एउटा प्रतिबन्धित किताब

एउटा प्रतिबन्धित किताब

अस्ट्रेलिया जान हङ्कङबाट आउने ‘ड्र्यागन’ विमानलाई त्रिभुवन विमानस्थलमा केही घण्टा कुरेपछि रातको १० बजे विमान आइपुग्यो। २०७४ साउनको तेस्रो साता यो मेरो पाँचौं अस्ट्रेलिया भ्रमण थियो। मैले अस्ट्रेलियाको हरेक बसाइमा त्यहाँको इतिहाससम्बन्धी किताब पढ्ने मनसुवा बनाएँ। तीनमहिने पर्यटक भिसा लिएर गएकाहरूलाई सो अवधिको अध्ययनका लागि कति सम्भव हुन्छ र ? मलाई त्यो बेला त्यही अन्योलले मेरो मनमा उठेको कौतूहललाई ‘डिमार्केटेड’ गरिदिएको थियो। सीमित समयको उपयोग गर्नै पर्थ्यो मैले।

१३ मे सन् १७८७ मा बेलाइतबाट हिँडेको समुद्री जहाजहरूको एउटा बेडा १५ सय मानिसलाई लिएर हिँडेको थियो। यो बेडालाई अस्ट्रेलियाको सिड्नी पुग्न साढे आठ महिना लागेको थियो। मैले एउटा यस्तो किताब पढ्न चाहेको थिएँ, जसले आजको सुन्दर अस्ट्रेलियाको ऐतिहासिक चित्र अक्षरमा उतारेको होस्। दुई सय ३० वर्षअगाडि ल्याउँदा एउटा ‘ल्यान्डमार्क’ बन्छ, सो ल्यान्डमार्क भनेको अस्ट्रेलियन एबोरिजिन र बेलायतीहरूको ‘मुठभेड’ भएको एउटा ठूलो घाउको खत हो।

 त्यस बखतको अत्याधुनिक हतियारले सुसज्जित साम्राज्यवादको नेता अंग्रेजसँग लड्नु भनेको ख्यालठट्टाको कुरा थिएन। अस्ट्रेलियन आदिवासी अथवा एबोरिजिनसँग कस्ता हतियार थिए ? तिनीहरू कसरी लडे ? त्यस बखतका बेलायतका राजाले पनि एबोरिजिनसँग ‘वार्ता गर’ भन्नुपरेको थियो। को थियो, ती एबोरिजिनहरूको नाइके ?        जसले त्यत्रो साम्राज्यलाई वार्ताका लागि झुक्न बाध्य तुल्यायो ?        उनैबारे लेखिएको किताब पढ्न चाहेको थिएँ मैले। तर अफसोच ! न मसँग समय थियो, न त किताब नै। खासमा मैले खोजेको ‘एरिक विल्मोट’ ले लेखेको ‘पेमुलई’ नामक किताब थियो।

रातको ठीक ११ बजे ‘ड्र्यागन’ले मलगायत यात्रु लिएर त्रिभुवन विमानस्थलको भूमि छाड्यो। संस्कारवश मैले अन्तिमपटक पशुपतिनाथलाई सम्झिएँ। केही बेरमै स्क्रिनमा विमान कलकत्ताको आकाशमा उड्दै गरेको देखियो। अझै अगाडि बढेर बंगलादेशको आकाश कटेपछि बर्माको जमिन र समुद्रको किनार माथिबाट विमान सुस्तरी उडेजस्तो लाग्न थाल्यो मलाई। विमान हङ्कङमा ओर्लियो। तर पनि मेरो मनमा भने अघिल्लोपटक पढ्न नपाएको किताबकै कुरा खेलिरहेको थियो। मैले मनमनै निधो गरेँ, यसपटक भने भिसाको अवधि बढाएर पनि ‘एरिक विल्मोट’ले लेखेको ‘पेमुलई’ किताब अवश्य पढ्नेछु। ‘इनसाइक्लोपेडिया’मा यो किताबबारे दिइएको छोटो तर सटिक व्याख्याले यसलाई वर्तमान नेपालको नजिक ल्याउँथ्यो। त्यसै कारण मलाई यो किताब पढनैपर्ने तिर्खा जागेको थियो।

