कुशल
फागुन महिनाको एक बिहान। घर्याक्क झ्याल खोल्दा हिमालको हिउँ नै पग्लिएर बहेझैं लाग्ने चिसो हावाले मुटुमै हाने जस्तो भएको थियो। उनलाई मेरो ढोकामा उभिइरहेको देख्दा मलाई त्यस्तो भएको थियो।
सिरिंग।
उनका आँखाले। अलौकिक रङ भरिएका। मसँग खुसुक्क साउती मारिरहेका ती खैरा आँखा। खैरा पनि होइनन्, डढेको सुन्तले कलेवरका। त्यस्ता आँखा त बिरालाका मात्र हुन्छन्।
उनीसँग आँखा जुध्दा उनले झुकाइनन्। बरु अघि साउती मारिरहेका ती नजर अब बोल्न थाले, चिच्याउलान् जस्तो गरे, एउटा याचना टलपलाउन थाल्यो त्यो जादुई तहमा...
‘आउनुस्,’ मैले बोल्नैपर्यो।
उनी थपक्क मेरो अघिको कुर्सीमा बसिन्, फाइल मतिर सारिन्।
नाम ः सर्वा थापा। उमेर ः २३ वर्ष। ठेगाना ः बालकुमारी।
‘भन्नुस् सर्वाजी, के समस्या छ ? ’ मैले खाली पानामाथि कलम सोझ्याउँदै सोधेँ।
उनले टाउको हल्लाइन्। केही छैनको अर्थमा।
उनको छरपस्ट केश अनुहारभरि लत्रियो। कपाल नै नकोरी आए जस्तो। इस्त्री नगरी जीउमा छिराएको कच्याककुचुक कुर्ता सुरुवाल, त्यसतल नमिल्दो पुरानो कपडाको जुत्ता, नङ चबाएर फेदमै पुग्न लागेका टिठलाग्दा औंला। बुच्चै कान, नांगो नाडी, जोडिनै लागेका आँखीभौं, ओठमाथि हलुका रौं। ओठ त अझ कलेँटी परेर बैजनी हुन लागेका। त्यो रुखो हबिगत अनि ती एकजोडी वाचाल आँखा।
यस्ता मसिना कुरा याद गर्ने हाम्रो बानी परिसकेको हुन्छ। बिरामीको मनोदशा कहिलेकाहीँ यसैले बताउँछ। तर अनुमानले पुगेन, बिरामी आफैंले भन्नु पनि त पर्यो।
मैले स्वर नरम बनाएँ, ‘केही सोचेरै मलाई भेट्न आउनुभएको होला, निर्धक्क सुनाउन सक्नुहुन्छ।’
उनका ओठ हल्का खुले, आवाज खुलेन।
‘घरमा समस्या ? ’ मैले अड्कल काटेँ।
उही टाउको हल्लाइ। दायाँ–बायाँ, दायाँ–बायाँ।
‘ श्रीमान् ? ’ मैले सोधेँ, ‘तपाईंहरू सोच्न पनि सक्नुहुन्न, फेसबुकमा ‘संसारकै असल पति’ भन्दै तस्बिर राख्ने कति महिलाहरू उही पतिले दिएको चोट सहन नसकी मकहाँ आउनुहुन्छ।’
यसपालि टाउको झन् छिटो हल्लियो। हुँदै होइन।
‘पढाइ ? ’ नाइँ।
‘व्यापार, काम ? ’ उफ् !
‘प्रेम ? ’
यसपालि उनी चल्मलाइनन्। प्रेम, मायालु आवरणले आफूलाई सर्लक्क ढाकेर, भित्रभित्रै कतिको जिन्दगी उजाड्छस् ?
