आतंकवादविरुद्धको युद्ध तेलका लागि भएको थियो

आतंकवादविरुद्धको युद्ध तेलका लागि भएको थियो

म भाग्यमानी थिएँ। किनकि म नेल्सन मण्डेलाको पालामा सांसद थिएँ। उहाँ भन्नुहुन्थ्यो, ‘यदि हामी आफूलाई नियुक्त गर्ने जनताभन्दा महत्त्वपूर्ण ठान्छौं भने हाम्रो काम छैन र पदबाट राजीनामा दिएर देशै छाडे हुन्छ।’ दुर्भाग्यवश त्यो आदर्श पनि मण्डेलाको अवसानसँगै अवसान भएर गयो।


एजुकेसनल बुक हाउस, जमलमा नयाँ किताब केही आए कि भनेर खोज्दै जाँदा एउटा निकै मोटो किताबमा मेरा आँखा पर्‍यो एन्ड्र्यु फेइन्सटाइनको ‘द स्याडो वल्र्ड।’ नामको मुनि थियो ‘इन्साइड द ग्लोबल आम्र्स ट्रेड।’ लाग्यो, यो किताबमा अवश्य केही दमदार विषय हुनुपर्छ। किताब लिएर पढ्न थालेँ– हातहतियार र विमान खरिद गर्दा कस्तो र कसरी नेता, सरकार, दलाल आदि मिलेर घोटाला गर्दा रहेछन् भन्ने विषयमा निकै तर्कपूर्ण ढंगमा सविस्तार वर्णन गरिएको रहेछ। विश्वका विविध सरकार र हतियार कम्पनीबीचको घोटालामा साझेदारी रहेका धेरै कुरा निकै मजासँग व्याख्या गरिएको रहेछ। किताब पढ्दै गर्दा नै लेखक फेइन्सटाइनसँग मेरो सम्पर्क स्थापित भइसकेको थियो। किताब पढिसकेपछि अन्तर्वार्ताका लागि मैले गरेको प्रस्तावमा उनी सहमत भए। अन्ततः नोभेम्बर तेस्रो साता उनीसँग भिडियो कलमा प्रत्यक्ष संवाद गरेँ।

नेल्सन मण्डेलाको राष्ट्रपतिकालमा एन्ड्र्यु फेइन्सटाइन दक्षिण अफ्रिकाका सांसद थिए। थाबेओ एम्बेकीको राष्ट्रपतिकालमा दस अर्ब अमेरिकी डलरको हतियार खरिद घोटाला प्रकरणमा उनले निष्पक्ष छानबिनको माग गरे। आफ्नै पार्टी अफ्रिकन नेसनल कंग्रेसले उनको मागमाथि सुनुुवाइ नगरेपछि विरोधस्वरूप सांसद पदबाट २००१ मा राजीनामा दिए। हाल उनी बेलायत बस्छन्। सशस्त्र हिंसाविरुद्ध काम गर्ने विश्वको १०० जना प्रभावशाली व्यक्तिको सूचीमा परेका उनी २०१४ मा दक्षिण अफ्रिकाको भ्रष्टाचारविरोधी नायकको रूपमा चर्चामा थिए। उनले आफ्नो किताब ‘द स्याडो वल्र्ड’मा आधारित वृत्तचित्र पनि निर्माण गरिसकेका छन्। हाल उनी ‘करप्सन वाच’ नामक संस्थामा कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।

– (लेखक एवं दक्षिण अफ्रिकी राजनीतिज्ञ एन्ड्र्यु फेइन्सटाइनसँग नवीन तिवारीले अन्तर्वार्ता गरेका हुन्)

 तपाईंले आफ्नो पुस्तक ‘द स्याडो वल्र्ड’ मा हतियार कारोबारको बारेमा निडरतापूर्वक लेख्नुभएको छ। सुरक्षा चुनौती महसुस गर्नु भएन ?              

