निकासी नहुँदा सडे सेतकचिनी

निकासी नहुँदा सडे सेतकचिनी

जाजरकोट : जिल्लाका विभिन्न पाटनबाट संकलित सेतकचिनी (खिरौलो) निकासी नहुँदा सड्न थालेको छ। निकासीका लागि डिभिजन वन कार्यालयबाट छुट पुर्जी नपाउँदा सेतकचिनी कुहिने अवस्थामा पुगेको हो।

समयमा वातावरणीय प्रभाव मूल्यांकन नगर्दा छुट पुर्जी दिन समस्या भएको कार्यालयले जनाएको छ। जसकारण लाखौं राजस्व गुम्ने खतरा बढेको छ। सेतकचिनी सड्ने अवस्था पुगेपछि कतिपयले छिमेकी जिल्लाबाट पुर्जी लिएर निकासी गर्न थालेका छन्। कार्यालयको लापरवाही र ढिलासुस्तीले समयमै वातावरणीय प्रभाव मूल्यांकन नगर्दा समस्या देखिएको हो।

केही समयअघि वन डिभिजन कार्यालयले सम्बन्धित वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण गरेका कारण पाँच सय क्विन्टलको मात्र छुट पुर्जी दिने अनुमति पाएको छ। करिब दुई सय ठेकेदारले ६ लाख किलो छुट पुर्जीको माग गर्दै निवेदन दिएका छन्। तर, कार्यालयले प्रतिठेकेदार तीन सय किलोसम्म मात्र छुट पुर्जी दिएको छ। मागको तुलनामा निकै कम परिमाणको पुर्जी पाएपछि व्यवसायी समस्यामा परेका छन्।

व्यापारी गोरख शाहीले माग गरेअनुसार छुट पुर्जी नपाउँदा संकलित सेतकचिनी सड्ने अवस्थामा पुगेको गुनासो गरे। असोजदेखि मंसिर पहिलो सातासम्म जिल्लाको बारेकोट गाउँपालिकाका विभिन्न पाटनमा बहुमूल्य सेतकचिनी खिरौलो खन्ने गर्छन्। जमिनमुनी सखरखण्डजस्तो गरी फलेका दाना खनेर निकाल्ने र निकालिसकेपछि पकाएर सुकाउनुपर्छ। यसरी तयार पारिएको सयौं क्विन्टल सेतकचिनी बारेकोट, थलहबजार, कालिमाटी, रिम्ना, पाँचकाटिया, तल्लुबगरलगायतका स्थानमा अलपत्र परेको छ।

उक्त खिरौलो विभिन्न नाका हुँदै चीनतर्फ निकासी हुने गरेको छ। सेतकचिनीको छुट पुर्जी लिनलाई कार्यालय धाउन थालेको तीन महिना बितिसक्दा पनि पुर्जी पाउन नसकिएको बारेकोट गाउँपालिका–४ जिरीका व्यापारी रवि रावतले बताए। कार्यालयले विभिन्न बहानामा छुट पुर्जी नदिएपछि सेतकचिनी खरिदमा लाखांै लगानी गरेका व्यापारी चिन्तित छन्। समयमा संकलन पुर्जी नदिँदा अवैध तरिकाले खिरौलो संकलन गरेका व्यापारीले छुट पुर्जी नपाउँदा थप समस्यामा परेका छन्। वन कार्ययोजना स्वीकृति नभएका कारण सेतकचिनीलगायत जडीबुटीको निकासी पुर्जी दिन नसकिएको डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख मन्जुर अहमदले बताए। एक्सन फर इन्जिनियरिङ सोलुसनले जाजरकोटमा वनको वातावरणीय प्रभाव मूल्यांकनको जिम्मा लिएकोे थियो। तर, समयमा उक्त कार्य नगर्दा समस्या देखिएको डिभिजन वन प्रमुख अहमदले बताए।

डिभिजन वन कार्यालयले गरेको अध्ययन प्रतिवेदनमा प्रत्येक वर्ष जाजरकोटमा १७ लाख ६५ हजार पाँच सय ५३ किलो जडीबुटी संकलन गर्न सकिने उल्लेख छ। तर, गत आर्थिक वर्षमा दुई लाख ६९ हजार सात सय ४३ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी गरी १९ लाख ६७ हजार मात्र राजस्व संकलन भएको जनाएको छ। कतिपय जडीबुटी संकलन नै नभई जंगलमा खेर जाने गरेका छन् भने संकलितमध्ये पनि धेरैजसो चोरी–निकासी हुने गरेको छ। प्रतिकेजी निकासी पुर्जी दिएबापत १५ रुपैयाँ राजस्व लिने गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.