‘प्रेमी ? ’ मैले थपेँ।
बिस्तारै मुन्टो हल्लियो। होइन।
‘तपाईंसँग कोही आउनुभएको छ ? ’ मैले अर्को तरिका खोजेँ।
‘छैन,’ बल्ल उनको मसिनो आवाज निस्कियो। बोल्नै बिर्सेको मान्छेले शब्दहरूलाई जिब्रोमा अप्ठेरो मान्दै खेलाए जस्तो।
मैले मोबाइलमा समय हेरेँ। १० मिनेट गइसकेको थियो – म एउटै बिरामीलाई यति धेरै समय कसरी दिन सक्छु र ? बाहिर खटिएका कर्मचारीले ढोका ढकढक्याउने बेला नाघिसक्यो।
‘समस्या भन्नुस्,’ अलि खरो भएर भनेँ।
उनका सुन्तले आँखा आत्तिए। उनको हडबडाहट, उनीभित्रको गुम्स्याइ, त्यो अव्यक्त त्रास एक निमेषलाई मेरो मनले पनि चाख्यो।
सयौं बिरामी मकहाँ आए, दुःख बिसाए, केही सहयोग पनि पाए। तर यो शक्तिशाली, सत्य, काँचो पीडाको भार त मैले आजसम्म बोक्नु परेको थिएन।
मलाई उनीबारे जान्न मन लाग्यो। पत्रपत्र केलाएर, उनका मनका क्लेश हटाएर, निक्खर गुलाबी मुटु फिर्ता दिने रहर जाग्यो।
‘म तपाईंलाई सहयोग गर्न बसेको हुँ,’ मैले भनेँ। यसरी भनेँ, कि उनी महारानी हुन् र म उनको सेवक। उनले दुःखका बीउ मेरा वरिपरि छरिदिए, म ती सबलाई रोपेर, स्याहारेर, सप्तरंगी फूलमा परिणत गरेर उनलाई टक्र्याउनेछु।
‘मलाई...’ उनले सुरु गरिन्।
‘भन्नुस्...।’
‘मलाई मर्न मन लाग्छ, डाक्टर !’
उनी कोठाभित्र छिर्दै गर्दा उनका गहमा मैले पढेको वेदना यही रहेछ।
फेरि उसैगरि झसंग भएँ।
ओहो ! उनले मलाई नभनीकनै आत्महत्या गरेकी भए ?
कति निस्सार हुने रहेछ, मेरो जीवन।
मुहारमा मैले रत्तिभर परिवर्तन आउन दिइनँ। उनको फाइलमा लेखेँ, ‘सुसाइडल टेन्डेन्सिज।’
‘यस्तो कति पटक लागेको छ ? ’
‘दिनमा कति पटक सास फेरिन्छ ? ’ उनका ओठ तीतो हाँसोमा खुम्चिए। ‘म बाँच्न मन भएर होइन, मर्न काँतर भएर यो धर्तीको बोझ बनिरहेकी छु।’
‘के भनेकी त्यस्तो ? ’ मायालु गाली मेरो मनमा आयो।
तर बाहिर निकाल्नु भएन। बरु खोजी सुरु गरेँ, ‘कुनै कारण ? ’
आँखामा आँसु टलक्कै टल्किए। उनले झुकेर सलले पुछिन्। दुवै चुप।
‘कुनै घटना घटेको थियो कि ? ’ मैले चिकित्सकीय बाटो समातेँ।
त्यो उत्तर सुन्नै डर लाग्यो मलाई। मुटु यति जोडले धड्किन थाल्यो, उनले पनि सुनिन् कि ?
त्यसको आवाज नै दबाउने गरी लामो सास फेरिन्।
‘कारण... के भनौं र, घरकी कान्छी छोरी हुँ, पढाइमा कहिल्यै दोस्रो हुनु परेको छैन, भर्खरै काम सुरु गरेकी छु। विलक्षण, सम्पन्न, भाग्यमानी – मलाई वर्णन गर्न यी उपमा प्रयोग गरिन्छन्। तर पनि म खुसी छैन, पूर्ण छैन। मलाई रित्तो लाग्छ हरेक दिन, सम्बन्ध घाँडो लाग्छन्, तत्कालै सबैबाट फुत्किएर भाग्न मन लाग्छ। लाग्छ, मैले जुन उत्कृष्टता खोजिरहेकी छु, त्यो अप्राप्य छ।’
मैले सुनेझैं गर्दै थिएँ। दृष्टि उनकै वरपर दौडिँदै थिए। फुटेर चिरा पर्न मात्र बाँकी उनका गाला, बेवास्ता गरी लगाएर एउटा टाँकघर भित्र नछिरेको कुर्ताको टाँक, एकअर्कालाई निचोर्न व्यस्त उनका मरन्च्याँसे औंला।
‘छैन भनौं भने यो देशको युवाले चाहने हरेक कुराभन्दा बढी नै छ मसँग, तर छ भनौं भने गरिबभन्दा गरिब मान्छेको झुपडीमा भएको एउटा अन्न जतिको सन्तुष्टि पनि मभित्र छैन,’ उनले भनिन्।
‘भन्दै जानुस्,’ मैले उक्साएँ। फाइलमा लेखेँ, स्ट्रेस ? एन्जाइटी ?