सुरुआतमा म सांसद भएको बेला एउटा दक्षिण अफ्रिकी व्यापारको अनुसन्धान थालेँ। तर, मेरा केही साथी र तत्कालीन दक्षिण अफ्रिकी राष्ट्रपति थावेओ एम्बेकीले मलाई रोक्न खोजे। यहाँसम्मकि दक्षिण अफ्रिकी गुप्तचर संस्थाबाट केहीले मलाई मार्ने प्रयास गर्दैछन् भन्ने सूचना पनि आयो। वास्तविक धम्की चाहिँ पुस्तकमा उल्लेख गरेको छु, त्यो दक्षिण अफ्रिकी व्यापारसँग सम्बन्धित छ। उसले एउटा हस्तलिखित चिठी पठाएको थियो, जहाँ उसको बारेमा कहीँ कतै कुरा नगर्न; अन्यथा मैले पछुताउनुपर्ने लेखिएको थियो।

मैले प्रहरीलाई खबर गरेँ तर उनीहरूले बेवास्ता गरेझैं गरे। म र मेरा साथीहरू टीभी, रेडियोलगायतका कार्यक्रममा बोलेर हाम्रो सरकारलाई उचित कदम चाल्न दबाब दिन्छौं तर सरकार बोल्न चाहँदैन। यथार्थ के हो भने जब तपाईंले आफ्नो देशको कुनै शक्तिलाई चलाउनुहुन्छ, तब तपाईंले त्यसको नतिजा पनि भोग्न तयार हुनुपर्छ। यसले हामीलाई सत्य बोल्न अझ उत्प्रेरणा दिन्छ। हामीले जति धम्की पाउँछौं, त्यसले अझ कर्मठ भएर काम गर्न बल दिन्छ।

संसारको हतियार व्यापारसँग पुँजीवाद कसरी जोडिन पुग्छ ?       

– हतियार व्यापार भनेको पुँजीवादको देखिएको कच्चा अवस्थाभन्दा हुन्छ। अधिकांश युद्धले पुँजीवादी व्यवस्थाबाट फाइदा पाएकाहरूलाई नै फाइदा दिन्छ। कहिलेकाहीँ उनीहरूले आफ्ना फाइदाको लागि राज्य व्यवस्था नै बदलिदिन्छन्। प्रायः युद्ध ती साधन प्राप्तिका लागि लडिन्छ, जसले पुँजीवाद जीवन्त राख्न टेवा पुर्‍याउँछ। जस्तै ‘आतंकवाद विरुद्धको युद्ध’ वास्तवमा तेलको लागि गरिएको थियो। र, यही तेलले गर्दा पश्चिमी मुलुक र साउदी अरेबियाको सम्बन्ध छ। साउदीले जहाँ जे मन लाग्यो त्यही गर्छ। उसले यमनमा हजारौं निर्दोष मान्छे र पत्रकार मार्छ, तर पश्चिमी मुलुक मौन बस्छन्। किनभने साउदीसँग तेल छ र साउदी उनीहरूको हतियारको सबैभन्दा ठूला ग्राहक हो।

यदि अमेरिका वा बेलायतले साउदीलाई हतियार बेच्छ भने केवल साउदी राजपरिवारले मात्र अर्बौं डलर कमिसन पाउने होइन, त्यससँगै त्यसले हतियार कम्पनी, तिनका कार्यकारीलाई राजनीतिक माहोल तयार गर्न मद्दत गर्नेछ। नेताहरू पनि त्यो कमिसनको भागिदार हुन्छन्। अन्तिम कुरा भनेको नवउदारवादी अर्थव्यवस्था हो, जसले हतियार कारोबारलाई नियन्त्रणभन्दा बाहिर पुर्‍याएको छ। संसारको हतियार कम्पनीहरू कानुनभन्दा माथि छन् र जे मन लाग्यो त्यो गर्छन्।

तपाईंले संसारका सबै सुरक्षा बजेट जोड्दा पनि अमेरिकी सुरक्षा बजेटको बराबरी नआउने र पेन्टागनको करको पैसा निजी कम्पनीलाई दिएको आरोप आफ्नो पुस्तकमा लगाउनु भएको छ। अरु के त्यस्ता तत्त्व छन् जसले यस विषयलाई मलजल गर्छन् ?       

– यो राजनीतिक आर्थिक व्यवस्थाभित्रको भ्रष्टाचार हो। किनभने यी सबै कुरा पर्दा पछाडि हुन्छन्, जसलाई म राष्ट्रिय सुरक्षाले लगाएको गोपनीयता भन्छु। नेता, कर्पोरेट कार्यकारी, सैनिक, गुप्तचरलगायतले जे पनि गर्न सक्छन्। किनभने यो राष्ट्रिय सुरक्षाको विषय हो। मेरो शब्दमा यसले अमेरिकामा वैधानिक घुसखोरीलाई प्रश्रय दिएको छ, जहाँ लकहिड मार्टिन वा नथ्रोप गुमनजस्ता कम्पनीले राष्ट्रपति चुनावका लागि उम्मेदवारलाई लाखौं डलर दिन्छन्। यी उम्मेदवारले जितेर हतियार कारोबारलाई सहज वातावरण बनाउँछन् भन्ने उनीहरूको लगानी उनीहरूलाई नै फिर्ता हुन्छ। तर, यो पैसा उनीहरूको नभएर जनताको हो।

