फलफूलका बोट : आम्दानीका स्रोत

फलफूलका बोट : आम्दानीका स्रोत

बैतडी  : ३० वर्ष अघिसम्म जिल्लाका दशरथचन्द नगरपालिका किसानलाई परिवार पाल्न निकै धौ–धौ हुन्थ्यो। उनीहरु परिवार पाल्न भारतकै भर पर्थे। सीमावर्ती भारतीय बजार झुलाघाटमा गएर त्यहाँबाट सामग्री ल्याएर गाउँगाउँमा बिक्रि गरेर परिवार पाल्नुपर्ने बाध्यतामा थिए गुरुखोला बासी। 

मिहिनेत गरे माटोमा सुन फलाउन सकिन्छ भन्ने उखानलाई पछिल्लो समयमा दशरथचन्द नगरपालिका १ गुरुखोलाका किसानले सार्थक पारेका छन्। लगभग ३० वर्ष अघि सुख्खा फलफूल विकास केन्द्र (तत्कालीन वागवानी विकास केन्द्र) ले फलफूलका बिरुवा उत्पादन गर्ने सीप दिएपछि यहाँका केही किसानहरु व्यवसायिक रुपमै फलफूलका बोटविरुवा उत्पादन कार्यमा लागेका छन्। घरपरिवार पाल्नका लागि भारत जाने उनीहरु अहिले वार्षिक ५ लाखको हाराहारीमा आम्दानी गरिरहेका छन्। 

दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोला र सुर्नया गाउँपालिकाको वडा नं २ वासुलिंगमा अहिले २२ ओटा फलफूलका निजी नर्सरी छन्। जिल्लाका यी दुईओटा वडाबाट मात्रै चालु आर्थिक वर्षको अहिलेसम्म डेढ लाख फलफूल विरुवा बिक्रि वितरण भइसकेका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले बताए। 

उनले भने ‘अहिले हिउँदे फलफूलका बिरुवाहरु किसानले बिक्रि गरिरहेका छन्। देशका विभिन्न स्थानबाट फलफूलका बिरुवाको माग भइरहेको छ। सोही माग अनुसार किसानले बिरुवा बिक्रि वितरण गरिरहेका छन्।’

दशरथचन्द नगरपालिका १ गुरुखोला पालीका देवदत्त भट्टको मायाप्रकाश बहुउद्देश्यीय निजी नर्सरी अहिले १५ रोपनी जमीनमा छ। निजी नर्सरीमा उनले हिउँदे र वर्षे फलफूलका गरी करीब डेढ लाख बोट विरुवा राखेका छन्। उनले भने ‘मैले फलफूलका बोट बिरुवामात्रै बिक्रि गरेर वार्षिक रुपमा ५ लाख बढी कमाउँछु। करीब ६० लाख हाराहारी मूल्यका बोटविरुवा उत्पादन गर्ने लक्ष्य लिएको छु। मेरो नर्सरीमा स्याउ, ओखर, खुर्पानी, आरुबखडा जस्ता हिउँदे फलफूलका बिरुवा छन् भने सुन्तला, जुनार, अमिलो जस्ता वर्षे फलफूलका बोटबिरुवा छन्। यो सिजनमा हिउँदे फलफूलका बिरुवा बिक्रि गरिसकेको छु।’

देवदत्त जस्तै दशरथचन्द नगरपालिका वडा नं १ गुरुखोला गणेशदत्त भट्ट पनि फलफूलका बिरुवाबाटै वार्षिक ३ लाखको हाराहारीमा कमाउँछन्। उनले भन्े ‘फलफूलका बोटविरुवा उत्पादन गरी बिक्रि गर्नु हामी किसानको गतिलो आम्दानीको श्रोत हो। यता उत्पादन गरेका बोटबिरुवाको सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका साथै सुदूरपूर्व र काठमाडौँसम्म बिक्रि हुन्छन्। यो वर्ष हिउँदे फलफूलका बिरुवाको माग धेरै आएको छ। माग अनुसार पूर्ती गर्न सकिने अवस्था छैन।’

