अवसान
निख्खर सेता बादलहरूबाट
सफेद रङ चुहिएर क्षितिजमै बिलाएको छ
र, कालो छ बादल अहिले,
त्यही कालो मेरा आँखाका डिलमुनि
नैनथैलीमा भरिएको छ।
घनघोर गर्जनसहित
सल्किएको छ, फिलिंगो बादलबीचमा
र, मेघले तत्काल निभाइदिएको छ आगो
तर, मेरो मनमा सल्किएको आगो
किन भुसको आगोझैँ पुत्पुत सल्किरहेको छ ?
म कहाँ आइपुगेको छु ?
यो गुफा होइन, यो सुरुङ होइन
न हो फराकिलो मैदान।
यहाँ केही रूखहरू छन्
मानिसले लास जलाएर फ्याँकेका
दाउराका काला ठुटाजस्तै,
पन्छीहरूले आफ्नो गुँड
आफैंले ठुँगेर–भत्काएर गएजस्ता छन्–
रित्ता छन् रूखहरू
जाँदाजाँदै पक्षीहरूले
लगे कि क्या हो हरिया/सुनौला पातहरू ?
छेउमा भएको नदीमा दुर्गन्धको बालुवा बगिरहेछ,
हिमाल आफ्नो रेशमी सेतो पहिरन फुकालेर
उभिएको छ निर्वस्त्र,
फूलबारीका फूलहरू पत्थरका भएका छन्,
कुनै मधुर गुनगुन छैन कहीँ,
इन्द्रेणीको रङ नै गायब छ।
समयले ठगेर र नियतिले रेटेर
निसास्सिएका मानिसहरूको जुलुस
भीरबाट खस्दैछन्, तिनको चीत्कार प्रतिध्वनित हुने
वरिपरि पहाडहरू यसरी ढलेका छन्
मानौं ती हुन् पराजित योद्धा कुनै प्राचीन युद्धका।
चन्द्र र सूर्य डाँडामाथि उक्लिन सक्दैननउनीहरू
पहाडपछाडि एउटा खोचमा अड्किएका छन
कसैले पहाडमा चन्द्र र सूर्यलाई
कीलैकीला ठोकेर गएजस्तै लाग्छ।
म उभिएको चट्टान भर्खरै खरानीको थुप्रो बनेको छ,
र, मेरा खुट्टाहरू त्यही थुप्रोमा धसिँदैछन्,
भर्खरै मेरोसामु एउटा रातो कपडा खसेको छ–
देख्छु, त्यसमा चन्द्र र सूर्यको छाप छ
र, त्यसको किनार खुइलिएर कैलो भएको छ।