चार घण्टाको ‘ट्रान्जिट’पछि ‘क्याथेप्यासिफिक’ भन्ने विमानले हङ्कङबाट करिब नौ घण्टापछि ‘सिड्नी’ सहरको विमानस्थलमा अवतरण गरायो। त्यहाँ पुगेको दोस्रो दिनदेखि पुस्तकालय धाउन थालेँ। हाम्रो यहाँको महानगरपालिका जस्तो ‘पारामाटा सिटी काउन्सिल’मा करिब २० वटा भव्य पुस्तकालय छन्। त्यसमध्येको ‘पारामाटा सिटी लाइब्रेरी’को काउन्टरमा गएर ‘एरिक विल्मोट’को ‘पेमुलई’ नामक पुस्तकका लागि अनुरोध गरेँ। करिब आधा घण्टाको खोजतलासपछि आफ्नो पुस्तकालयमा सो पुस्तक नरहेको जानकारी लाइब्रेरियनले दिए। तैपनि पुस्तकालय अथरिटीको कार्यकक्षमा जान उनीहरूले मलाई सल्लाह दिए। अथरिटीले महानगरका २० वटै पुस्तकालयमा कम्प्युटरमा सर्च गर्छन् तर पुस्तक पाइँदैन। अन्त्यमा उनले ‘सरी’ भन्दै अर्काे महानगरमा जान सल्लाह दिन्छन्।

‘पारामाटा सिटी लाइब्रेरी’को काउन्टरमा गएर ‘एरिक विल्मोट’को ‘पेमुलई’ पुस्तकका लागि अनुरोध गरेँ। अथरिटीले महानगरका २० वटै पुस्तकालयमा कम्प्युटरमा सर्च गरे, तर पुस्तक पाइएन।

‘ग्य्रानभिल लाइब्रेरी।’ चार वर्षअगाडि पनि म यसैमा आएर अध्ययन गरेको थिएँ। यो ‘मेरिल्यान्ड काउन्सिल’मा पर्छ। यहाँ १६ वटा भव्य पुस्तकालय छन्। पुस्तकको त्यसैगरी खोजी भयो, जसरी ‘पारामाटा’मा खोजिएको थियो। भाग्यवश अन्यत्र कतै नपाइएको किताब त्यहाँको मेरिल्यान्ड लाइब्रेरीमा पाइयो। तर, सो पुस्तक जम्मा एक प्रति मात्र रहेछ। घर लान नपाइने, पुस्तकालयका सदस्य बनेकालाई मात्र त्यहीँ बसेर अध्ययन गर्न दिने भन्ने सूचना दिइयो। अर्को दिन मैले त्यहीँको बासिन्दा भएको आफ्नो छोरालाई सँगै लगेर सो लाइब्रेरीको सदस्य बनाएर पुस्तक पढ्न सुरु गरेँ। धेरै दिनको आकांक्षा त पूरा भयो तर मलाई सो पुस्तक किनेर नेपाल फर्कंदा साथै लैजाने मन भयो।

पारामाटा सहरको विशाल सपिङ सेन्टर भित्रको ‘डाइमोक्स’ पुस्तक पसलमा सो पुस्तक पाउने झिनो आशा लिएर मैले काउन्टर टेकेँ। ‘हामीसँग सो पुस्तक छैन र हामी झिकाउन पनि सक्तैनौं, सरी, सर’ भनेर काउन्टरको कर्मचारी पन्सियो। कुनै पनि किताबको संसारमै यस्तो अभाव हुनुमा यस्का पछाडि कुनै कारण नहोला ? मेरो मनमा आज पहिलोपटक यो प्रश्न उब्जियो। संसारभरिबाट प्रकाशित हुने पुस्तक पाइने वेबसाइट ‘अमेजन डट कम’ हो। यसमा खोजतलास गर्दा पुस्तक भेटियो। तर, यसको मूल्य ३५० डलर उल्लेख थियो। यसलाई नेपालीमा कन्भर्ट गर्दा ३८ हजार पाँच सय मूल्य पर्ने भएपछि मैले सो पुस्तक किन्ने विचार त्यागेँ। यसरी पुस्तक किन्न पनि दुरुह हुँदै गएपछि मैले पढ्नसम्म पाइएको कपीबाट सो पुस्तकका अंश टिप्न थालेँ।

