नगरपालिका कार्यालय खोला मजदुरद्वारा तोडफोड
बिर्तामोड : खोलाबाट ढुंगा, गिटी तथा बालुवा निकाल्न निर्माण कम्पनीले बन्द गरेपछि मजदुरले अर्जुनधारा नगरपालिका कार्यालय तोडफोड गरेका छन् । खोलाबाट सामग्री संकलनको ठेक्का पाएको एसयुएस कन्स्ट्रक्सनले निकासी ठप्प पारेपछि हजारौं मजदुरको बिचल्ली भएको भन्दै मजदुरले आफ्नो रीस आइतबार नगरपालिकामाथि पोखेका हुन् ।
नगरपालिकाले सम्झौताबमोजिम खोलाजन्य सामग्री संकलनका लागि वातावरण बनाउन नसकेपछि निर्माण कम्पनीले बिहीबारदेखि खोलाजन्य सामग्री ओसार–पसारमा रोक लगाएको छ । जसको असर मजदुरमाथि पर्दासमेत नगरपालिका मौन रहेको भन्दै उनीहरुले आइतबार ढुंगामुढासहित तोडफोड गरेका हुन् । नगरले तोकेको स्थानबाट निकालिएको सामग्री ओसार–पसारमा निर्माण कम्पनीले अहिले रोक लगाएको छ ।
नगरपालिका र निर्माण कम्पनीबीच गत असोज १६ गते बिरिङ, टाङटिङ, नेते र गोयाङ खोलाको दुई लाख ४० हजार ६ सय घनमिटर सामग्री संकलन गरेर बिक्री गर्न पाउने शर्तमा दुई करोड ६१ लाख १० हजार रुपैंयाँमा ठेक्का भएको थियो ।
शर्तबमोजिम उत्खननको वातावरण नगरपालिकाले बनाउन नसकेपछि खोलाजन्य सामग्री ढुवानीमा रोक लगाउने निर्णय गर्नुपरेको एसयुएस कन्ट्रक्सनका सञ्चालक उत्सब ढकालले बताए ।
नगरपालिकाका ती खोलाबाट सामग्री निकासीका लागि १४ वटा नाका प्रयोग हुँदै आएको छ । सबै नाकामा कर्मचारी परिचालन गरेर कुनैपनि सामग्री निकासी गर्न नदिन परिपत्र (सर्कुलर) गरेको ढकालको भनाई छ ।
लगानी सुरक्षाका लागि ठेकेदार संस्थाले कठोर आन्दोलको घोषणा गरेको बताएको छ । नगरपालिकाले माघ ७ गते निर्माण कम्पनीलाई खोला उत्खनन् गर्नका लागि सहमतिपत्र दिएको थियो । नगरपालिकाको अनुमतिपत्र पाएको निर्माण कम्पनीले खोला उत्खनन् शुरु गरेसँगै स्थानीयबासीले बिरोध शुरु गरेका थिए ।
स्थानीयबासीको बिरोधका कारण निर्माण कम्पनीले उत्खनन गर्न रोकेको छ । सहमतिबमोजिम खोलाजन्य सामग्री संकलन गर्न नपाएपछि निर्माण कम्पनीले २४ घण्टाभित्र सामग्री संकलनको वातावरण मिलाउन नगरलाई पत्र लेखेको थियो ।
नगरपालिकाले उत्खननको बिषयमा पटक–पटक गरेको छलफलबाट समेत सहमति हुन सकेको छैन । स्थानीयबासीले उत्खननका कारण पानीको सतह सुक्न थालेको भन्दै अर्जुनधारा १ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !