डोल्पामा १५ वर्ष यताकै भारी हिमपात, एक साताका लागि विद्यालय बन्द
डोल्पा : फागुनमा १५ वर्ष यताकै ठूलो हिमपात भएको छ। समुन्द्र सतहबाट २ हजार मिटरको उचाइमा रहेको डोल्पा सदरमुकाम दुनैमा १६ इन्च हिउँ जमेपछि १५ वर्ष यताकै सबैभन्दा ठूलो हिमपात भएको स्थानीयले बताएका छन्।
फागुनमा भएको यो हिमपात १५ वर्ष यताकै ठूलो हिमपात भएको स्थानीय ६९ वर्षीय मनरुप लामाले बताए। दुई दिनसम्म निरन्तर हिउँ परेपछि डोल्पाको जनजीवन प्रभावित भएको छ। डोल्पामा ४ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ। हिमपातले जिल्ला नाका बन्दी भएका छन्।
बुधबार बिहानदेखि परेको हिउँबाट वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन्। सरकारी कार्यालय समेत बन्द छन्। जिल्लामा भरखरै मात्र खुलेका विद्यालय एक साताका लागि फेरि बन्द गरिएको शिक्षक हिराबहादुर थापाले जानकरी दिए।
कर्मचारीले हिउँ फालेपछि नमस्ते र इन्टरनेट चल्यो
निरन्तरको हिमपातले डोल्पामा दुईदिनसम्म सञ्चारविहीन भएको छ।मंगलबार साँझदेखि सञ्चार बिच्छेद भएको डोल्पामा बिहीबार बिहान ११ बजे मात्रै टेलीकमका सेवा सूचारु भएको छ। दूरसञ्चार कार्यालय दुनैमा राखिएका सोलार प्यानलमा जमेको हिउँ कर्मचारीले फालेपछि मात्रै टेलीकमका सेवाहरु पुन: सूचारु भएका हुन्।
दुई सातादेखि दुनैमा विद्युत सेवा बन्द भएपछि सोलाराको पावरले मेसिन नचल्ने भएपछि दुईदिनसम्म सञ्चारबिहीन भएको दूरसञ्चार कार्यालय प्राविधिक नवराज भट्टराइले जानकारी दिए। विद्युत सेवा बन्द भएसँगै जिल्लामा सञ्चार भरपर्दो नभएकाले नागरिकले निकै कष्ठ भोगिरहेका छन्। विद्युत सेवा नभएको र सोलारले मात्रै पावर नपुग्ने भएको कारण बारबार बन्द हुने गरेको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ। बिमानस्थलको हिउँ नफालिए एक सातासम्म नखुल्ने सम्भावना रहेको जुफाल बिमानस्थलले जानकारी दिएको छ। बिमानस्थलामा २ फिट हिउँ जमेको छ।