नगरका योजनाकार थिए युवराज

नगरका योजनाकार थिए युवराज

दमक : हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका उपसचिव युवराज दाहाललाई विकासप्रेमी प्रशासक भनेर दमकवासीले सम्झना गरेका छन्। दमक नगरपालिकामा प्रशासकीय अधिकृत भएर दाहाल तीन वर्षभन्दा बढी समय बसेका थिए। त्यस बेला गरेका विकास र जनसेवाका कामको सम्झना स्थानीयले गरिरहेका छन्।

‘उहाँमा नेतृत्वकर्तामा हुनुपर्ने सर्वगुण थियो’, मेयर रोमनाथ ओलीले भने, ‘सबैलाई विश्वासमा लिएर काम गर्ने क्षमता थियो। यस्ता कुशल प्रशासक गुमाउनुपरेकोमा एकदमै दुःखी छु।’ दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले नीडर र निष्ठावान् प्रशासकका रूपमा स्मरण गरेका छन्। नगरको विकासका लागि निर्वाह गरेको भूमिका स्थानीयले सधैं स्मरण गरिरहने उनको भनाइ छ।

दाहालले दमकलाई देशकै उत्कृष्ट नगरका रूपमा चिनाउनुका साथै विभिन्न महत्त्वाकांक्षी योजना भित्त्याएका थिए। राष्ट्रिय गौरवका आयोजना केही सुरुवाती चरणमा छन् भने केही सुरु हुन बाँकी छन्। उनले नगरको मुहार फेर्ने दीर्घकालीन योजना ल्याएका थिए। उनी हुँदा हरित नगर, समृद्ध दमकको दूरदृष्टि निर्धारण गरिएको थियो। बृहत् औद्योगिक क्षेत्रको अवधारणा ल्याइएको थियो, जुन चिनियाँ लगानीमा निर्माणको चरणमा छ।

औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण गरी धमाधम मुआब्जा वितरण भइरहेको छ। विश्वकै अग्लो बुद्ध मूर्तिसहितको पार्क बनाउने योजनासमेत उनले अघि सारेका थिए। लुम्बिनीलाई बुद्ध सर्किटका रूपमा जोड्ने गरी पार्क बनाउने उनको योजनाअनुरुप काम अघि बढिरहेको छ। वडा नम्बर मा जग्गा व्यवस्थापनको काम भइरहेको छ। अत्याधुनिक सुविधासम्पन्न भ्युटावर निर्माण योजनासमेत उनले ल्याएका थिए।

उनकै योजनाअनुसार दमक सभागृह निर्माणाधीन छ। पहिलो नगरसभाबाट धिमाल जातिलाई पहिलो नागरिकका रूपमा घोषणा गरियो। ग्रिनबेल्ट, फोहोर व्यवस्थापन, बाटोघाटो उनकै पालामा व्यवस्थित भएका थिए। उनले नगरलाई कसरी अघि बढाउन सकिन्छ भनेर विभिन्न मुलुकको अभ्यासबारे अध्ययन गरेका थिए। स्थानीय निर्वाचनपछि जनप्रतिनिधिलाई स्थानीय सरकारको नेतृत्व प्रदान गरेर उनी प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएका थिए।

नगरपालिकामा तीन वर्ष बस्दा गरेका विकास र जनसेवाका कामको स्मरण दमकवासीले गरिरहेका छन्।

प्रधानमन्त्रीको स्वकीय सचिवालयका होम थापाले उनलाई मिलनसार र योजनाका द्रष्टाका रूपमा सम्झिएका छन्। थापाका अनुसार उनी राष्ट्रको समृद्धिका लागि दिन–रात मिहिनेत गर्थे। कसैलाई बिझाउँदैनथे। सबैलाई साथै लिएर हिँड््ने व्यक्ति थिए। कांग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले दाहाल विकासप्रेमी भएको स्मरण गरेका छन्। भण्डारीका अनुसार उनी राजनीतिक प्रभावमुक्त भएर काम गर्थे। वडासदस्य मीना विश्वकर्माले सबैको भावना बुझेर काम गर्ने प्रशासकका रूपमा सम्झिएकी छन्।

नगरका कर्मचारीले कुशल प्रशासकका रूपमा सम्झिएका छन्। राजनीतिक अस्थिरताका बीच समग्र नगरको रूप खिच्न दाहाल सफल भएको उनीहरूको बुझाइ छ। पाँचौं तहको कर्मचारीका रूपमा दाहालबाटै नियुक्ति लिएका प्रकाश दुलालले योजना द्रष्टाका रूपमा लिएको बताए। उनका अनुसार जनप्रतिनिधि नभएको अवस्थामा पनि दाहालले नगरलाई चलायमान बनाएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.