रजस्वला गीत
- अविनाश भट्टराई
प्रिय चेलीहरू,
झ्याल खोलेर हेर एकैछिन
तिम्रो आडैमा बग्ने कर्णाली,
सबैभन्दा लामो नदी
कति लामो आयु बाँचिरहेछ
तिमीहरू कर्णाली हौ,
स्वच्छन्द, कञ्चन, अविरल
तिमीहरू पनि बाँच्न सक्छौ
कर्णाली जस्तै प्राकृतिक आयु
सबैभन्दा बढी उज्यालो उत्पादन क्षमता भएका तिमीहरू
कतिन्जेल अन्धकारमा बाँचिरहन्छौ ?
सबैभन्दा बढी सिञ्चित क्षमता भएका तिमीहरू
कतिन्जेल बाँझो र सुक्खा बसिरहन्छौ ?
अब ढिला नगर्नू
१३१६ क्युविक मिटर प्रतिसेकेन्ड रफ्तारमा बहनु
३२००० मेगावाट बिजुलीझैं चम्किनु
र एकै झट्कामा जलाइदिनु चिहान गोठहरू
अनि रोपेर छोडिदिनू खरानीमा एकदाना बीउ– सिमलको
पछि हुर्किनेछ सिमल
हुनेछ एकदम अग्लो
तिम्रा छोरीहरू पनि हुर्किनेछन्, बढ्नेछन् लगाउनेछन् ‘स्यानिटरी प्याड’
चढ्नेछन् त्यो अग्लो सिमल
बाँध्नेछन् टुप्पोमा ठूलो ‘स्पिकर’
र गाउनेछन् गाउँ नै थर्किन गरी
रजस्वला गीत