विमानस्थल व्यवस्थापन सुधार्ने कि ?

विमानस्थल व्यवस्थापन सुधार्ने कि ?

नीतिनिर्माताको सोच आएका पर्यटक सन्तुष्ट भएर फर्किऊन् भन्ने हुनुपर्छ, तर त्रिभुवन विमानस्थलका गतिविधि अनुकूल छैनन्


सन् २०१८ मा दस लाखभन्दा बढी पर्यटक भित्रिए। प्राकृतिक सौन्दर्य, मानवनिर्मित धरोहर तथा संस्कृति, सहिष्णुता र संस्कारकै कारण अन्तर्राष्ट्रिय पर्यटनसम्बन्धी पत्रपत्रिका तथा संस्थाले नेपाललाई अग्रकोटीको पर्यटकीय गन्तव्य मान्ने गर्छन्। लोनली प्लानेटको सन् २०१७ को संस्करणमा नेपाल मितव्ययिता अपनाउन चाहने पर्यटकका निमित्त एक नम्बरको गन्तव्य भनी उल्लेख गरिएको छ। सोही संस्थाको सन् २०१८ को संस्करणले विश्वका पाँच उच्चकोटीका पर्यटक गन्तव्यमध्ये नेपाललाई पनि समावेश गरेको छ। त्यसैगरी एडभेन्चर अल्टरनेटिभले आफ्नो २०१७ को संस्करणमा साहसिक पर्यटकका निमित्त पहिलो गन्तव्य भनेर उल्लेख गरेको छ। दसकौंदेखि हाम्रा विकासविद्, अर्थशास्त्री तथा भूगोलविद्ले पर्यटन विकास प्रक्रियाको इन्जिन अर्थात् नेतृत्व गर्ने क्षेत्र हुन सक्ने भविष्यवाणी गर्दै आएका थिए। २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित आगामी वर्ष (२०२०) लाई सरकारले ‘भिजिट नेपाल वर्ष’ घोषित गरेको छ।

आधा शताब्दीपूर्व (१९६८) २४ हजार पर्यटक भित्रिएका थिए। त्यसको चार दसकपछि (२००८) उक्त संख्या पाँच लाखभन्दा बढी पुग्यो। पर्यटक भित्रिने क्रमले द्रूतगति लिन थालेका लक्षण देखिन थालेका छन्। विगत एक दशक (२००८–२०१८) मा पाँच लाखबाट १० लाखको संख्या नाघ्नु भनेको पर्यटक आगमनमा दुई गुणा वृद्धि हुनु हो। व्यापार घाटाबाट ग्रस्त हाम्रोजस्तो अर्थतन्त्रलाई पर्यटक आगमनसँगै वैदेशिक मुद्रा पनि भित्रिने हुनाले व्यापार सन्तुलन कायम गर्न सहयोग गर्छ। सन् २००७ देखि २०१७ को दशकमा यस स्रोतबाट आयात गरिएको विदेशी मुद्रामा तीन गुणाले वृद्धि (१,८६५ करोडबाट ५,८२५ करोड) भएको देखिन्छ।

विगत पचास वर्षदेखि नै अधिकांश (८० प्रतिशत) पर्यटकले हवाई मार्गको उपयोग गरेको देखिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अत्यधिक पर्यटक आउने गर्छन्। विगतमा पर्यटन प्रवद्र्धन वा यस क्षेत्रलाई प्राथमिकता दिँदै गर्दा दुई विषयमा चुकिएको देखिन्छ, पहिलो– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक क्षमता र दोस्रो– पर्यटकबाहेक अन्य यात्रुको बढ्दो चापले विमानस्थललाई धान्न कठिन हुन सक्छ भन्ने सोच।

तीन दसकअघि सायदै कसैले अनुमान गरेका थिए, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन १५ सयभन्दा बढी नेपाली युवा रोजगारका निमित्त बाहिरिन्छन् भन्ने। प्रकाशित तथ्यांकले सन् २०१७ मा ३८ लाखभन्दा बढी यात्रुले विमानस्थल उपयोग गरेका थिए। त्यस्ता यात्रुमध्ये झन्डै ३३ लाख पर्यटक थिएनन्। गैरपर्यटकमध्ये अधिकांश वैदेशिक रोजगारमा जाने तथा फर्कनेका अतिरिक्त सरकारी, गैरसरकारी तथा निजी कारणले विदेश यात्रा गर्नेहरू पर्छन्।