म भाग्यमानी थिएँ। किनकि म नेल्सन मण्डेलाको पालामा सांसद थिएँ। उहाँ भन्नुहुन्थ्यो, ‘यदि हामी आफूलाई नियुक्त गर्ने जनताभन्दा महत्त्वपूर्ण ठान्छौं भने हाम्रो काम छैन र पदबाट राजीनामा दिएर देशै छाडे हुन्छ।’ दुर्भाग्यवश त्यो आदर्श पनि मण्डेलाको अवसानसँगै अवसान भएर गयो।

तपाईंले पुस्तक लेखेको वर्ष (२०११) देखि अहिलेको अवधिमा के सुरक्षा बजेटमा केही परिवर्तन आएको छ ?       

 यो पुस्तक कथित आतंकवादविरुद्धको युद्धको उत्कर्षको बेलामा लेखिएको थियो। ओबामाको पालामा पनि उनको पहिलो सुरक्षा बजेटमा हामीले ठूलै वृद्धि देख्यौं, बुसको भन्दा पनि ठूलो। इरान र अफगानिस्तान आक्रमण गरेझैं अन्य देशले आक्रमणको शैली हटाएर उनले ड्रोन वारफेर अंगीकार गरे। यसका दुईटा कारण छन्। एक, यो सस्तो भयो र दोस्रो यसले अमेरिकी जीवनलाई कम खतरमा पार्‍यो। र, अर्को महत्त्वपूर्ण कुरा के देखियो भने अन्य नागरिकभन्दा अमेरिकी नागरिकको जीवन महत्त्वपूर्ण रहेछ। र, यो यही मानसिकता हो, जसले आम अमेरिकी मानसपटल गाँजेको छ।

ट्रम्पको उदयसँगै परिवर्तन भएको भनेको पारम्पारिक सुरक्षा बजेटमा भएको ठूलो वृद्धि हो। तसर्थ अमेरिकाको सुरक्षा बजेट अन्य सात सबैभन्दा शक्तिशाली देशको संयुक्त सुरक्षा बजेटभन्दा पनि ज्यादा छ। हालसालै भएको अमेरिकी चुनावको क्रममा पनि हामीले त्यही देख्यौं। राष्ट्रपति ट्रम्पले मेक्सिकोको सिमानामा ठूलै संख्यामा करोडौं डलर खर्च गरेर अमेरिकी सैनिक खटाए। उनीहरूको वास्तवमा त्यहाँ कुनै काम थिएन।

 तपाईंको समग्र लेखाइलाई ध्यान दिँदा अमेरिकी योजनाविद्हरू युद्धको निर्माता हुने भन्ने अर्थ आउँछ। यसलाई व्याख्या गरिदिनुस् न !

मानव सभ्यतामै अमेरिकाले जति देशमाथि अतिक्रमण गर्‍यो, त्यति अरू कुनै देशले गरेका छैनन्। अहिले पनि अमेरिका सबैभन्दा ज्यादा युद्धमा संलग्न छ। तर, उनीहरू अन्य राज्य र गैरराज्य समूहलाई अशान्तिका लागि जिम्मेवार भन्छन्। यो हांस्यास्पद मात्र होइन, आफैंमा अमिल्दो छ। किनभने अमेरिका र उसको उपनिवेश निर्माण गर्ने नियतले संसारका अधिकांश द्वन्द्वहरू अस्तित्वमा छन्। उदाहरणका लागि मध्यपूर्वलाई हेर्दा पूर्व न्युयोर्क टाइम्सका युद्ध संवाददाता क्रिस हेजेसले ‘द स्याडो वल्र्ड’ वृत्तचित्रमा भनेका छन्, ‘मध्यपूर्वको समस्या इस्लामिक अतिवादको होइन, पश्चिमी हस्तक्षेपको समस्या हो।’ यही कारणले मध्यपूर्व सधैं अस्तव्यस्त छ।