‘अन्धकार छ मेरो संसार, एउटा निष्पट्ट कालो रात। जूनको एकै झिल्को उज्यालो पनि मेरो कलुषित आत्मा देखेर तर्सन्छ, कसैको मृदु मुस्कान केरो ढुंगा जस्तो मुटुमा ठक्कर खाएरै बिलाउँछ, एक त्यान्द्रो आशा मेरो मनको रापमा डढेर खरानी हुन्छ।’ अब ती आँसु उनका राता गाला पहिल्याउँदै घाँटीतिर खसे।
मैले उनीतिर टिस्यु बक्स सारिदिएँ। मकहाँ आउने प्रायः हरेक मान्छे रुन्छन्, कोही आवेगमा, अरू विषादमा। तयारी गर्नैपर्यो। उनले मुख यस्तो बल गरी पुछिन्, एक पत्र च्यातौंला जस्तो।
‘मेरा सबै चाहना र रुचि मरिसके,’ उनी भन्दै गइन्, ‘लास जस्तो यो शरीरलाई यताबाट उता घचेट्दै छु। थाहा छ, तपाईंले पनि एक थुप्रो मीठा शब्द र एक पाउ औषधि जोखेर फिर्ता पठाउनुहुन्छ। तर मसँग अरू केही उपाय छैन। अब तपाईंको लेक्चर सुन्ने, गोली खाने, ठीक भएको स्वाङ पार्ने। थाल्नुस्।’
हरे, यो केटी। आफूलाई कति बुझक्की सम्झिन्छे, तर वास्तवमा छे कति अनभिज्ञ, कस्ती निश्छल। डराउँदै छे, मैले उसलाई ठीक पार्न सक्दिनँ, उसलाई छोडिदिनेछु, अन्य कयौं जस्तो सहानुभूति मात्र जताएर उसलाई दलदलमा धकेल्नेछु। उसको एक्लोपनको आवाज हो त्यो, असुरक्षाको भाव छोप्ने प्रयास। मैले एमडी गरेकै ६ वर्ष भइसक्यो, कस्ताकस्ता केस हेरिसकेँ, यति सामान्य कुरा पनि बुझ्दिनँ र !
‘म तपाईंलाई लेक्चर दिन्नँ,’ मैले फाइल बन्द गरेँ, ‘तर तपाईंका अन्तिम शब्द नसकिएसम्म सुनिरहन्छु।’
उनले नपत्याए जसरी हेरिन्। मैले फोन झिकिदिएँ, अघिदेखि चियाउन खोजिरहेको भाइलाई बिदा गरेर पकाइदिएँ, बाँकी सबै बिरामी बिर्सिएर उनका कुरा सुनिरहेँ।
उनको कथन झरना जस्तै झरझर झरिरह्यो, म उनका भावनामा भिजिरहेँ। सुनेँ, उनका अन्तरकुन्तरमा लुकेका भय, उनलाई निसास्सिन बाध्य बनाउने अनुभूति, उनका सुकिसकेका सपनाहरू, थन्किसकेका आकांक्षाहरू। सबै मेरो सामु खुलस्त पारेपछि उनले पुलुक्क मतिर हेरिन्।
‘यस्तो अजंगको भारी बोकेर म जीवन कति घिसारिरहूँ ? ’
आजदेखि भरिया पाइहाल्यौ त, मैले भन्न चाहेँ।
बाहिर चाहिँ भनें, ‘कहिलेकाहीँ यस्ता विचार आउँछन्, आत्तिहाल्नुपर्दैन। तपाईंलाई निद्रा नलाग्ने, छटपटी हुने, बाँच्ने इच्छा नलाग्ने सबै तनाव र डिप्रेसनकै लक्षण हुन्। शरीर स्वस्थ राख्नुस्, व्यायाम गर्नुस्, मन सकेसम्म शान्त राख्नुस्। अहिलेका लागि यी दुइटा दबाइ लिनुहोला, एक हप्तापछि आउनुस् है।’
उनले फाइल समातिन्, मधुर तर मीठै मुस्कान दिइन्।
०००
अर्को हप्ता उनी कोठामा छिर्दा मुस्कान यथावत् थियो।
‘कस्तो छ तपाईंलाई ? ’ मैले कुरा थालेँ।
‘त्यो औषधि किन्दा त पसलको रजिस्टरमा साइन पो गर्न लाउँदो रैछ, है डाक्टर !’ बालिकाको जस्तो आश्चर्य थियो, उनको स्वरमा।
‘हो नि,’ म हाँसेँ, ‘खानु भयो त ? ’
‘एभ्रिडे, डाक्टर !’ आज उनी मलाई चरा जस्तो लाग्दै थिइन्। अझै पनि भावनाको पिँजडामा कैद, तर बाहिर आउन पखेटा फटफटाउन थालेकी।
‘एकै हप्तामा खासै केही फरक त हुन्न...।’
‘होइन, निद्रा लाग्न थाल्यो, खानामा रुचि नि बढेको छ, मन त्यति सारो अस्थिर होइन कि झैं भाछ,’ उनले औंला भाँच्दै सुनाइन्।
‘गुड, गुड,’ म फुरुंग परेँ। आवरण भने गम्भीर बनाइराखेँ।
‘तर अलि पेट गडबड भइरहेको छ,’ फेरि उही सानी बच्चीले आमालाई कुरा लाए जस्तो।
‘त्यो त साइड इफेक्ट हो नि,’ मैले सम्झाएँ, ‘आज अरु केही सुनाउनु छ ? ’
उनलाई धेरै सुनाउनु थियो। पल्याकपिलिक खुसीका रेखा देखा परेको उनको जीवन अझै पनि उनलाई उस्तै उच्चाट लाग्थ्यो। ‘अझै ३०, ४० वर्ष कसरी बिताउने हो, सोचेरै गलिसकेँ,’ उनी मलिन भइन्।
३०–४० वर्ष ? अब गल्ने पालो मेरो। भर्खरै त भेट हुँदै छ, सर्वा, चिन्न कति समय लाग्ने हो। तिमीमा भुलेर मेरा एकदुई दशक त पग्लिजान्छन्, अनि बाँकी कति समय बिताउनु म तिमीसँग ?
उनलाई ढाढस दिएँ, औषधि थपिदिएँ। मलाई आएको स्याम्पलबाट नै दिइदिएँ।
एक हप्ता काट्न मलाई औधी कष्ट भो। कहिले ती बिराली–आँखे आउलिन्, बह पोख्लिन्, म सम्झाउँला, मतिर भुलाउँला।
फेरि आफैंलाई गाली गर्थें, यो कस्तो चाला हो ? हरेक चिकित्सकलाई थाहा छ, आफ्ना बिरामीसँग केवल पेसागत सम्बन्ध मात्र हुनुपर्छ। प्रण गरेका हुन्छौं, हामीले, पेसाको इमान नै यही हो।
हो, तर...
मेरो मन भड्किसक्यो, अब समाउँ कसरी ?
