भारत–पाकिस्तान तनावमा हामी

भारत–पाकिस्तान तनावमा हामी

भारत–पाकबीच युद्ध भइ नै हाल्यो भने निसन्देह हामी नेपाली साँढेको जुधाईमा बाच्छाको मिचाइमा पर्ने निश्चित छ।


दुई दिनअघि (मार्च ४) देखि भारत–पाकिस्तानबीचको रेल सेवा पुनः सञ्चालनमा आएको छ। भारतीय वायु सेनाको विङ कमान्डर अविनन्दन वर्तमानलाई पाकिस्तानले पन्जाबको सिमाना बघाहमा छोड्यो। दुई आणविक राष्ट्रहरूबीच युद्ध भयो भने त्यो आणविकको ताप/चापमा दुई अर्बभन्दा बढी मानवीय क्षति हुनुका साथै विश्व पर्यावरणमा पर्ने अकल्पनीय प्रभाव टरेको महसुस विश्वले गर्न थालेको छ। भारत–पाकिस्तानबीच युद्ध भयो भने हामीलाई पर्न सक्ने असर मध्यनजर गर्दै यी दुई छिमेकी राष्ट्रहरूबीचको सम्बन्ध सुधारका निमित्त हामीले निर्वाह गर्नुपर्ने भूमिकाबारे केही टिप्पणी प्रस्तुत गर्ने आशय हो यस आलेखको।

१४ फेब्रुअरीका दिन पुलवा क्षेत्र जम्मु कश्मीरमा २० वर्षीय आदिल अहमद दहेरले विस्फोटक पदार्थ भरिभराउ गाडीले भारतीय अर्धसैन्य दल (सेन्ट्रल रिजर्भ पुलिस फोर्स) का जवानहरू सवार बसमा ठक्कर दिएर गरेको आत्मघाती आक्रमणमा परेर भारतका ४० देखि ४९ मारिए। भारतीय लोकसभाको चुनाव सँघारमा पुगेको तथा प्रधानमन्त्री नरेन्द्र मोदीको चमत्कारी लोकप्रियतामा ह्रास आउने क्रम बढेको अवस्थामा भएको यस आत्मघाती आक्रमणको जवाफी कारबाही भारतले कसरी गर्नेछ ? शान्तिपूर्ण कूटनीतिक हुन्छ कि उसको जवाफी कारबाही वा सैनिकी ? यस विषयले समस्त विश्वको ध्यान त्यही दिन पुनः आकर्षित भएको थियो।

२६ फेब्रुअरी (उक्त आत्मघाती आक्रमणको १२ दिनपश्चात्) एकाबिहानै भारतीय वायु सेनाको मिराज २००० विमानहरूले पाकिस्तानी सिमाना पार गरेर उत्तर–पश्चिम पाक्तुकवा प्रान्तको बालकोट (रावलपिन्डीभन्दा करिब सय किमिको दूरी) मा रहेको जैस ए मोहम्मद नाम गरेको जिहादी तालिम केन्द्रमा आक्रमण गरी उक्त केन्द्र ध्वस्त तुल्याएको समाचार भारतीय परराष्ट्र सचिव विजय गोखलेले पत्रकार सम्मेलन गरेर खुलासा गरे। उक्त समाचारको पाकिस्तानले खण्डन गरेन, बरु आफ्ना हवाई सेनाका जहाजहरू सीमा अतिक्रमण गर्ने भारतीय लडाकु विमानहरूलाई खेदेपछि भारतीय हवाई जहाजबाट बस्तीभन्दा पर रहेको सल्लाघारीमा चारवटा बम खसालेर भागेको समाचार प्रसारण गर्‍यो।

भोलिपल्ट अर्थात् २७ फेब्रुअरीमा पाकिस्तानले आफ्नो सिमाना अतिक्रमण गर्ने भारतीय वायु सेवाका दुई विमान खसालेको घोषणा गर्‍यो। गिराएका दुई विमानमध्ये एक आफ्नो सिमानामा खसेको तथा अर्को सीमापार गरेर भारतीय भूमि पुग्न सफल भएको उसको जिकिर थियो। भारतले आफ्ना मिग २१ विमानले पाकिस्तानको एफ– १६ विमान खसालेको तथा उक्त ‘डग फाइट’ मा मिग– २१ पाकिस्तानी सिमाना क्षतिग्रस्त भएको खुलासा गर्‍यो। पाकिस्तानले ती भारतीय वायु सेनाका विङ कमान्डरलाई भारतले माग गर्नुपूर्व नै शान्तिस्थापनाका निमित्त भनेर फेब्रुअरी २८ मै भारतलाई सुम्पियो।