भट्टले अघि थपे ‘मेरो  निजी नर्सरी हिउँदे फलफूलका बिरुवा किन्नका लागि बझांगका विभिन्न गाउँपालिकाले माग गरेका छन्। मेरो नर्सरीमा भएका सबै बिरुवा बिक्रि भइसकेका छन्।’

हर्कले निजी नर्सरीका सञ्चालक जयबहादुर टेरले पनि फलफूलका बिरुवाबाट घरपरिवार चलाउन सजिलो भएको बताए। उनले भने ‘हामीले फलफूलका बोटबिरुवा बिक्रि गरेर वार्षिका ३ लाख बढी कमाइ गर्ने गरेका छौं। यो वर्ष पनि २ लाख बढीको बिरुवा बिक्रि होला भन्ने आशा लिएको छु।’

राजेन्द्र निजी नर्सरीका सञ्चालक वीरबहादुर टेरले यो सिजनमा ३ लाख बढीका हिउँदे फलफूलका बिरुवा बिक्रि गरेको बताएका छन्। उनले भने ‘मैले नर्सरीबाट वार्षिक ३ लाखदेखि ५ लाखसम्म कमाउने गरेको छु। घरपरिवार पाल्न नर्सरीबाटै आम्दानी भइरहेको छ।’

फलफूलका बोटविरुवा भएका निजी नर्सरी सुदूरपश्चिमका पहाडी जिल्ला मध्ये बैतडीमा मात्रै रहेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुनबहादुर खड्का बताए। उनले भने ‘सुख्खा फलफूल विकास केन्द्रले स्थानीयलाई तालिम दिएपछि निजी नर्सरीमा किसानको आकर्षण बढेको हो। बैतडीबाट वार्षिक डेढ लाखको हाराहारीमा बोटबिरुवा निर्यात हुने गरेको छ। यसमा निजी नर्सरी सञ्चालकले नै बढी बोट बिरुवा बिक्रि गरिरहेका छन्।’

फलफूलका बिरुवा उत्पादनमा लागेका किसानलाई तालिम तथा बजारीकरणको लागि सुख्खा फलफूल विकास केन्द्रले पनि सहयोग गरिरहेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रसिंह ठगुन्नाले बताए। उनले भने ‘सुख्खा फलफूल केन्द्रको पनि आफ्नै नर्सरी छ। त्यो नर्सरीले मात्रै माग धान्न सक्तैन। हामीले निजी नर्सरी सञ्चालकका बोटबिरुवाको बजारीकरणमा सहयोग गर्दै आएका छौं।’

विं.सं २०१९ सालमा सतबाँझमा बागवानी विकास केन्द्र स्थापना भएको हो। त्यसपछि सुख्खा फलफूल विकास केन्द्रको नामले कार्यालयको नाम राखिएपछि किसानलाई फलmफूलका नर्सरी बनाउने तालिम दिन सुरु गरिएको हो। फलफूलका नर्सरी बनाउने तालिम पाएदेखि नै आफूहरु नर्सरी निर्माणको कार्यमा लागेको र यसले सफलतासमेत दिएको किसान देवदत्त भट्टले बताए। 

गुरुखोलाका निजी नर्सरी सञ्चालकले आफ्ना नर्सरीमा बोटविरुवा उमार्नदेखि लिएर काँटछाँट पनि आँफै गर्ने गर्दछन्। यसले गर्दा उनीहरुलाई नर्सरीमा समय बितेको थाहा नै हुँदैन। आफ्नै माटोमा पाखुरी बजाएर आम्दानी गर्न पाउँदा निकै खुशी लाग्ने गरेको राजेन्द्र नर्सरीका सञ्चालक वीरबहादुर टेरले बताए। उनले भने ‘हामीले सञ्चालन गरेको पेशा व्यवसाय युवा समुदायका लागि सिकाइको श्रोत हो। हामीले युवा अवस्थामै फलफूलका बिरुवा उत्पादन गर्न थालेका हौं। गाउँका बेरोजगार युवाहरुले पनि यो पेशा अपनाए आर्थिक उन्नति हुनेमा दुईमत छैन।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.