मलाई लाग्छ, संसारमा अशान्तिका लागि अमेरिका सबैभन्दा ज्यादा जिम्मेवार छ। यो कुरा चाहिँ अमेरिकाले एयरक्राफ्ट क्यारियर सञ्चालनका लागि खटाएको जनशक्तिले पनि पुष्टि गर्छ, जुन उसले समस्त संसारमा खटाएका कूटनीतिज्ञभन्दा ज्यादा छ। आज अमेरिकासँग ११ एयरक्राफ्ट क्यारियर छ। यसले नै बताउँछ कि अमेरिकाको कूटनीतिमा कुनै रुचि छैन। द्वन्द्व समाधानमा उसको कुनै रुचि छैन। यसको रुचि संसारभरका विभिन्न समूहसँग निरन्तर चल्ने युद्धमा मात्रै छ। यसले अमेरिकी जनतालाई सुरक्षित बनाउँदैन बरु असुरक्षित बनाउँछ।

 युद्धबाट फाइदा कमाउने व्यक्तिहरू, जस्तै बसिल जहारोफ वा राजकुमार बन्दरको कुरा किताबमा गर्नुभएको छ। के कारणले त्यस्ता व्यक्ति निर्माण गर्छ ?       

मलाई लाग्छ, यिनीहरू मानसिक रोगी हुन्। यिनीहरूको कारणले अरुलाई कस्तो असर पर्न सक्छ भन्ने बुझ्ने क्षमता यिनीहरूमा हुँदैन। उनीहरूलाई मात्र यो भ्रम हुन्छ– उनीहरू मानवताको सेवा गरिररहेका छन्। किताब लेखनको सन्दर्भमा मैले एकजना हतियार व्यापारीसँग जोर्डनमा अन्तर्वार्ता गरेको थिएँ। उसले भनेको छ, ‘मैले जे जति गरेँ, त्यो सबै मानव जातिको सुरक्षाका लागि गरेँ। मैले शान्तिको लागि शक्तिहीनलाई हतियार दिएको हुँ।’ उसले ती सबैलाई हतियार बेच्यो, जसले उसलाई पैसा दियो। ऊ मानसिक रूपमै सुझबुझ गर्न असमर्थ व्यक्ति हो। किनकि अरूका लागि उसमा कुनै भावना छैन। विश्वका ठूला युद्धबाट फाइदा लिने सबैभन्दा ठूलो तप्का हाम्रा राजनीतिक नेता हुन्।

म टोनी ब्लेयर, बाराक ओबामा डोनाल्ड ट्रम्पलाई हेर्छु। यिनीहरू युद्धका सुरुआतकर्ता हुन्। आफ्नो देशको तर्फबाट हतियार किनबेच गर्ने यिनीहरू नै हुन्। तसर्थ यी हतियार व्यापारीहरू सबैभन्दा ज्यादा फाइदा पाउने मानिस हुन्। लोभ र मानसिक अस्वस्थताका कारण यिनीहरू युद्धमा होमिन्छन्।

शीतयुद्ध र हतियारको होडबाजीलाई कसरी हेर्नुहुन्छ ?       

म फेरि ‘द स्याडो वल्र्ड’ तिर फर्किनुपर्ने हुन्छ। किनकि त्यहाँ विद्वान विजयप्रसादले अर्का विद्वान इक्बाल अहमनलाई सार गर्दै भन्छन्, ‘पश्चिमले त्यसलाई शीतयुद्ध भने पनि तेस्रो मुलुकका जनताका लागि त्यो तातोयुद्ध नै थियो, मेरो विचारमा।’ तसर्थ शीतयुद्ध वासिङ्टन र मस्कोबीच भएको थिएन। त्यो शीतयुद्ध एङ्गोला, कङ्गो, निकारागुवालगायतका देशहरूमा भएको थियो। ती देशका जनताले त्यसको असर भोगे। तर, अझै हामी बुझ्छौं, शीतयुद्ध अमेरिका र सोभियत युनियनबीच थियो। उनीहरूले आफ्नो युद्ध लड्न समग्र विश्व प्रयोग गरे। र, शीतयुद्धले पनि त्यही गर्‍यो, जुन आतंकवादविरुद्धको युद्धले गर्‍यो।