काठमाडौं उपत्यका घेरेका डाँडाहरूबाट हेर्दा विमानस्थलको धावन मार्ग देखिन्छ। जहाँ लम्पसार परेको समथल धावन मार्ग देखिन्छ भने अन्यत्र समथल भूमि देखिँदैन। काठमाडौं उपत्यकाभित्र मात्र नभएर यसको समीपमा कतै पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पहाडको दूरीमा भएको समथल भूभाग देखिँदैन। पूर्वजले गौचरनका निमित्त विशाल भूमि नछुट्ट्याएको भए आजको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा हुने थिएन होला। देख्दादेख्दै धावन मार्ग क्षेत्र पनि विस्तारित भइसकेको छ। अब धावन मार्ग बढाउने वा थप्न सहज स्थान देखिँदैन। विमानस्थलका भवनको आकारप्रकारमा पनि बृहत् परिवर्तन आइसकेको छ। अब सायद धावन मार्गनजिक अर्को भवन वा थप सुविधा निर्माण गर्ने गुन्जायस पनि छैन। अर्को वास्तविकता विगत दुई दसकयता आफूले देखेका प्रायः सबै विमानस्थलको दाँजोमा हाम्रो विमानस्थल परिवर्तित भएको छैन।

विमानस्थल सुधारमा सनक तथा हचुवाका आधारमा नभएर छरितो व्यवस्थापन पद्धतिलाई संस्थागत गर्नुपर्छ।

विगत २० वर्षयता ढाका, दिल्ली, बैंकक, दोहा, आबुधाबी, कोलोम्बो तथा जकार्ता आदि सबै विमानस्थलले काँचुली फेरिसकेका मात्र होइन, प्रत्येकपटक जाँदा त्यहाँ निर्माण कार्य भइरहेको आभास पाइन्छ। बैंककमा दोनमिउनाङ अन्तर्राष्ट्रिय विमानस्थललाई झन्डै २००६ मा निर्माण सम्पन्न भएको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलले विस्थापित तुल्याइसक्यो। दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल चिनिनै नसकिने गरी परिवर्तन भइसकेको छ। अन्यत्रका विमानस्थलको दाँजोमा हाम्रो विमानस्थलमा भौतिक तथा व्यवस्थापन पक्षमा सुधार हुन सकेको छैन। व्यवस्थापन पक्षमा हुने गरेका सुधारका काम क्षणिक हुने गर्छन्। ‘कन्ट्रोभर्सियल’ वैकल्पिक निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अझै ड्रइङबोर्डमै रुमलिएको छ। फास्टट्र्याक सडक निर्माण सम्पन्न नहुन्जेल उक्त विमानस्थल निर्माण गरियो भने पनि औचित्यहीन हुनेछ। वर्तमान अवस्थामा निजगढ काठमाडौंबाट नजिक पर्दैन।

केही वर्षअघि दोहा हुँदै घर फर्कंदा सहयात्री थिए अमेरिकी पर्यटक। नेपालमा पहिलोपटक आउन लागेका ती पर्यटकले यात्रा अवधिभर नेपालका विभिन्न विषयमा सोधपुछ गरे। गाईको पूजा गर्ने प्रचलनका विषयमा बढी नै अभिरुचि देखाए। गाईप्रतिको तिनको आशय त्यतिबेला छर्लंग भयो जब तिनले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन कक्षमा समेत गाईगोरु पस्दा रहेछन् है’ भने। आफूले ८० को दशकको अन्त्यतिर हेरेको अंग्रेजी सिनेमा ‘दि गोल्डेन चाइल्ड’ हेरेको स्मरण गर्दै मैले तिनलाई ‘तपाईंलाई गोल्डेन चाइल्ड चलचित्रको प्रभाव परेजस्तो छ नि’ भनेर प्रश्न गरें। प्रत्युत्तरमा तिनले स्विकारे।

सन् १९८६ मा अमेरिकी प्यारामौन्ट पिक्चर्स चलचित्र कम्पनीले मिसेल रिटेक्चीको निर्देशनमा ‘दि गोल्डेन चाइल्ड’ नाम गरेको हास्य सिनेमा लोकप्रिय भयो। अफ्रिकी अमेरिकी हास्य कलाकार एडी मर्फी प्रमुख पात्र रहेको उक्त चलचित्रमा नेपाललाई परिचय दिने थुप्रै सकारात्मक पक्ष जस्तै– प्राकृतिक सौन्दर्य, मन्दिर, दरबारदेखि हाम्रो रहनसहन तथा संस्कृति आदिलाई प्रदर्शन गरिएको छ। दर्शक हँसाउने क्रममा विमानस्थलको यात्रु आगमन कक्षमा गाई छिरेको एउटा दृश्य पनि देखाइएको छ। हाम्रो सडक यातायातलाई गाईगोरुले अवरुद्ध गर्छन् भन्ने चर्चा सुनेका पर्यटकमध्ये सो चलचित्रमा देखेको विमान भवनभित्रको गाईको प्रवेश स्मरणमा रहिरहने भयो।

