नेकपामा विवाद चुलिँदै : तत्काल बैठक बोलाउन माग
काठमाडौं : नेकपाका चार शीर्ष नेताले तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँगको अनौपचारिक छलफलका क्रममा बैठक बोलाउन माग गरेका हुन् ।
‘हामीले तत्काल पार्टी बैठक बोलाउन उहाँहरू (ओली–दाहाल) लाई अनौपचारिक रूपमा भनिरहेका छौं,’ वरिष्ठ नेता खनालले अन्नपूर्णसँग भने, ‘तर उहाँहरू बैठक बोलाउन तत्पर हुनुभएको छैन ।’
स्थायी समितिले पार्टी एकताको ठोस प्रस्ताव तयार पार्न गठन गरेको कार्यदललाई १० फागुनको सचिवालय बैठकबाट विघटन गरेको थियो । अध्यक्षद्वय ओली र दाहालले कार्यदल विघटनपछि एकताको ठोस प्रस्ताव सचिवालयले तयार पार्ने र स्थायी समिति बैठकबाट अनुमोदन गराउने बताएका थिए । तर त्यसयता एकता प्रस्तावमा सचिवालयमा छलफल नभएपछि असन्तुष्ट बनेका चार नेताहरूले सचिवालय बैठक बोलाउन माग गरेका हुन् । कार्यदल विघटन गर्ने बेलामा पनि यी चार नेताहरू असन्तुष्ट भएका थिए ।
‘हामीले तत्काल पार्टी बैठक बोलाउन उहाँहरू (अध्यक्षद्वय ओली–दाहाल) लाई अनौपचारिक रूपमा भनिरहेका छौं । तर उहाँहरू बैठक बोलाउन तत्पर हुनुभएको छैन ।’ – वरिष्ठ नेता खनाल
कार्यदलका संयोजकसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा र कार्यदलका वरिष्ठ सदस्य विष्णु पौडेलले कार्यदलमा बसेर काम गर्न नसक्ने र कार्यदलमा अन्य नेताहरूलाई जिम्मेवारी दिएर पुनर्गठन गर्न माग गरेपछि सचिवालयले कार्यदल विघटन गरेको थियो । थापा र पौडेलले सचिवालयमा गरेको रिपोर्टिङमा कार्यदलले काम गर्न नसकेको उल्लेख गरेका थिए । तर कार्यदलका बहुमत सदस्यले भने काम गर्नै निदइएको भन्दै अध्यक्षद्वयलाई छुट्टै प्रतिवेदन बुझाएका थिए ।
कार्यदलका बहुमत सदस्य सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट र बेदुराम भुसालले एकता गर्दा अवलम्बन गर्नुपर्ने मापदण्डसहितको समानान्तर प्रतिवेदन बुझाएका हुन् ।
नेकपा स्थायी समितिले कार्यदललाई विधान परिमार्जन, पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश कमिटी र प्रदेशस्तरीय विशेष कमिटी गठन, जिल्लासहित मातहत कमिटीको एकीकरण, जनवर्गीय संगठनहरूको एकीकरण, प्रवासका संगठन र सम्पर्क कमिटी एवं मञ्चहरूको एकीकरण र केन्द्रीय विभागहरूको गठनसम्बन्धी प्रस्ताव तयार पार्ने जिम्मेवारीसहित कार्यदल बनाएको थियो ।
विधान परिमार्जनबाहेक अन्य विषयमा सहमति जुटेको छैन । तर अध्यक्षद्वयले यस विषयमा आन्तरिक तयारी गरिरहेको अभिव्यक्ति दिइरहेका छन् । सचिवालयका चार शीर्ष नेताहरूले बैठक बोलाउन गरेको आग्रहका विषयमा भने अध्यक्षद्वयले नेताहरूलाई अहिलेसम्म कुनै थप जानकारी दिएका छैनन । ‘यो हप्ता पनि उहाँहरूले बैठक बोलाउने संकेत नदेखेपछि हामीले बैठक बोलाउन भनेका हौं,’ वरिष्ठ नेता खनालले भने ।
यी चार नेताहरूले गत पुस २२ गते पनि अध्यक्षद्वयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सचिवालय बैठक बहिष्कार गरेका थिए । त्यसयता यी चार नेताहरूको गठबन्धन कायम छ । नेकपामा ९ सदस्यीय सचिवालय छ । सचिवालयका अन्य सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलले भने यस विषयमा केही बोलेका छैनन् । अध्यक्षद्वय ओली र दाहाल २५ फागुनमा रौतहटको गरुडा जाने कार्यक्रम छ । त्यहाँबाट नफर्केसम्म सचिवालय बैठक बस्न नसक्ने बालुवाटार स्रोतले बतायो ।