईंको कथा पढेको छु, चित्रकला पनि देखेँ। तपाईंको यो दुईटै कला देखिसकेपछि मलाई के लाग्यो भने साहित्यमा तपाईंले मलाई कहिले पनि जित्न सक्नुहुन्न तर चित्रकलामा म तपाईंको तुलनामा कहिले पनि जान सक्तिनँ।’
मेरो कुरा सुनेर दुर्गाजी छक्क पर्नुभयो तर मेरो कुरालाई त्यति गम्भीरतापूर्वक लिनुभएन। उहाँले कुनै खास प्रतिक्रिया जनाउनुभएन। तथापि यो कुरा पछि सत्य सावित भयो।
जनकपुर आउँदा, मैले दुर्गाजीसँग चित्रकलाका सम्बन्धमा गरेको आत्म-स्वीकारोक्ति र साहित्यका सवालमा दिएको चुनौती मनमा छँदै थियो, त्यसैको प्रभाव भनुँ या जे भनुँ जनकपुरको साहित्यिक संगतिमा म पुगेँ।
त्यतिखेर त्यहाँ एउटा ठूलो जमात थियो, साहित्यकारहरूको। लीलासिंह कर्मा, रमेश ००० आर्य, जगदीश घिमिरे, नवराज पशु, आनन्द घिमिरे, गोपालप्रसाद, राजेन्द्र विमल र सबका गुरु हुनुहुन्थ्यो एक जना डाक्टर धीरेन्द्र। धीरेश्वर झा धीरेन्द्र। क्याम्पसमा पढाउनुहुन्थ्यो। उहाँ हामीभन्दा धेरै सिनियर हुनुहुन्थ्यो। विशिष्ट साहित्य सिर्जना, प्रतिबद्ध लेखन गर्नुहुन्थ्यो। उहाँको रुचि नेपाली साहित्यमा पनि थियो। मूलतः उहाँ हिन्दी र मैथिलीमा लेख्नुहुन्थ्यो।
हामी सिकारु थियौं त्यतिखेर। डाक्टर धीरेन्द्रको अखडा हामी साहित्यकारहरूका निम्ति एउटा मिलनस्थल थियो। ठूलै जमघट हुन्थ्यो। त्यहाँ हामी सबै एकत्र हुन्थ्यौं। आ-आफ्ना रचनाहरू पनि सुनाउँथ्यौं। म पनि रुवाई, कविता सुनाउथेँ। डाक्टर धीरेन्द्रले संयोजन गर्नुहुन्थ्यो।
रसियन साहित्य पढ्दा ‘ब्राजाकोभ’ भन्ने एउटा पात्र थियो तर त्यसबाट प्रभावित भएर मैले ब्राजाकी लेखेको होइन। ब्राजाकी भनेको मबाहेक अर्को कोही पनि मान्छे होइन।
त्यतिखेर जनकपुरमा थोरैमात्र साहित्यिक कार्यक्रम हुन्थे, वर्षमा दुईचार वटा। भेटमा साहित्यिक चर्चाहरू हुन्थे। एउटा ‘सारंगी’ भन्ने पत्रिका निस्किन्थ्यो त्यतिखेर। त्यो ‘सारंगी’ले पनि साहित्यिक कार्यक्रमहरू गथ्र्यो, जसमा हामी सहभागी हुन्थ्यौं। म साहित्यका बारेमा बोल्थेँ पनि। मेरा तर्कहरू, मैले पुस्तकालयमा संकलन गरेका ज्ञानका आधारमा हुन्थे र धेरैले मन पराउँथे। त्यही संगतिको प्रभावमा पछि मैले मैथिली भाषामा पनि एउटा कथा लेखेको थिएँ। त्यो कथा रामभरोस कापडी ‘भ्रमर’द्वारा सम्पादित पत्रिका ‘आँजुर’ मा छापिएको थियो।
त्यो बेला साहित्यमा लागेकाहरूले आफूलाई अरूभन्दा बेग्लै हुँ भन्ने देखाउन कुनै न कुनै उपनाम (पेन नेम) राख्ने चलन नै थियो। लेखक-कवि स्वभावैले परिवर्तनका पक्षधर, सरकार-सत्ताका विपक्षी, विद्रोही मानिने हुँदा त्यस्तो चलन चलेको हुन सक्छ।