पाँचौं हप्तासम्म म उनको पदचाप चिन्ने भइसकेको थिएँ। अलि खुट्टन लतारेर हिँड्थिन्, कदम चाल्न बोझिल भए जस्तो। यसमा पनि म स्फूर्ति भरिदिनेछु, मैले प्रण गरेँ।
सधैंझैं उनी आइन्, ज्यानका सबै व्यथा बिसाएर हलुका हलुका बनिन्। उनी बोल्दै गर्दा उनका आँखामा हेरेँ मैले, नैराश्य अलिअलि घटेकै थियो। उनका अ श्रुपूर्ण कथामा कहीँकहीँ उल्लासका थोपा झर्न लागेका थिए। उनी स्वयं भन्थिन्, केही त फेरिएको छ।
छिटोभन्दा छिटो सबथोक बदलियोस्, म यही चाहन्थेँ। उनी जिन्दगीसँग प्रेम गर्न थालून्, र प्रेम गरुन् मैसँग पनि। म उनको चिकित्सकको पदबाट हटौँ, उनको जीवनसाथीको दर्जामा उक्लिऊँ। म कुर्दै थिएँ, उपयुक्त समय।
एक पटक उनले आफ्ना कालाकाला सपनाहरू सुनाउँदै गर्दा, डरैडरमा मेरो हात समातिन्। मैले सुस्तरी हटाइदिएँ। मलाई रहर थिएन होला र, ती औंलामा मेरा औंला घुसारेर उनका शब्दवर्षामा रमाउने ? रहर मारेँ मैले तत्क्षण, मेरो समय कुर्दै बसेँ। उनले आफ्नो अञ्जुलीमा घोप्टिइघोप्टिई रुँदा मैले मेरो काँध तेस्र्याउन सकिनँ, उनले आफ्नो प्रगति सुनाउँदै हलुका हातले मलाई प्याट्ट हिर्काउँदा मैले फर्काउन पनि सकिनँ।
हाम्रो आठौँ भेट। उनको लवाइ र बोलीचाली त खासै फरक भएका थिएनन्। तर उनका ती दुई आँखाभित्र मैले तारा टिलपिलाएको देख्थेँ। दुई निराश, हतास सागरबाट ती घामका किरणमा परिणत भइसकेका थिए। मेरो सेतो कोटको काम सकिनै लागेको थियो, उनको बेहुला भएर कालो कोट लाउने इच्छाले जग हालिसकेको थियो।
र त्यसपछि उनी हराइन्।
हराउन त के हराउँथिन्, यो विशाल सहरको कुनै कुना ओगट्न मस्त थिइन्, तर मेरो क्लिनिकमा देखा पर्न छाडिन्।
अन्तिम पटक उनी आँउदा उनका आँखा नाचिरहेका थिए। उन्मक्त भएर होइन, आनन्दले स्लो डान्स गरे जस्ता। उनलाई पहिलो पटक जिस्क्याएको थिएँ, ‘आज त चालामाला नै अर्कै छ त ? ’
उनी खितिति हाँसिन् ‘छ्या !’
‘अब तपाईंलाई मेरो आवश्यकता छैन,’ मैले कुरा मोडेँ, ‘औषधिको डोज सकियो, इम्प्रुभमेन्ट तपाईं नै मलाई सुनाउँदै हुनुहुन्छ। ध्यान गर्दै गर्नुस्, धेरै मन नडुलाउनुस्, अनि तपाईंलाई कुनै पनि बेला म चाहिए यहीँ छु, है।’
त्यो ‘है’ मा मेरो ज्यानै अड्किएको थियो, उनलाई पोख्न नसकेको सबै माया समेटिएको थियो।
‘हस्,’ उनले जवाफ फर्काइहालिन्, ‘मलाई तपाईं सधैं चाहिन्छ नि ! नत्र खुसीखुसी कसरी बाँच्नु ? ’
उनले त्यही भनिन्, जुन मैले बुझ्न चाहेँ ? त्यो उनैलाई थाहा होला।
त्यसपछि उनी आइनन्। मैले नै बिदा दिएको थिएँ।
अब म उनको चिकित्सक रहिनँ। कुनै छेकबार रहेन साथी हुन्। तर मेरी साथीको पत्ता लागे पो !
पहिला फेसबुकमा खोजेँ। उनको नामको एउटा मात्र अकाउन्ट थियो। फोटो केटाको। ‘सर्व’ होला।
ट्विटर, इन्स्टाग्राम, लिइन्कड्इनमा पनि नाम हालेर हेरेँ। अँहँ।
गुगलले बोस्टनमा पढ्दै गरेकी अर्कै सर्वा थापाकोमा पुर्यायो।
हिम्मत बटुलेर मेसेज पठाएँ, फाइलबाट नम्बर चोरेर।
म डाक्टर संयोग। कस्तो हुनुहुन्छ ?
