युद्धपछिको आरोहण

युद्धपछिको आरोहण

‘शिखरको ढुंगा’ उपन्यास त हुँदै हो, यो सगरमाथा आरोहणको गाइड पनि हो। यस उपन्यासलाई एक प्रकारले सगरमाथा आरोहणको थेसिसभन्दा हुन्छ।


भनिन्छ, युवाहरूलाई कम्युनिस्ट विचारप्रति आकर्षित गर्ने पहिलो माध्यम साहित्य हो। रूस, चीन, भियतनामजस्ता देशका समाजवादी क्रान्तिका विषयमा लेखिएका साहित्यिक कृतिले संसारका धेरै युवालाई कम्युनिस्ट विचारप्रति आकर्षित गरेको हो भन्न सकिन्छ। माक्र्सवादी दर्शन बुझेर कम्युनिस्ट हुनेहरूभन्दा कम्युनिस्ट साहित्य पढेर कम्युनिस्ट हुनेहरू निश्चय नै धेरै छन्।

नेपालका अधिकांश कम्युनिस्ट नेता, कार्यकर्ताहरू ‘आमा’, ‘अग्निदीक्षा’, ‘युवाहरूको गीत’, ‘रातो चट्टान’ जस्ता रूस, चीनको क्रान्तिमा आधारित लोकप्रिय उपन्यासहरू पढेर अनि खुसीराम पाख्रिन, जेबी टुहुरे, जीवन शर्माहरूका गीत सुनेर कम्युनिस्ट विचारप्रति आकर्षित भएका देखिन्छन्। यसैले कम्युनिस्ट विचारको विकासका लागि जनक्रान्तिको साहित्यको ज्यादै ठूलो भूमिका छ।

विश्व साहित्यमा आख्यान विधाको जन्म र विकासमा राजनीतिक क्रान्तिको महŒवपूर्ण भूमिका छ। उपन्यास र कथा विधाको विकास फ्रान्सेली राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम र रूसी समाजवादी क्रान्तिकै जगमा विकास भएको हो। त्यसैले जनक्रान्तिहरू आख्यान विधाका उर्वरभूमि हुन्। तर नेपाली आख्यान साहित्यले भने यहाँको राजनीति क्रान्तिलाई जसरी उपयोग गर्नुपथ्र्यो, त्यसरी गर्न सकेको छैन। नेपाली भूमिमा एक दशकसम्म चलेको जनयुद्धको पृष्ठभूमिमा उत्कृष्ट आख्यान कृति आउनुपथ्र्यो तर ज्यादै थोरै आएका छन्। संख्यात्मक रूपमा केही आएका भए पनि गुणात्मक उचाइमा ज्यादै नगन्य कृति मात्रै आएका छन्। यही पृष्ठभूमिमा भर्खरै सरल सहयात्रीको ‘शिखरको ढुंगा’ उपन्यास आएको छ।

नेपाली साहित्यमा जनयुद्धलाई मूलतः तीन धारबाट हेरिएको छ। यसलाई अत्यन्त नकारात्मक रूपमा हेर्ने एउटा धार छ। यस धारमा लेखिएका कृतिमा जनयुद्धका क्रममा विद्रोही पक्षबाट केही नकारात्मक घटना र अपवादलाई सामान्यीकरण गर्दै ती घटना नै प्रतिनिधि हुन् भन्ने निष्कर्ष निकालिएको छ। दोस्रोबीचको धार हो, जसले जनयुद्धका क्रममा विद्रोही र सत्ता दुवैतिरबाट भएका ज्यादतीलाई देखाउने प्रयत्न गरेको छ। तेस्रो जनयुद्धका पक्षधरहरूको धार हो। यसमा जनयुद्धको महŒव र गरिमा स्थापित गर्ने प्रयत्न गरिएको छ। त्यही तेस्रो धारबाट जनयुद्धका मूल्य र गरिमालाई स्थापित गर्ने पछिल्लो उपन्यास कृतिका रूपमा ‘शिखरको ढुंगा’ उपन्यास आएको छ।

सरल सहयात्री जनयुद्धका सैन्य कमान्डर, राजनीतिक नेता र साहित्यकारसमेत हुन्। माओवादी निकट सांस्कृतिक संघका अध्यक्षसमेत रहेका सहयात्रीको दोस्रो कृति हो ‘शिखरको ढुंगा।’ यसको मूल कथा सगरमाथा आरोहणका विषयमा छ। सगरमाथा आसपासको परिवेशमा नेपालीमा ज्यादै थोरै उपन्यास लेखिएका छन्। दौलतविक्रम विष्टको ‘हिमाल र मान्छे’, सरुभक्तको ‘चुली’, नयनराज पाण्डेको ‘सल्लीपिर’ उपन्यासमा सगरमाथा आरोहणका केही सन्दर्भको चित्रण गरिएको छ। स्वयम् सगरमाथा आरोहीले लेखेको आरोहण विषयक नेपाली उपन्यास सम्भवतः यही नै पहिलो हो।

