माओ बोकेर चे ग्वाभारा पछ्याउँदै विप्लव (फोटो फिचर)

माओ बोकेर चे ग्वाभारा पछ्याउँदै विप्लव (फोटो फिचर)

रोल्पा :  रोल्पाको थबाङ र पुर्वी रुकुमका घरका भित्ता, पर्खाल र प्रतिक्षालयमा चे ग्वाभाराका तस्बिर देखिन थालेका छन् । यी दुर्गम गाउँमा कलात्मकरुपमा चे का अर्धकद्का तस्बिर पेन्ट गरिएका छन् । माओवादी विद्रोहताका मार्क्स, लेनिन, माओका तस्बिर भेटिने यी गाउँमा अर्जेन्टिनामा जन्मिएका चे ग्वाभाराका तस्बिर देख्न सकिन्छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिने गाउँ र बस्तीमा चे ग्वाभाराको आकृति जताततै देख्न पाइन्छ । ‘विश्व कम्युनिष्ट आन्दोलनका सच्चा नेता चे ग्वाभारा भएकाले उनको तस्बिर पेन्ट गरिएको हो’, विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य एवम् थबाङी युवा अमित घर्तीमगर भन्छन्, ‘अर्जेन्टिनमा जन्मिएका उनी ग्वाटेमालामा क्रान्तिकारी बनेका थिए । बोलिभियामा लडाइँमै मारिए । नेतृत्वको इतिहास हेर्दा सच्चा विश्व सर्बहारा नेता ग्वाभारा नै देखिए ।’

कम्युनिष्ट आन्दोलनमा नेतृत्वबाट बेइमानी भईहेको ठान्ने नेकपाका नेता कार्यकर्ताले ग्वाभारालाई आदर्श नेतृत्व मानेका छन् । आदर्श मानेरै नेकपा आवद्ध थबाङका युवा र विद्यार्थीले चे ग्वाभाराको तस्बिर घरैपिच्छे पेन्टिङ अभियान नै चलाए ।

चित्रकलामा विशेष दख्खल भएका थबाङका युवा नारायण बुढामगरले ग्वाभाराका तस्बिर स्केच गरेका हुन् । चित्रकलामा बुढा स्वयाम्बर हाङबाट परिचित छन् । थबाङ गाउँ र पूर्वी रुकुमका गाउँका घर, पर्खाल र प्रतिक्षालयमा हाङ र उनका चेलाले ग्वाभाराको पेन्ट गरेको अमितले बताए ।

क्यूवाली क्रान्ति सफल हुनुमा छापामार युद्ध निर्णायक रहेको नेकपा सम्बद्ध नेता कार्यकर्ता बताउँछन् । भित्तामा रातो रंगले बनाइएका ग्वाभाराका तस्बिरबाट नेकपाले गौरव गरेको सहजै अनुमान गर्न सकिन्छ । 

‘स्वतन्त्रता, मुक्ति र समानताका लागि लडेका ग्वाभाराको जीवन विद्रोहले भरिपूर्ण छ’, नेकपाका नेता अमित भन्छन्, ‘थबाङका कयौँ घरका भित्तामा ग्वाभाराका तस्बिर बनाइएका छन् ।’ 

वैज्ञानिक समाजवाद स्थापनाका लागि ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा नेकपाले यही थबाङको महाधिवेशनबाट पारित गरेको थियो । माओवादी विद्रोहताका थबाङ माओवादी किल्ला मानिन्थ्यो । पार्टी विभाजनपछि मोहन वैद्यमय भएको थबाङ मोहन वैद्य ‘किरण’ र विप्लवको सम्बन्धविच्छेदपछि विप्लव नेतृत्व नेकपाको प्रभाव छ । उनीहरुको विभाजनपछि यहाँ तत्कालीन माओवादी केन्द्रको पनि प्रभाव विस्तार भएको छ । २ सय ६५ घर एकै ठाउँमा रहेको थबाङ ठूलो गाउँमा पछिल्लो समय बहुदल आएको छ । दलीय चहलपहल हुने गरेको छ । यद्यपि घरका भित्ता, पर्खाल जताततै माओवादीका नारा र तस्बिर अंकित छन् । 

माओवादी विद्रोहताका मार्क्स, लेनिन, माओका तस्बिर भेटिने थबाङसहितका गाउँमा अचेल अर्जेन्टिनामा जन्मिएका चे ग्वाभारालाई ‘देख्न’ सकिन्छ ।

रुकुममा पनि उस्तै

युद्धकालमा डिएसपी ठुले राईलाई नियन्त्रणमा लिइएको पूर्वी रुकुमको महत गाउँका घर, प्रतिक्षाल र पर्खालमा पनि ग्वाभाराका पेन्ट छन् । यहाँ पनि थबाङका युवाले पेन्ट गरेका हुन् । टिसर्ट लगायतका पोशकमा धेरै पेन्ट हुने कम्युनिष्ट नेता पनि ग्वाभारा नै हुन् । पछिल्लो समय उनी भित्तामा पनि अंकित हुन थालेका छन् । तर, तस्बिरबारे यहाँका महिला र बालबालिकाले भेउ पाएनन् । तस्बिर कस्को भन्ने पनि थाहा नभएको बताए ।

ठूलो गाउँ पश्चिम प्रवेशद्वारको भित्तामा लेनिन, मार्क्स लगायतका कम्युनिष्ट नेताको तस्बिर पनि देखिन्छ । थबाङ गाउँपालिकाका १ र २ नम्बर वडा कार्यालय रहेको पर्खालमा यी तस्बिर कलात्मकरुपमा स्केच गरिएका छन् । माओवादी विद्रोहकालमा यी तस्बिर श्यामस्वेत थिए । अचेल रंगिन बनेका छन् ।

पञ्चायतमा बहुदल पक्ष, तत्कालीन माओवादीको विद्रोहताका माओवादी किल्ला र माओवादी विभाजनपछिको २०७० सालको दोस्रो संविधान सभा चुनावमा शून्य मतदान गरेर चर्चामा आएको थबाङीका घरभित्ता ग्वाभारामय छन् ।

माओवादकै पछिपछि 

थबाङ र पुर्वी रुकुममा अधिक ग्वाभाराको तस्बिर बनाइए पनि विप्लव नेतृत्वको नेकपाको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद, लेलिनवाद र माओवाद नै रहेको नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ बताउँछन् । 

‘कम्युनिष्ट आन्दोलनका तीनचार क्रान्तिका मोडेल र सिन्धुलीमा अंग्रेजसँग गरिएको प्रत्यक्ष लडाइँको विशेषतासहितको अबको एकीकृत जनक्रान्ति हो’, सेक्रेटरी प्रयास भन्छन्, ‘हामी चे ग्वाभाराबाट मात्र प्रभावित छैनौँ, माक्र्स, लेनिन, माओ, चे र विप्लवबाट प्रभावित हो ।’

ग्वाभाराले ‘हिट एण्ड रन’ को लडाइँ नभई प्रत्यक्ष लडेको प्रयासले स्मरण गरे । अबको एकीकृत जनक्रान्ति पनि लुकेर नहुनेतर्पm संकेत गर्दै उनले भने, ‘नेपाल र संसारभरको कम्युनिष्ट आन्दोलनताकाका असल क्रान्तिको संयोजनबाट एकीकृत जनक्रान्ति हुन्छ । कतै ग्वाभारको प्रचार बढी भएपनि अन्यत्र माओ, लेनिन, मार्क्स र विप्लवका तस्बिर पनि छाएका छन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.