मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, २ घाइते
दमक : झापाको बिर्तामोड नगरपालिका–९ नरियाबारीमा भएको मोटरसाइकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० का १८ वर्षीय मंगल चौधरी रहेका छन्। उनलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो नरियाबारीबाट हल्दिबारीतर्फ जाँदै गरेको मे ९ प ७७४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको बेलको रुखमा ठोक्किँदा चौधरी घाइते भएका थिए। दुर्घटनामा परी सोही मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका–२ बस्ने १८ वर्षीय विशाल दास र २० वर्षीय नवीन कटुवालसमेत गम्भीर घाइते भएका छन्।
घाइतेहरुको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय अनामनीले जनाएको छ। मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ। मोटरसाइकल अहिले प्रहरीको नियन्त्रणमा छ।
प्रतिक्रिया दिनुहोस !