उत्तर आएन।
आखिरमा फोनै गरेँ। नम्बर डिएक्टिभेटेड रहेछ।
म बेचैन, उद्वेलित, दिग्भम्रित।
के भएको यस्तो ? के मैले कल्पना गरेर उभ्याएको हुँ, सर्वालाई ? मेरा अतृप्त चाहनाले उनलाई जन्म दिएका हुन् ? अरुको जाँच गर्दा गर्दै म आफैं मानसिक समस्यामा परेँ कि ?
उपाय केही थिएन। हप्ताको एक पटक बालकुमारी पुगेकै हुन्थेँ। त्यो फोहोरको डंगुरमै कतै पछारिएको थियो जीवन। डुब्दै गरेको घामले मलाई गिज्याउँथ्यो, म त भोलि उदाँउछु, तँ त सदाका लागि निभ्न लागिस् ! एक अर्काको हात समातेर स्वच्छन्द हिँडिरहेका ठिटाठिटीले मलाई उडाँउथे, तेरो मोल के छ, हाम्रा यी सुकोमल हातका टुप्पाको छाला जति पनि छैन। एक्लो छस् तँ, एउटा निरीह पागल होस् तँ।
होइन भन्ने तागत थिएन।
‘हो’ मा मुन्टो निहुर्याउँथेँ र फेरि घोत्लिन्थेँ, यो सर्वा भन्ने गाँठो खोलौं कसरी।
घर–क्लिनिक–बालकुमारी।
बिहान एउटा चिया र पत्रिका, बेलुकी हट लेमन र बासी पत्रिका।
यत्ति थियो जीवन।
६ महिना बितिसकेका थिए। कि ६० वर्ष पो हो कि ? खुट्याउन सकिनँ।
र पत्रिकाको मध्यपृष्ठमा उनको तस्बिर पनि खुट्याउन सकिनँ। ठूलो, पानाभरिको तस्बिर। कलेज पढ्दा ताका मनपर्ने अनुहार छानेर भित्तामा टाल्ने ब्लोअप।
मैले चिनिन किनभने उनको नाम सर्वा थिएन। अर्कै केही थियो – म सम्झन्नँ, जरुरी पनि भएन।
निर्भय बघिनीझैं तनक्क उभिएकी थिइन्, सर्वा। उनले आफूलाई जे परिचय दिऊन्, म त उनलाई यही नामले बोलाउँछु।
पहेँलो टिसर्ट, कलेजी रङको स्कर्ट। घुँडासम्मै आइपुग्ने लामो बुट। यस्तो रूपमा सर्वालाई कहिल्यै नदेखेको, मैले त पाना पल्टाउँथें होला। छेउमा छापिएको अन्तर्वार्ताको एउटा शब्दले अड्कायो – मनोचिकित्सक। त्यही क्षण मैले मेरी बिरालीलाई चिनेँ।
उनको आँखा पहिल्याएँ। कहाँ गयो त्यो सुन्तले निखार ? अहिले त निक्खर काला, गाजल नै नानीमा पोते जस्ता। न मैले सुरुमा भेट्दाको उदासी थियो, न अन्तिम भेटको चञ्चलता। केवल थियो, आत्मविश्वास, गर्व, अलिअलि घमण्ड। उनको नयाँ अवतारलाई खुब सुहाएको थियो। कम्मरकम्मर छोएको सलक्क केश, पातला मिलेका आँखीभौँ, धिपधिप टल्केको मुहार।
को थिई यो केटी ? के थिई ऊ ?
मेरा नजर अघिको शब्दतिर भौंतारिए। मनोचिकित्सक।
प्रश्नः अभिनयको प्रशिक्षण लिनुभएको छ ?
सर्वा (ए धोकेबाज ! ए प्यारी !)ः मुम्बईमा दुई वर्षको कोर्स गरेकी छु। पहिलो चलचित्र भए पनि निकै मिहिनेत गरेकी छु। वास्तविक अनुभव लिन मानसिक रोगी बनेर दुई महिना मनोचिकित्सककोमै धाएकी थिएँ। उहाँले त मन पो पराउन लाग्नु भएछ। सरी है, डाक्टर साब !)
केही छैन, सर्वा, मलाई कुनै गुनासो छैन।
एउटा भ्रम थियो, आफ्नो पेसामा कुशल छु म। तिमी मभन्दा निपुण रहिछ्यौ। रहिरहनू।