यसको उत्तम उदाहरणका रूपमा रोनाल्ड रेगनको स्टार वार्सलाई लिन सकिन्छ। ८० को दशकमा रेगनले एलएलएन प्रयोगशालालाई अमेरिकी भूमिमा प्रहार भएको कुनै पनि क्षेप्यास्त्र प्रतिरोध गर्ने प्रणाली विकास गर्न करोडौं डलर दिएका थिए, त्यो पनि एक अदृश्य ढाल निर्माणका लागि। त्यसमा आबद्ध भएका वैज्ञानिकलगायत सबैलाई थाहा थियो, त्यो सम्भव छैन। तैपनि पैसाको ठूला अपचलनले सबै त्यस कार्यक्रममा आबद्ध भइरहे। अर्बौं डलर अर्थहीन कामका लागि खर्च भएको थियो।

अमेरिकी नीति निर्माणमा ६० को दशकमा देखिएको ‘बम्बर ग्याप’ र ‘मिसाइल ग्याप’लाई कसरी हेर्नुहुन्छ ?       

यी ठ्याक्कै ‘स्टार वार’ प्रोजेक्टजस्तै हुन्। अमेरिकीले प्रोपोगण्डा निर्माण गर्न जे गर्छ, चोम्स्कीलगायत अन्य त्यसलाई ‘म्यानुफ्याक्चरिङ कन्सेन्ट’ भन्छन्। र, यति नै बेला तथ्यलाई तोडमोड गरिन्छ। त्यो विशेष भाष्य हो, जसले शासक वर्गको राजनीतिक र आर्थिक उद्देश्य पूरा गर्छ। अमेरिकी गुप्तचरले सोभियत हतियारको बारेमा झुटो कुरा गरे। उनीहरूले ढाँटेका हुन् भन्ने सरकारलाई थाहा थियो, तर उनीहरू मौन थिए। किनकि उनीहरूको उद्देश्य पूरा भइरहेको थियो। वास्तवमा गुप्तचरहरूले त्यसैको लागि पैसा पाइरहेका थिए। यसले हतियार निर्माता र नेताको उद्देश्य पूर्ति भइरहेको थियो। र, यसले केवल कर तिर्ने सर्वसाधारण जनताको उद्देश्य मात्रै पूर्ति गर्न सकेन। विडम्बना हामी ट्रम्पको युगमा मात्र झूटो कुरा गर्छांै, जबकि इतिहासदेखि नै झूटो समाचार व्याप्त छ।

मिसाइल ग्यापजस्ता झूटो कुरालाई अझ बढी बढाइचढाई गरिएको छ, जसले विभिन्न तप्कालाई आर्थिक र राजनीतिक रूपमा लाभान्वित गर्‍यो। हाम्रो वृत्तचित्रमा एउटा दृश्य छ, जहाँ चिफ अफ स्टाफले कोलिन पावेललाई सीआईएले इराकसँग डब्लूएमडी छ भनेर कन्भिन्स गर्न खोजेको भनेका छन्। कोलिन पावेलले यूएनमा भाषण दिनु केही घण्टाअघि सीआईएका डाइरेक्टर जर्ज टेन्ट सद्दामसँग आणविक हतियार भएको कुरा गरेका थिए। उनले के भनेनन् भने उक्त विषय तीन महिनाअघि नै बाटर बोडिङ र अन्य यातनाबाट संदिग्ध आतकंकवादी र गुप्तचर विभागले नै अस्वीकार गरेको थियो। उनले यूएनमा त्यही कुरा भन्न भ्याए। नेता, सैनिकलगायतले सधैं हामीलाई ढाँटेका छन्। यसैको आधारमा उनीहरूले आम जनतालाई आफ्नो काबुमा राखेका छन्। यो विषय नोम चोम्स्कीलगायत अन्य दिग्गज बौद्धिकको घनिभूत अनुसन्धानबाट आएको हो। र, हतियार कारोबार देखिएको सबैभन्दा खराब रूप हो। यही समस्या हामीले ‘स्याडो वल्र्ड’ वृत्तचित्र निर्माण गर्ने क्रममा झेल्यौं। तर, म सांसद हुँदाको हरेक कागजपत्र मेरो हातमा हुन्थ्यो। र, जब मलाई बर्खास्त गरियो, म यहाँ आएर काम गर्न थालेँ। यसै क्रममा म उनीहरूलाई बीएएफबारे सूचना दिन्थेँ र उनीहरू मलाई अन्य सूचना दिन्थे। यसरी मैले हतियार कारोबारबारे १९७९ देखि नलेखिएको कुरा पुस्तकमा लेखेँ।

अन्तर्राष्ट्रिय हतियार कारोबार अध्ययनको विशेषज्ञको रूपमा वर्तमान उत्तर कोरियाको आणविक संकटलाई कसरी हेर्नुहुन्छ ? अमेरिका र रूस सबैभन्दा ज्यादा आणविक हतियार भएका देश हुन्। तर, उत्तर कोरिया नै विश्व शान्तिका लागि ‘खतरा’ किन ?       

