मारियोको पत्र पाब्लो नेरुदालाई
निमेषराज सापकोटा :
ओ सर पाब्लो नेरुदा !
ओ मेरो प्रिय कवि !
ओ मेरो प्रिय कमरेड !
चिन्नु भएन मलाई ?
म त्यही के त्यही
माझीको छोरो
जसले तपाईंका कविता पढेर
कविताहरूमा खोज्न थालिसकेको थियो
इतिहासमा चर्कंदै, भत्कँदै बचेखुचेको
आफ्ना निन्याउरा चित्रहरूलाई,
जो तपाईंकै कविता पढेर
कविताको ठूलो फ्यान भएको थियो
जोसित तपाईंको जस्तै फिमेल फ्यान फ्लोइङको
भित्री अभीप्सा थियो,
जो तपार्इंबाटै प्रभावित भएर
पहिलो पटक कम्युनिस्ट भएको थियो
तपाईं नै त हुनुहुन्थ्यो नि
मेरो बौद्धिक उन्नतिको मेरुदण्ड
तपाईंले नै मभित्र सपाट धर्तीको फराकिलो चित्र कोरर
गुमनाम हुनुभएको थियो
तपाईंकै कविता पढेपछि पहिलो पटक
युवतीको वक्षस्थललाई कविताको बिम्ब बनाउने
ठूलो हिम्मत जुटेको थियो मलाई
तपाईं त आफ्नो निर्वासन छाडेर फर्कनुभयो मातृभूमि
तर म आइसल्यान्डको त्यही चिसो कुनामा
हजुरकै पर्खाइमा बिताइरहेँ जीवनका अन्तिम दिनहरू
तपाईंले त मलाई बिर्सनुभयो पुरानो वर्ष जस्तो
हजुरको अन्तर्वार्तामा स्थान नपाएको
त्यही गरिबको छोरो
त्यही विक्षिप्त पात्र के म
म त्यही अभागी मारियो के !
अझै चिन्नु भएन मेरो प्रिय कमरेड !
म त्यही मान्छे के
जो पहिलो पटक कम्युनिस्ट बनेको दिन
तपाईंको नाममा कविता समर्पित गर्न चाहन्थ्यो
आफ्नै भूमिको कसम खाएर
रगत लत्पतिएको हृदयबाट मुस्कुराउन चाहन्थ्यो
एउटा कर्णप्रिय गीत
एउटा युगान्तकारी संगीत
हो कवि !
मान्छे कमजोर बन्दुक नहुँदा हुने होइन रै’छ
सभ्यता कमजोर अस्त्र नहुँदा हुने होइन रै’छ
मान्छेसँग शब्द नभएको दिन
सभ्यतासँग भाषा नभएको दिन
मान्छे कमजोर हुँदो रैछ,
म तपाईंबिना भाषाविहीन भएको छु
म तपाईंबिना निःशब्द भएको छु
आज म खोला किनारमा
मेरो नाबालक छोराको आँखाबाट खसिरहेका कविताहरूमा
तपाईंलाई खोजिरहेको छु,
मेरै नाबालक छोराको आँखाभित्र
आफ्नै पिताको प्रिय मान्छे खोतलिरहेको छु
मेरो प्रिय कवि !
मेरो प्रिय कमरेड !
नढाँटी भन्नुहोस् के तपाईंले मलाई साँच्चै बिर्सनुभयो ?