यस किताबका लेखक एरिक विल्मोट सन् १९३६ मा क्विन्सल्यान्डमा जन्मेका थिए। उनी आफैं एबोरिजिन हुन्। पेमुल भनेको उनीहरूको भाषामा ‘पृथ्वी’ हो। उनको भनाइअनुसार उपन्यासको मुख्य पात्र पेमुल अस्ट्रेलियाको ‘धरती पुत्र’ हो। ‘इओरा’ जातिका थिए उनी। जातीय आस्था र विश्वासअनुसार यो पृथ्वी भावातीत स्रष्टाले सिर्जना गरेको भनेर मान्थे उनीहरू।

एरिकले यो उपन्यास सन् १७८८ देखि १८०२ सम्मको अवधिलाई लिएर लेखेका छन्। पेमुल यो १४ वर्षसम्म आफ्नो देशमा बेदखल गर्न आएका बेलायतीहरूसँग लगातार लडेर अन्त्यमा उनीहरूद्वारा मारिएका हुन्छन्। आजको चकाचौंध देखिने सिड्नी सहर तिनै पेमुलको जातिको जातीय थलो थियो। उपन्यासको विषयवस्तु अभिन्न रूपले यसै थलोसँग गाँसिएको छ।

विगत ४० हजार वर्षको इतिहास बोकेको इओरा जातिभित्रको पेमुलले बेलायतीहरूविरुद्ध लड्न अन्य धेरै जातिहरूलाई समेत संगठित गरेका थिए। आफ्नै कालाभित्रको विविधतालाई समेट्न सक्ने उनले सुरुमा बेलायतीहरू समेतलाई नराम्रो मानेका थिएनन्। तर जब गभर्नरका भान्सेसमेतले इओरा महिलालाई बलात्कार गर्न थाले, अनि यिनी बलात्कारीको हत्या गर्ने कामबाट गोराहरूका विरुद्ध उत्रिए। विशाल साम्राज्यका सेनाहरूले यिनलाई समात्न सकेनन्, अन्त्यमा लुकेर मार्नुपर्‍यो यिनलाई। सबैभन्दा अनौठो कुरा त उपन्यासका लेखक एरिक के लेख्छन् भने १४ वर्ष आपूmविरुद्ध लडेको पेमुललाई मारिसकेपछि पनि बेलायतीहरूलाई चित्त नबुझेर उनको टाउको छिनाएर बेलायत पठाइयो। लन्डन वरिपरिकै कुनै संग्रहालयमा उनको टाउको अझै पनि राखिएको विश्वास छ, उपन्यासकारलाई।

नेपालको इतिहासका वीरहरू बलभद्र कुँवर र भक्ति थापा आदिले आफैंलाई मार्ने अंग्रेजहरूले नै आफ्नै सालिक पनि बनाइदेलान् भनेर लडेका थिएनन्। तर पेमुलजस्तै जोदाहा नेपालमा पनि भेटेपछि उनीहरूले बलभद्रको सालिक बनाएको प्रमाण आज पनि देहरादुनमा छँदै छ। यो कथा सन् १८१४–१६ को सुगौली सन्धि ताकाको हो। सोभन्दा १४ वर्षमात्र पहिला सन् १८०२ मा मारिएका पेमुलको लासबाट टाउको गिँडेर बेलायत पुर्‍याइयो। साम्राज्यको लाज लुकाउन पनि लासबाट टाउको छिनालेर पूर्व घोषणाअनुसार कसैलाई पुरस्कृत गर्न खोजेजस्तो मात्र गरियो। तर, पुरस्कार दिइएको कसैलाई थाहा छैन। पेमुलको यस्तो हत्यापछि पनि युद्ध नसकिएको प्रमाण उनकै छोरो ‘टेडबरी’लाई पुनः युद्धबन्दी बनाएर राखिएको कुरा सो उपन्यासले सप्रमाण बताउँछ।