तपाईं यूएनको हतियार अनुसन्धान टिमलाई हेर्नुहुन्छ भने यो प्रस्ट हुन्छ– उत्तर कोरियाले डीएमजेटभन्दा पर पुग्ने क्षेप्यास्त्रको प्रविधि कहिल्यै विकास गरेको छैन। तर, उसले सिर्जना गरेको खतराबारे हाम्रा मिडिया र नेताले भनेअनुसार लाग्छ, उत्तर कोरियाले क्यालिफोर्नियालाई क्षणभरमै खरानी बनाउँछ। तसर्थ उत्तर कोरिया एउटा राम्रो बलीको बोको हो। हामीले सधैं दुश्मनको आविष्कार गर्नुपर्छ। जब चिनियाँहरू हामीसँग राम्ररी प्रस्तुत हुन्छन्, हामी उनीहरूलाई दुश्मन भन्न सक्दैनौं। जब अमेरिकी राष्ट्रपति रूसी राष्ट्रपतिसँग वर्षौंदेखि भ्रष्ट व्यापारिक सम्झौतामा संलग्न हुन्छन्, हामी रूसलाई खतरा देख्न सक्दैनौं।

आईएसआईएललगायत सिरिया हाम्रा लागि प्रत्यक्ष खतरा हुन पुग्छन्। जब यी विविध उदाहरणलाई हामी इतिहासको खास सम्बन्धसँग जोड्न असफल हुन्छौं, उत्तर कोरिया सधैं विकल्प रहन्छ। र, उत्तर कोरियाले खेल्ने भूमिका यही होः एउटा दानवीय मुलुक। अनि यो एउटा ठूलो खतरा हुन पुग्छ। तथापि हामीले इजरायलको आणविक हतियारको कुरा कहिल्यै गर्नु पर्दैन, जबकि यो विषय जगतलाई थाहा छ। शान्तिकै लागि सायद इजरायलको हतियार नष्ट गर्न लगाइन्थ्यो होला। किनकि जबसम्म इजरायलसँग आणविक हतियार हुन्छ, तबसम्म मध्यपूर्वमा शान्ति हुँदैन र यसले संसारमा कहिल्यै शान्ति हुँदैन। उत्तर कोरिया एउटा राम्रो ध्यान मोड्ने बहाना हो।

अन्तर्राष्ट्रिय हतियार कारोबार र नेपाललाई कसरी जोड्नुहुन्छ ?       

नेपालमाथि मेरो थोरै अध्ययन छ, त्यो पनि मिडियामा आश्रित। तर, यत्ति अवश्य भन्न सकिन्छ, हतियार कारोबारको मामलामा नेपाल पनि अछुतो छैन। तपाईं आफ्नो देशको सुुरक्षा निकाय र उनीहरूको हातहतियार खरिद प्रक्रिया हेर्नुस्। म ठोकुवा गरेरै भन्छु, त्यहाँ त्यस्तो कुनै घोटला भएकै छ। यो खोज्दा प्रस्ट भेटिने कुरा हो। हातहतियार खरिदबिक्रीको कुनै घटना छैन जहाँ घोटला हुँदैन। संसार हतियार किनबेचबाट जसरी ग्रसित छ, नेपाल त्यसको अपवाद रहन सक्दैन।

कुनै दिन म नेपाल आएँ भने दुईवटा काम गर्न चाहन्छु। एउटा, म मेरो वृत्तचित्र देखाउनेछु र संसारको हतियार कारोबार पद्धतिको प्रकृतिबारे छलफल गर्न चाहन्छु। दोस्रो, हतियार कारोबारमाथि गरिने अनुसन्धानको पद्धतिलाई लिएर एउटा कार्यशाला गर्न चाहन्छु किनकि यसले आम नेपालीलाई फाइदा पुर्‍याउँछ। यसले जनताले तिरेको कर र त्यसको उपयोगिताबारे प्रष्ट हुन सहयोग पुर्‍याउँछ। विडम्बना भन्नुपर्छ, एकजना निर्वाचित व्यक्ति सोच्छ– मलाई जे गर्न पनि छुट छ, जबकि उनीहरूलाई हामीले नै तलब दिइरहेको हुन्छौं।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.