अवतरणका क्रममा रहेका विमानले काठमाडौं उपत्यकालाई कति फेरो लगाउनुपर्ने हो, त्यसको निश्चित दिनप्रतिदिन कठिन हुँदै गएको छ। विमानचालकले अवतरण गर्ने अनुमति कुर्दै आकाशमा विमान घुमाएको घुमायै गर्नुपर्ने दैनिकी नै भएको छ। अवतरण अनुमति पाएपछि पनि धावन मार्गबाट जहाजलाई पार्किङ अभावमा धावनमार्गमै राखिरहनुपर्ने बाध्यता छँदैछ। अर्कोतर्फ उडान भर्न लागेका यात्रुले भरिभराउ जहाजलाई धावनमार्ग पुग्न तथा उड्ने अनुमति प्राप्त गर्न कतिबेर कुर्नुपर्ने हो, त्यसको पनि निश्चितता हुँदैन। हवाईजहाजभित्र रहँदा यात्रुले झेल्नुपर्ने समस्या पन्छाउने हो भने आगमन तथा प्रस्थान गर्दाका यात्रुले झेल्नुपर्ने कठिनाइको बेलीविस्तार कठिन हुन्छ।

प्रस्थान कक्ष प्रवेश गर्दा होस् अथवा आगमन कक्ष, त्यहाँ गाईले नै प्रवेश पाएको त हुँदैन तर अवस्था भने असन–इन्द्रचोकको साँझबिहानको भन्दा कम भद्रगोल हुँदैन। प्रस्थान गर्दा प्रवेश गर्ने ढोकाबाट नै छिर्न मुस्किल हुन्छ। कसको सनकमा कुनबेला चारमध्ये कुन ढोका बन्द गरिन्छ थाहा हुँदैन। हजारौं यात्रु जहाज छुट्ला कि भन्ने चटारोमै देखिन्छन्। भवन छिरिसकेपछि जहाज प्रवेश गर्दासम्मको अवधिमा जतिसुकै संयम भएको व्यक्तिले पनि धैर्य गुमाइसक्छ। आगमनको अवस्था झन् विकराल हुने गर्छ। इमिग्रेसन पार गरेर बाकस बटुल्ने स्थानसम्म खुट्टा राख्ने ठाउँ हुँदैन। त्यो भीडभाडमा कति घन्टा बिताउनुपर्ने हो, त्यो अनिश्चित नै हुन्छ। शौचालय छिरिसक्नु हुँदैन।

भित्र पस्दा र बाहिर निस्कँदाका पीडा त छँदैछ, भीभीआईपीका गाडीका लस्करले ट्राफिक अवरुद्ध हुँदा झनै भद्रगोल हुन्छ। पुरानो पार्किङ अब सीमित संख्याका तथा पहुँचवालालाई हुने नयाँ प्रावधान बनाइएको छ। त्यसकारण त्यो स्थान खाली हुने गर्छ। नवनिर्मित पर्किङ छिर्ने र बाहिरिने स्थानको ठेगान छैन। यात्रु टर्मिनल भवनबाट फुत्किएपछि पार्किङमा भएको हेरफेरको सिकार बन्छन्, कुन स्थानमा ट्याक्सी कुर्ने ? विडम्बना, एकातिर खाली पार्किङ अवरुद्ध अर्कोतिर सडक यात्रुको बिचल्ली।

विमानस्थल भद्रगोल हुनुका थुप्रै कारण होलान् तर विमानस्थलको भौतिक क्षमता र व्यवस्थापनमा चरम लापरबाही प्रमुख कारण हो। सन् २०१८ मा विमानस्थलको दैनिक उपयोग सरदर १० हजारभन्दा बढी यात्रुले गरे। त्यसैगरी दैनिक ९१ भन्दा बढी उडान हुन्छ यस विमानस्थलमा। आउँदा वर्षमा पर्यटक संख्या दुई गुणा बढ्ने हो भने त्यहाँको अवस्था कति विकराल होला ?

बिग्रँदो अवस्थामा सुधार नल्याउने हो भने पर्यटकले विमानस्थलमा झेल्नुपर्ने समस्याकै कारण यहाँ आउन छाड्नेछन्। नीतिनिर्माताको सोच पर्यटक संख्या कति बढ्यो भन्दा पनि आएका पर्यटक सन्तुष्ट भएर फर्किऊन् भन्ने हुनुपर्छ। पर्यटकको संख्याभन्दा पनि सेवा सुविधा राम्रो भएकै कारण आएका पर्यटकको बसाइ लब्याउन मात्र सकियो भने पनि उनीहरूले अवश्य बढी खर्च गर्नेछन्। विमानस्थल सुधारमा सनक तथा हचुवाका आधारमा नभएर छरितो व्यवस्थापन पद्धतिलाई संस्थागत गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.