पर्सालाई उपाधि : दुई क्रिकेटरले चप्पलमै मेडल र प्रमाणपत्र लिए
राजविराज : आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर २ स्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि पर्साले जितेको छ। पर्साले शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सप्तरीलाई तीन विकेटले हराउँदै उपाधि हात पारेको हो। पविमाविको मैदानमा भएको रोमाञ्चक खेलमा पर्साले पाएको एक सय ४१ रनको लक्ष्य अन्तिम ओभरमा छक्का प्रहार गर्दै भेट्टाएको थियो।
पर्साका लागि हासिम अन्सारीले २९, सोनु अन्सारीले २५ र सइदुल्लाह अन्सारीले २३ रनको योगदान गरे। सप्तरीका विवेक यादवले तीन तथा महबुव आलम, रोहित सिंह र विकास दासले एक÷एक विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको सप्तरीले २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै एक सय ४० रन बनाएको थियो। सप्तरीका लागि रोहित विकले ५४ र महबुब आलमले २५ रन बनाएका थिए। पर्साका बलर सोहेल हवारीले तीन तथा सइदुल्ला अन्सारी र फिरोज अन्सारीले दुई-दुई विकेट लिए।
यसैगरी तेस्रो स्थानमा लागि शुक्रबार नै भएको खेलमा सर्लाहीले बारालाई २९ रनले पराजित गर्यो। सर्लाहीका लागि सोहन यादवले ३२, सुभाष पण्डितले २७ र सम्साद सेखले २३ रन बनाए। बाराका अहिल खाँ र भुलबन सहनीले दुई-दुई विकेट लिए। जवाफमा बाराले आठ विकेटको क्षतिमा एक सय १० रन मात्र बनाउन सक्यो। बाराका तीर्थराज दासले ३० र शिव तण्डुकारले २० रन बनाए। सर्लाहीका बलर सन्दिप खडका र म्यान अफ दी म्याच घोषित सम्साद सेखले दुई-दुई विकेट लिए।
विजयी टोली र खेलाडीलाई जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धीरेन्द्र बर्मा, कार्यालय प्रमुख दिनेश भुजेल, राजविराज वडा नम्बर ५ का अध्यक्ष समीर झा, प्रतियोगित संयोजक रवि राय लगायतले पुरस्कार वितरण गरे।
प्रतिक्रिया दिनुहोस !