बस दुर्घटनामा १३ जना घाइते
पाल्पा : पाल्पाको रामपुर नगरपालिकाबाट पूर्वी नवलपरासीको नवलपुर जाँदै गरेको लु १ ख ७४३९ नम्बरको बस आज सोमबार दिउसो निस्दी गाउँपालिका–७, गुरुङडाँडामा दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।
घाइते हुनेहरुमा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २९ वर्षीय चालक लिलप्रसाद श्रेष्ठ, नवलपरासी सुनवल गाउँपालिका–४ का ३४ वर्षीय सहचालक जीवन श्रेष्ठ छन् ।
यस्तै भारतीय नागरिक ४५ वर्षीय दिननाथ पासवान र ४० वर्षीय छेकन राम, त्रिवेणी नगरपालिका–४ नवलपुरका ६० वर्षीया खोमा कुमारी चिदी थापा, निस्दी गाउँपालिका–४ का ४५ वर्षीय तामबहादुर गाहा, ४६ वर्षीया थामीश्वरा गाहा, ३५ वर्षीया तेजमाया सोमै पनि घाइते छन् ।
मध्यविन्दु नगरपालिका–१५ नवलपुरका ५५ वर्षीय नारायण बास्ताकोटी, रामपुर नगरपालिकाकी ७५ वर्षीया रुपा थापा, ३६ वर्षीया निरमाया केसी, ५५ वर्षीया विष्णु पराजुली, कावासोती नगरपालिका–१४ का ५५ वर्षीय ओमप्रकाश बास्ताकोटी घाइते भएका हुन् । घाइतेहरुको अरुणखोला नवलपरासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस ओरालोमा चिप्लिएर रोकिराखेको ना ८ ख ४२ नम्बरको टिप्परलाई ठक्कर दिँदा दुर्घटना भएको हो । प्रहरी नायव उपरीक्षक विनोद घिमिरेका अनुसार बसमा ३२ जना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस !