घरेलु मदिरा उत्पादक आन्दोलित

घरेलु मदिरा उत्पादक आन्दोलित

भद्रपुर : मदिरा सेवनका कारण सबैभन्दा बढी घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक सार्वजनिक भएसँगै झापाका घरेलु मदिरा व्यावसायी आन्दोलनमा उत्रेका छन्। चरणबद्ध आन्दोलनमा उत्रेका व्यावसायीले वडा कार्यालय, गाउँ र नगरपालिका हुँदै सोमबार जिल्ला समन्वय समितिसमक्ष ज्ञापनपत्र बुझाएका छन्।

झापाको दक्षिण भेगका करिब दुई सयको संख्यामा आएका घरेलु मदिरा व्यावसायीले जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलसमक्ष व्यावसायीलाई काम गरेर खाने अधिकारबाट बञ्चित गर्न नपाइने भन्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै जिसस प्रमुख पोर्तेलले घरेलु मदिरा व्यावसायीको मागमाथि  छलफल गरिने बताए। 

झापामा हालसम्म भएका सवारी दुर्घटनामा स्थानीय तहमा उत्पादित मदिराको कुनै दोष नभएको उनीहरुको दावी छ। 'व्हिस्की र बियर खाएर गाडी कुदाउँदा बढी दुर्घटना परेका हुन् कि लोकल रक्सी खाएर।‍त्यसको पनि लेखाजोखा प्रशासनले राखोस्,' हल्दिबारी- ५ कि सीता मेचेले भनिन्। 

बाबु- बजैदेखि गर्दै आएको व्यवसाय मर्दा र पर्दा समेत मदिरा चाहिने उनीहरुको भनाइ थियो। 'आफ्नो-आफ्नो संस्कार हो,' मेचे भन्छिन्, 'रक्सी पार्नुको मुख्य उद्देश्य सँ'गुर पालन हो। रक्सीबाट त के नाफा हुन्छ र भारतसम्म पुर्‍याउन सके केही नाफा हुन्छ।'

उनीहरु रक्सी बनाएर उब्रेको कोदो, भात सुँगुरलाई दिने गर्छन्।उनीहरुका अनुसार नाफा रक्सीबाट होइन, सुँगुरबाट हुन्छ । यही पेशाबाट परिवार पालिएको र छोराछोरी पढाएको उनीहरु बताउँछन्।

प्रशासनले गरी खाएको व्यवसाय नाश गर्न खोजेको भन्दै आन्दोलनमा उत्रिनु परेको ललित राईले बताए। प्रशासनले घरेलु मदिरा व्यावसायीलाई उचित व्यवस्थापन गरेर सञ्चालन गर्न दिनुपर्ने उनीहरुको माग छ। 

झापाको दक्षिण भेग जलथलबाट दैनिक करिब दुई सय लिटर घरेलु मदिरा भारत पनि भित्रिने गरेको पनि उनले बताए। झमवीर नेमवाङ्गको नेतृत्वमा २१ सदस्यीय संघर्ष समिति निर्माण गरी व्यावसायीहरु आन्दोलनमा उत्रेका हुन्।

राज्यले कर लिएर घरेलु उद्योगका रुपमा मदिरा व्यावसाय गर्न पाउनुपर्ने उनीहरुको माग छ। माग पुरा गर्न स्थानीयदेखि केन्द्र सरकारसम्म अनुरोध गरेका उनीहरु मदिरा नियन्त्रण गर्ने हो भने पहिले विदेशी मदिरा नियन्त्रित हुनुपर्ने पनि शर्त राखेका छन्।

राज्यले करको दायरामा ल्याओस हामी आउन तयार छौँ, तर हामीलाई स्वदेशमै गरिखाने बाटो राज्यले खोस्न नपाउने पनि एक मुष्ठ आवाज उठाएका छन्। यता जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार झापा जिल्लामा घटेका घटनामध्ये आव ०७४÷७५ मा एक हजार ६ सय ८७ घटना मध्ये पाँच सय १२ वटा घटना मदिरा सेवनकै कारण भएको जनाएको छ।

त्यसैगरी चालु आवको साउनदेखि हालसम्म पाँच सय ७२ घटनामध्ये ८९ वटा घटना मादक पदार्थ सेवनबाटै भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। झापाको हल्दिबारी गाउँपालिकाको- ४ र ५ का स्थानीयको पेशा नै घरेलु मदिरा र सुँगुर पालन रहेको छ। त्यसो त झापामा घरेलु मदिरा व्यावसायीको संख्या तीन हजार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.