बैतडीमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
बैतडी : सरकारविरुद्ध नेपाली कांग्रेसले बैतडीमा विरोध प्रदर्शन गरेको छ। सरकारले जनताको भावना विपरीत काम गरेको, दुई तिहाइको बलमा कानुन र संविधान विपरीत काम गरेको सोमबार कांग्रेसले विरोध प्रदर्शन गरेको छ।
संसदीय मार्यादा कायम गर्न नसकेको, महंगी भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत बैतडीमा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले जानकारी दिए।
पार्टी कार्यालय गोठलापानीबाट सुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय अगाडि गढी पुगेर कोणसभा सभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले सरकारी अधिनायकवादी बाटोमा हिडेको आरोप लगाए। उनले भने ‘सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन्। डा. गोविन्द केसीसंग भएका सम्झौता कार्यान्वयनमा सरकार उदासीन भएको छ। जताततै महंगी र भ्रष्टाचार बढेको छ। त्यसैले सरकारले गरिरहेका जनविरोधी कामहरुलाई रोक्नका लागि दबाब दिन हामीले विरोध सुरु गरेका हौं।’
विरोध प्रर्दशनमा कांग्रेसका भातृसंगठनका प्रतिनिधि र कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो। सरकारले दुई तिहाइको बलमा लोकतन्त्र विरोधी काम गरिरहेको कांग्रेसजनहरुको आरोप छ।