ओखती कवितामा एकफेर
माइत जाने बाटो । यसो भन्दा म पुरुषले कि मावली गएको सम्झिन्छु कि त ससुराल । आमा माइत जाँदा म मावल जान्थें, आपा (बुवा) ससुरालतिर । श्रीमती माइत जाँदा म ससुराली गएको हुन्छु, छोरो मावल । अहिलेचाहिँ म कवि सुनीता गिरीको कविता कृति ‘माइत जाने बाटो’मा रहेका ३२ थान सिर्जनाको यात्रामा छु, एउटा पाठक मन लिएर । नेपाल क्लब हङकङ प्रकाशक रहेको यो कृति ‘सपनामा आमा’बाट सुरु भई ‘धरहरासँगै ढलेको धरहरामा’ पुगेर ७८ पृष्ठमा समेटिन्छ ।
यी कवि हङकङ साहित्यिक साझा शृंखलाकी उपसंयोजक हुन् । उनको यही कविता–कृतिलाई नेपाली भाषा तथा साहित्य परिषद् हङकङले पारिजात पुरस्कार हङकङ प्रदान गर्यो । लेखक खगेन्द्र संग्रौला हङकङ पुगेर पुरस्कार हस्तान्तरण गरे । कवि सुनीताले हालै यो कृतिको दोस्रो संस्करण प्रकाशन गर्न लागेको सुनाइन् । कतिपय प्रकाशकले कविता संग्रह बिक्री हुँदैन भन्दै कविलाई पन्छाउने गरेको सुनिन्छ । उनीहरूले उपन्यास (आख्यान)लाई प्राथमिकता दिन्छन् भनिन्छ । नत्र सेलिब्रिटी या अवकाशप्राप्त हाकिमका आत्मकथा रोज्छन् । बजार प्रवद्र्धन पनि उसैगरी गर्छन् । यस्तो अवस्थामा कविताको दोस्रो संस्करण आउनु कविताप्रेमीका लागि सुखद खबर हो ।
माइत जाने बाटो कस्तो होला ? चील गाडी चढेर जानुपर्छ कि हिँडेर ? या त मोटरमा गुडेर ? कि पुग्नुपर्ने हो शब्दको बाटो भएर ? मलाई त याद छ, मेरी आमा थुन्से या हात–बुना झोलामा कोसेली बोकेर माइत गएको । दिदी र भाउजूहरूको अवस्था पनि उस्तै हो । माइतीको सम्झना मनभरि कति–कति होला ? आमा–आपासँगको बिछोड त खपिनसक्नु होला । भोग्नेहरूलाई थाहा हुन्छ । आमासँगको बिछोडपछि उनले कवितालाई नजिकको साथी बनाएकी रहेछन् । यिनै कवितालाई उनले आमाको प्रतिरूप बनाएकी रहेछन् । हुन त आमाको ठाउँ लिन सक्ने आमाबाहेक अर्को कोही हुन्न भनिन्छ । तर, आमा नै नरहेपछि के गर्न सकिन्छ र ? पहाडले थिच्दा मुक्ति मिल्ला बरु पीडाको पहाडले थिच्नु नजाती ।
‘साहित्यलाई प्रेम गर्न थालेदेखि कविता मेरो सबैभन्दा नजिकको साथीजस्तो भएको छ । जुन साथीत्व त्यस बेलादेखि आफैं प्रगाढ बन्यो जब मेरी ममतामयी आमाको देहावसान भयो’, सुनीताले लेखेकी छन्, ‘जुन दिन मैले आमाको साथ र ममता सधैंलाई गुमाएँ, त्यही समयदेखि मभित्र पोलिरहने आमाको गहिरो माया र अधुरा सम्झनाहरूको ओखती यिनै कविताहरू भए ।’ उनले आमाकै सम्झनामा यस्तो लेखेकी छन्—
अनायास
मेरो कोमल छातीमा
थपक्क खस्यो आमाको शिरको फूल
त्यही फूलको स्पर्शले
म झल्याँस्स ब्यूँझिएँ ।
(सपनामा आमा, पृष्ठ ३)
यस्ता थुप्रै कविता छन्, जसलाई कविले भावना र विचारका सप्तरंगी रङ भरेकी छन् । उनले ‘मृत्युलाई पत्र’मा विद्रोह बोलेकी छन् । ‘नारी र स्वतन्त्रता’मा नारीवादी स्वर गुन्जिएको छ । ‘बिर्सिएका याद’हरूमा प्रवासको पीडा पोखिएको आभास हुन्छ । उनले हङकङ, युङलन पार्क र गे्रटवाललाई कविता बनाएकी छन् । प्रेम–प्रणयको विषय छ । समग्रमा विषयगत विविधता छ यो कृतिमा ।
म तिम्री छोरी
म तिम्रै रगत
तिम्रै समाधिछेउमा
उभिएकी छु यति खेर
मेरो हातमा छ
तिमीलाई मनपर्ने एक थुंगा फूल
दोधारमा छु
यो फूल
तिम्रो शिरमा चढाऊँ कि पाउमा ?
(समाधिमा एक थुँगा फूल, पृष्ठ २४)
कविताका प्रकार, यसका तत्वलगायत लेखनमाथि बहस चल्दै आएको छ । ‘माइत जाने बाटो’का कविता शैली, शिल्प, संरचनाका हिसाबले कुन कोटिका हुन् ? यस्ता कुरा समालोचकले खुट्याऊन् । रस, अलंकार, दृष्टिबिन्दुहरू पनि सिद्धान्तकारलाई नै जिम्मा । पाठकलाई मन पर्यो कि सकियो । कविताका तत्व भएरै पाठकको मन छुने हो ।
माइत जाने बाटोबाट
टाढा देखिएका पहाड
माइतीजस्तै लाग्छन्
माइत जाने बाटोबाट
माथि देखिएको आकाश
माइतीघरको आँगनजस्तै लाग्छ
(माइत जाने बाटो, पृष्ठ ५९)
हङकङमा रहेका नेपालीसँगको सहकार्य दशक नाघेको छ । ‘सनराइज पोस्ट’ साप्ताहिक सम्पादनदेखि इलाम समाजसम्म सहकार्य भएको छ । साहित्यिक पत्रिका ‘साइनो’ प्रकाशन÷सम्पादन गर्दा पनि हङकङका नेपाली साहित्यकारसँग सहकार्य भयो । ‘साइनो’का अतिथि सम्पादक गजलकार अशोक राई हङकङमा क्रियाशील थिए । हामीले पत्रिकामा हङकङका सिर्जनालाई ठाउँ दियौं । म त्यही ‘साइनो’ लिएर ‘सनराइज पोस्ट’का लागि लेख माग्न २०६५ असोजमा धर्मेन्द्र नेम्बाङसँग खगेन्द्र संग्रौलाकहाँ पुगेको थिएँ । पछि इमेलमा उनले ‘हाङयुग अज्ञातसँग तिहीँनेर हग्दै’ शीर्षक लेख पठाइदिए । कम्ता खुसी लागेन । तर, उनले पत्रिका नै हङकङे सम्झिएछन् । यसरी काम गरिरहँदा हङकङमा क्रियाशील नेपालीका सिर्जना पढ्ने÷बुझ्ने मौका मिलेको थियो । मेरो ‘माङखिम’ प्रकाशनमा हङकङबाटै सहयोग जुट्यो । रेखा कविता, भयवाद, समुच्च विचारजस्ता काव्यिक अभियान पनि हङकङबाट चलेको हो । त्यही सेरोफेरोमा आएको हो, ‘माइत जाने बाटो ।