उपन्यासले तत्कालीन बेलायतीहरूको विचारलाई छोटो र खोटो प्रमाणित गर्न खोजेको छ। त्यति लामो अवधिसम्म आपूmविरुद्ध लड्न सक्ने पेमुलजस्तो बहादुरको वास्तविक इतिहासलाई छोपछाप पार्न उसलाई ‘सुपर न्याचुरल पावर’को रूपमा चित्रण गरिएको छ। यसरी पेमुलको नाम अस्ट्रेलियाको इतिहासमा त लेखिएन तर बेलायतीको दिमागमा र अस्ट्रेलियन आदिवासीको हृदयमा उनको नाम नमेटिने गरी लेखियो। अस्ट्रेलियन इतिहासको त्यो दृश्य नेपालको १९५१ को राणा शासनविरोधी आन्देलनका दृश्यहरूसँग केही हदसम्म मेल खान्छ।

तत्कालीन अवस्थामा भएको दिल्ली सम्झौताको विरोध गर्ने मुक्तिसेनाका कमान्डरहरू रामप्रसाद राई, केआई सिंह, एकदेव आले र भीमदत्त पन्तहरूमध्ये केआई सिंहलाई प्रधानमन्त्री पदको पुरस्कार दिइयो, तर अरू तीनजनाको इतिहास नामेट गरियो। रामप्रसाद राईले गठन गरेको जनमुक्ति सेनाले ‘खाने रासनमा चित्त नबुझेर विद्रोह गरेको’ भन्ने झुटो तर्क इतिहासभरि छरियो। तर ‘त्यो हँुदै होइन’ भन्ने सोही सेनाका मुगाधन राई पछिसम्म जीवित छउन्जेल भनिरहेका थिए।

तत्कालीन गभर्नर जसले पेमुललाई मार्ने आदेश दिए, उनले ‘यद्यपि उपनिवेशको एउटा भयानक किरो थियो पेमुल तर थियो बहादुर र स्वतन्त्र चरित्रको मानिस’ भनेर प्रशंसा र घृणा एकैसाथ गरेका छन्। उपन्यासको अध्ययनपछि अस्ट्रेलियन नेसनल युनिभर्सिटीका प्रोफेसर जेरीले भने, ‘बहुसांस्कृतिक राष्ट्रियताको निर्माणको सुरुमै देखिएको सुन्दर रेखांकन सहितको वर्णन हो यो।’ यसैगरी ज्याक थोम्सोनले भने, ‘मानव जातिमा बहुसंस्कृतिको छनोटको जन्ममा देखिने स्वभाविक दुविधा...।’

२५२ भाषा बोल्ने जातिहरूको अस्तित्व यस महाद्वीपमा मानव जातिकै उद्गम बिन्दु थियो। यथार्थमा अहिलेको अस्ट्रेलियन समाजले अनगिन्ती भाषा र ती भाषा बोल्नेहरूका अनेक जातीय राष्ट्रियतालाई सँगै लिएर हिँडिरहेको छ। यतिखेरको नेपालमा पहिचानको खोजलाई परम्परागत राष्ट्रियता माथिको आक्रमणका रूपमा बुझिँदै छ। जब कि नेपालका विविध जातिहरूको राष्ट्रिय पहिचान कुनै समुद्र तरेर आएको होइन, अस्ट्रेलियाको जस्तो।

यति महत्वपूर्ण सन्देश बोकेको किताब सँगै लिएर आउने जमर्काे मैले फेरि गरेँ। ‘इ–बे’ भन्ने एउटा अमेरिकन विज्ञापन वेबसाइटमा खोजियो, यो किताब। पाइयो पनि। तर यो थियो, सेकेन्ड ह्यान्ड। यसको मूल्य तोकिएको थियो, ७६ डलर अथवा नेपालको आठ हजार तीनस सय ६० रुपैयाँ। रकम पेमेन्ट गरेपछि सो मूल्यमा अस्ट्रेलियासम्म मात्र किताब ल्याइदिने सर्त राख्यो, सो संस्थाले। नेपालसम्म पुर्‍याउने सुरक्षित जिम्मेवारी लिन नसक्ने जानकारीका साथ किताब पाउने निश्चित भयो। मैले तत्कालका लागि रित्तै नेपाल फर्किनुपर्ने अवस्था आयो। म भाँच्चिएको मन लिएर बिनाकिताब नै फर्किएँ। यसरी २०७४ साउन २० बाट सुरु भएको एउटा किताबको कथा ठीक एक वर्ष दिनपछि यही साउन २० मै बुटवलका जितबहादुर आलेमगरले आपूmसँगै ल्याएर त्रिभुवन विमानस्थलमा मेरो हातमा हालिदिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.