फेरि पोखरामा हुँदा मैले बाहुन-क्षेत्रीले समाजमा आफूभन्दा तल्लो जातका भनिएकाहरूलाई गरेको थिचामिचोे, दुव्र्यवहार नजिकबाट देखेको थिएँ। तर मलाई त्यो चित्त बुझ्दैनथ्यो। सार्की-दमाई जोसुकै हुन्, म सबैसँग सराबरी बस्थेँ, खान्थेँ, उठ्थेँ, हिँड्थेँ, घुम्थेँ। त्यसो गर्दा घरमा दाजुसँग, माइली आमासँग झगडा पनि पथ्र्यो। म जातपातमा विश्वास गर्दिनथेँ।
मलाई आफ्नो इच्छाअनुसारको जिन्दगी बाँच्न रोक्ने यही जात, थर हो भन्ने लाग्न थालेको थियो। म मेरो स्वतन्त्रताको विरोधी ठहर गर्दै जात, थरलाई लत्याउन चाहन्थेँ। किनभने हाम्रा बाउ-पुर्खाहरूले पुस्तौं-पुस्तादेखि यिनीहरूलाई यो अन्धकारमा राखे, जो दलन गरे, कसै न कसैले त्यसको प्रायश्चित अलिकति त गर्नैपर्यो नि ! भन्ने मलाई लाग्थ्यो।
उपनाम राख्ने असंख्य कारणहरूमध्ये आफूले उपनाम राख्नुको दोस्रो कारण थियो, जात-थरलाई लत्याउने चाहना। त्यसैले जनकपुर आएपछि मैले सुरुसुरुमा श्यामकुमार ‘मनु’ भन्ने साहित्यिक उपनाम प्रयोग गर्न थालेँ। मनु भन्ने मान्छे भइहाल्यो। आफू मानवतावादी भएकोले ‘मनु’ शब्द रोजेको थिएँ। सबैले प्यारो गरेर भन्ने हुँदा ‘श्याम’ मलाई मनपर्ने शब्द थियो। कुमार त म थिएँ नै। त्यसैले श्यामकुमार ‘मनु’को नामबाट रचना लेख्ने-छपाउने गर्थें। तर अलिक भिन्नै किसिमको नाम राख्ने इच्छा मनमा छँदैथियो।
त्यस्तैमा एक दिन मनमा झिलिक्क एउटा शब्द उब्जियो- ‘ब्राजाकी।’
के हो यसको अर्थ ? मैले एक्कासि फुरेको ‘ब्राजाकी’ शब्दका बारेमा निकैबेर सोचेँ तर कुनै अर्थ पहिल्याउन सकिनँ। कुनै शब्द, कुनै वस्तुसँग सम्बन्धित छ भने पो त्यसले अर्थ दिन्छ, यसको कुनै वस्तुसँग सम्बन्ध थिएन, त्यसैले अर्थ पनि भेटिएन।
केही अर्थ नभए पनि ‘ब्राजाकी’ शब्द मलाई खुब मन पर्यो्, अनि श्यामकुमार मनुबाट मनु ब्राजाकी लेख्न थालेँ। मनु मान्छे हुनुको उदार अर्थमा उचित लाग्यो भने ‘ब्राजाकी’ चाहिँ लहडकै सुरमा आयो र राखिदिएँ। पछि फेरि लाग्यो, किन त्यस्तो अप्रचलित शब्द मेरो मनमा आयो त ? त्यसको कुनै अर्थ पो हुन्छ कि भनेर शब्दकोश हेरेँ तर त्यस्तो शब्द नै भेटिनँ। त्यसैले ‘मनु ब्राजाकी’ संज्ञाले मलाई मात्र जनाउने भयो भनेर ढुक्क पनि भएँ।
यद्यपि ब्राजाकी कुनै थर होइन। यो एउटा ‘संज्ञा’ मात्र हो। संज्ञा जहिले पनि वस्तुनिष्ट हुन्छ। टेबुललाई टेबुल किन भनियो ? त्यसको कुनै तर्क छैन। टेबुल कहिले नदेखेको मान्छेलाई टेबुल के हो भनेर जतिसुकै तार्किक रूपमा कुरा बुझाए पनि उसले बुझ्दैन, उसलाई टेबुल नै देखाउनुपर्छ। त्यस्तै ब्राजाकी भनेको के हो भनेपछि मैले आफैंलाई देखाउनुपर्योे। अरू कुनै उपाय छैन। मनु ब्राजाकी भनेको म नै हुँ, जसको कुनै अर्थ छैन।
