कृषि उपजले धानेको राँके बजार

कृषि उपजले धानेको राँके बजार

फिदिम : कृषि उपजले बजार नपाउँदा किसान निराश भएका उदाहरण प्रशस्त छन्। तर पाँचथर र ईलामको सीमावर्ती बजार राँके बजारमा कृषिउपजको मात्रै कारोबार हुन्छ। यस बजारलाई कृषिउपजले धानेको छ।

राँकेमा सिर्जना श्रेष्ठ (राई) ले पसल सुरु गरेको तीन वर्ष पुग्यो। मेची राजमार्गको सडक पेटीमा रहेको उनको पसल कृषि उपजले भरिभराउ छ। अकबरे (खुर्सानी), नौनी घ्यू, ग्रीन टी, ललिपप, कालो दाल, छुर्पीले उनको पसल सजिएको छ। कृषि उपजको व्यापारबाटै उनले राम्रो आम्दानी गरेकी छन्। ‘दैनिक २० देखि ३० हजार सम्मको व्यापार हुन्छ’, उनी भन्छिन्, ‘कृषिउपज भन्दा अरू व्यापार गरेको छैन।’ सिर्जनाको पसलमा जस्तै यो बजारका करिब एक सय पसलमा लामा÷लामा छुर्पीका सिल झुन्ड्याएको छ।

लामबद्ध मिलाएर राखिएका बट्टाहरूमा रातै अकबरे खुर्सानी छन्। डल्ला पारेर लहरै राखिएको नौनी घ्यूका पोका छन्। दालको पोका, ललिपपको हार र अर्गानिक चियाको पोका प्रत्येक पसलमा भेटिनु यो बजारको पहिचान हो। पाँचथर र इलामका किसानले उत्पादन गरेका कृषिउपजको कारोबारले नै राँके बजारको व्यापारलाई धानेको छ।

मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुगेर फर्कने यात्रुले कोसेलीका रूपमा बजारमा राखिएको कृषिउपज खरिद गर्ने भएकाले राँके कोसेली बजारका रूपमा चिनिँदै आएको छ। ‘गाडीबाट आउने यात्रुले घ्यू, अकबरे र छुर्पी कोसेलीको रूपमा खरिद गर्छन्’, बजारमा सञ्चालित लक्ष्मी होटेलका प्रोपाइटर राजकुमार नेम्बाङले भने, ‘तराईबाट आउने यात्रुले यो बजारलाई कोसेली बजारको नामले चिन्छन्।’

राँके बजारका अधिकांश पसलमा कृषिउपजकै मात्र कारोबार हुन्छ। यहाँ बिक्री गरिने नौनी घ्यू र अकबरेले निकै चर्चा कमाएको छ। बजारमा प्रतिकिलो छ सय ५० रूपैयाँमा नौनी घ्यू बिक्री हुन्छ। तीन साइजका बट्टामा लगाएर अकबरे (खुर्सानी) बिक्री गरिन्छ। प्रतिबट्टा एक सयदेखि तीन सय ५० रूपैयाँ सम्ममा अकबरे बिक्री हुने हुमेश स्टोर्सका प्रोपाइटर चन्द्र खड्काले जानकारी दिए। आकर्षक देखिने गरी पसलमा कृषिउपज मिलाएर राखिएका छन्। गाडीबाट यात्रा गर्नेले यो बजारमा कोसेलीको रूपमा सामान खरिद गर्ने गरेका छन्।

यात्रुको बाक्लो चाप हुने यो बजारमा दैनिक लाखौं रूपैयाँको कृषिउपजको कारोबार हुने गरेको छ। वर्षको दुई सिजनमा यो बजारका व्यापारीले राम्रो व्यापार गर्छन्। फागुन महिनादेखि जेठ महिनासम्म अनि कात्तिक र मंसिर महिनामा राम्रो व्यापार हुने गरेको व्यापारी बताउँछन्। ‘छ महिना यात्रुको चाप बढ्छ’, नेम्बाङले भने, ‘आन्तरिक र बाह्य पर्यटकको चाप बढेको बेला यहाँको व्यापार ह्वातै बढ्ने गर्र्छ।’ राँके बजार आसपासका किसानले उत्पादन गरेको कृषिउपज बिक्री हुने भएकाले किसानले पनि राम्रो आम्दानी लिने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.