‘शिखरको ढुंगा’ उपन्यास त हुँदै हो, यो सगरमाथा आरोहणको गाइड पनि हो। सगरमाथा आरोहण कसरी गर्ने ? आरोहण कति सजिलो वा असजिलो छ ? आरोहणको कार्यतालिका, विधि, समय, इतिहास आदि अनेक प्रश्नका जवाफ दिन्छ उपन्यासले। यस उपन्यासलाई एक प्रकारले सगरमाथा आरोहणको थेसिसभन्दा हुन्छ। यो एक प्रकारको साहसिक कथा हो, रोमाञ्चक कथा हो। यसले एकैसाथ शिक्षा र मनोरञ्जन दिन्छ। पूर्वीय साहित्यिक चिन्तकहरूले खोजेजस्तै यस उपन्यासमा सत्यम्, शिवम् र सुन्दरम् तीन ओटै पक्ष छन्।

२५ परिच्छेदमा समेटिएको उपन्यासका मुख्य पात्रहरू जनयुद्ध लडेका सौर्य, आजाद र मेदिना हुन्। आफ्ना प्रेमी र प्रेमिका गुमाएका सौर्य र मेदिना जनयुद्ध स्थगित भएपछिको रिक्तताको परिपूर्तिका लागि सगरमाथा आरोहणमा छन्। जनयुद्धको अर्को योद्धा आजाद पनि जनयुद्धको जस्तो साहसिक, रोमाञ्चक र उद्देश्यपूर्ण यात्रामा निस्कन चाहन्छ। त्यसैले उनीहरू तीनै जना सगरमाथाको आरोहणमा छन्।

सौर्य र आजाद साथी हुन्। मेदिनाको प्रेमी कपिल सौर्य र आजादको पनि साथी हो। त्यसैले उनीहरूका पीडा र उद्देश्य मिल्छन् र आरोहणका सहयात्री बन्छन्। सगरमाथा सफल आरोहणसँगै सौर्य र मेदिना एकअर्कालाई प्रेम गर्न थाल्छन् र बाँकी जीवन सँगै बिताउने निधोमा पुग्छन्। आजादले आफ्नी छोरीलाई सगरमाथा शिखरको ढुंगो ल्याइदिने प्रतिज्ञा गरेको छ। उनीहरू सगरमाथाको सफल आरोहण गर्छन्। तर आरोहणबाट फर्किने क्रममा हिउँ पहिरोमा परेर आजाद मर्छ। र, उपन्यास टुंगिन्छ।

उपन्यासमा जनयुद्धका विभिन्न घटनाहरू पूर्वस्मृतिका रूपमा आएका छन्। हिमाल आरोहणको दैनिकी र जनयुद्धका घटनाहरू तुलना गर्दै उपन्यासका घटनाहरूको विन्यास गरिएको छ। सगरमाथा आरोहणका कष्टलाई उपन्यासले सजीव रूपमा उतारेको छ। मानिस कृतिमान खडा गर्न कसरी ज्यान छाडेर लाग्छ भन्ने कुराको सूक्ष्म अनुभूति यसले दिन्छ।

सगरमाथा आरोहणमा गाइडका रूपमा रहेका शेर्पाको भूमिका र उनीहरूको पेसाका चुनौतीका बारेमा राम्रो चित्रण छ। सरकारले हिमाल आरोहणका विषयमा लिएका नीति र गरिने क्रियाकलापमा रहेका कमजोरीहरूमाथि यसले सूक्ष्म रूपमा बताउँछ। उपन्यासमा कतैकतै अल्लारे बैंसका सन्दर्भको हल्काफुल्का टिप्पणीहरू पनि छन्। ती पाठकका लागि राखिएका चटनी हुन्। आरोहणमा प्रयोग हुने प्राविधिक शब्दको प्रयोगमा लेखकको बढ्तै मोह देखिन्छ। यसले केही ठाउँमा विवरणहरू थोपरिएको जस्तो पनि लाग्छ। तर सगरमाथा आरोहण जोसुकैको वशको कुरा होइन र सगरमाथा चढ्नेले नै लेख्ने कुरा पनि विरलै जस्तो हुने हुनाले यस्तो प्रयोगलाई अस्वाभाविक भन्न मिल्दैन।

उपन्यासको शीर्षक प्रतीकात्मक छ। छोरीका लागि शिखरको ढुंगो ल्याइदिएको देखाएर भावी पुस्ताका लागि गणतन्त्र ल्याइदिएको हो भन्न खोजिएको छ। सगरमाथा आरोहण र जनयुद्धलाई तुलना गर्दै यिनमा सामीप्य खोज्ने प्रयत्न भएको छ। उपन्यासले एकैसाथ इतिहास सम्झाउँछ, सगरमाथा क्षेत्रको जीवन र संस्कृतिको चित्रण गर्छ। यौन, प्रेमजस्ता मानवीय संवेदनालाई राम्रोसँग जगाउँछ, जनयुद्धको औचित्य स्थापित गर्छ र हिमाली पर्यावरणीय संरक्षणको आवश्यकता अनि शेर्पा जातिको योगदानको महत्तालाई राम्ररी सम्झाउँछ। त्यसैले यो उपन्यास नेपाली उपन्यास परम्परामा एउटा महŒवपूर्ण प्राप्ति बनेर आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.