रसियन साहित्य पढ्दा ‘ब्राजाकोभ’ भन्ने एउटा पात्र थियो तर त्यसबाट प्रभावित भएर मैले ब्राजाकी लेखेको होइन। ब्राजाकी भनेको मबाहेक अर्को कोही पनि मान्छे होइन।
यो मैले जात-थर नराख्नका लागि, अर्थात् जातपातलाई लत्याउन एउटा नयाँ शब्द सिर्जना गरेको मात्र हो।
संस्कृतमा एउटा मूल शब्द छ- ब्रज, जसको अर्थ हुन्छ त्याग्नु। त्यसैले ब्रज शब्दमा ‘परि’ उपसर्ग लागेर बनेको परिब्राजाक भनेको संसार त्याग्ने हो। घर-परिवार संसार त्यागेर हिँड्ने हो। तर, संस्कृतको यो आधारमा पनि मैले ब्राजाकी लेखेको होइन। संसारको कुनै पनि भाषाको शब्द यो होइन।
मैले आफ्नो नाम ब्राजाकी कसरी राखेँ भनेर धेरैले सोध्ने गर्छन्। तर, ब्राजाकी नाम कसरी राखेँ भन्ने कुनै आश्चर्यजनक कुरा होइन। मुख्य कुरा के हो भने यो किन राखियो र यसको अर्थ के हो ? ब्राजाकी मैले यसकारण राखेँ कि मलाई जातथर राख्न मन लागेन। जातथर लत्याउन मैले यस्तो शब्द राखेँ, जो संसारको कुनै पनि जातथरसँग नमिलोस्। त्यो बेलामा मनमा जे शब्द फुर्योउ, त्यही राखिदिएँ।
यसरी मैले आफ्नो नाम र लेखनशैलीप्रति विश्वस्त भएपछि मनु ब्राजाकी नामबाट २०१९ सालमा जनकपुरको ‘अञ्चल सन्देश’ पत्रिकामा ‘भर्यारङ’ कथा छपाएँ, जसलाई मैले आफ्नो आधिकारिक पहिलो कथा भन्दै आएको छु।
त्यसो त पत्रिकामा मैले अरू नामबाट पनि विभिन्न कुरा छपाएँ, ती आफ्ना ठाउँमा छन्। सिर्जनात्मक र मौलिक रचना म मनु ब्राजाकीकै नामले लेख्ने गर्छु। ‘सगर नासत्य’को नामबाट ज्ञान-विज्ञानसम्बन्धी लेख र अनुवाद इत्यादि गर्ने गरेको छु। ‘हेमन्त हरि’, ‘विलियम त्रियुगी’ नाम पनि आफ्नै ठाउँमा छन्। मूल कुरो मनु ब्राजाकीकै सेरोफेरोमा छ।
मनुको अर्थ मान्छे भन्ने छँदैछ, ब्राजाकीको अर्थ मै हुँ- कुनै टुप्पी र पुच्छर होइन। लेखाइमा र बोलाइमा पनि मेरो भाषा अलि घुमाउरो हुन्छ तर दुर्बोध्य हुँदैन। किनकि म अरूको जस्तो होइन, मनु ब्राजाकीको भाषा÷शैलीमा लेख्छु, बोल्छु। आफ्नो भए पनि, अरूको भए पनि मनु ब्राजाकी कथाभन्दा व्यथा बढी भएको अनुभूत गर्छु। यसरी मैले एउटा साहित्यकारका रूपमा मनु ब्राजाकीलाई पाएँ र चेतमान सिंहलाई गुमाएँ। तर न यो प्राप्तिको खुसी छ, न गुमाउनुको दुःख।
किनकि म हुँ, पूरै असांसारिक, अर्थात् परिब्राजककै अपभ्रंश- ब्राजाकी !
प्रस्तुति ः सुविद गुरागाई
(मनु ब्राजाकीको जीवनीमा आधारित प्रकाशोन्मुख संस्मरणत्मक पुस्तक
‘मनमौजी’ को एक अंश।)
स्रोत : प्रत्यक्ष अन्तर्वार्ता तथा विभिन्न पत्रपत्रिका।