माथि संक्षिप्तमा उल्लेख गरिएका घटना विवरणका केही महत्त्वपूर्ण पाटाहरू छन्। प्रथम भारतअधीनमा रहेको कश्मीर क्षेत्रमा भएको उक्त आत्मघाती आक्रमण कर्ता (अहमद दहेर) विगतमा जस्तो कश्मीर प्रवेश गरेर आक्रमण गर्ने अन्तर्राष्ट्रिय आतंककारी थिएन। ऊ कश्मीरमा जन्मेको भारतीय नागरिक हो। सिमानापारि तालिम प्राप्त गरेको स्वदेशीय आतंककारी। विगत केही वर्षदेखि भारतीय जम्मु–कश्मीरमा जन्मिएका युवा आतंककारी संगठनमा सामेल हुने क्रम बढेको भारतीय सुरक्षा निकायहरूको अड्कलबाजीको यो घटना एक द्योतक हो।

अर्थात् सन् १९८० को दशकमा तथाकथित पाकिस्तानको सहयोगमा भारतीय पन्जाब प्रान्तलाई टुक्र्याएर खालिस्तान निर्माण गर्ने उद्देश्यप्रेरित आतंककारी गतिविधिकै निरन्तरता जम्मु–कश्मीरलाई अलग राष्ट्र बनाउने प्रयास जारी छ। पृथकतावादी गतिविधि निस्तेज तुल्याउन भारतीय सेना जम्मु–कश्मीरमा केही दिनदेखि आक्रामक भएर आतंककारीको खोजीमा संलग्न रहेको समाचार पनि प्रसारण भइरहेका छन्।

काठमाडौं, पोखरादेखि सागरमाथा बेसक्याम्पका होटलहरू वार्ताका निमित्त हामीले उपलब्ध गर्न सक्छौं। हाम्रो सरकारबाट हुने कुनै पनि शान्तिस्थापनाका पहलकदमीको विश्वले स्वागत गर्नेमा दुईमत छैन।

पुलावामा भएको आत्मघाती आक्रमणको जिम्मा लिने जिहादी आतंकवादी संस्था जैस ए मोहम्मद अर्थात् मोहम्मदको सेनाको घोषित नीति जम्मु–कश्मीरलाई भारतीय नियन्त्रणबाट स्वतन्त्र तुल्याएर पाकिस्तानप्रशासित क्षेत्र ‘आजाद कश्मीर’ मा समाहित गर्नु हो। आधार शिविर पाकिस्तानमा भएको यस संस्थाको नेता मौलाना मासुद अजेर पाकिस्तानी नागरिक हुन्। विगतमा पनि जैस ए मोहम्मदले १३ डिसेम्बर २००१ मा भारतीय संसद् भवनपरिसरमा, सन् २००८ को नोभेम्बरमा वित्तीय राजधानी मुम्बईमा तथा २ जनवरी २०१६ पठनकोटमा गरेको आक्रमणको जिम्मा लिएको थियो। २४ डिसेम्बर १९९९ मा काठमाडौंबाट दिल्ली उडान गर्दै गरेको इन्डियन एयरलाइन्स (आईसी ८१४) को जहाज अपहरण गर्ने दलमा सामेल पाँच जिहादीमध्ये एक अजेरका भाइ थिए। उक्त हवाई अपहरणको उद्देश्यअनुसार भारतीय कब्जामा रहेका तीन आतंककारी मुस्ताक अहमद जाकर, अहमद ओमार शेख तथा मौलाना मसुद अजहरलाई छुटाउन सफल रह्यो।

पाकिस्तानको भूभागभन्दा चार गुणा बढी क्षेत्र तथा ६ गुणा बढी जनसंख्या भएको भारतलाई दुई मुलुकले एकअर्कामा तुलना गर्न मिल्दैन। विश्वको दोस्रो ठूलो सेना (१४ लाख हाराहारीको संख्या) छ भारतसँग। सैनिक शक्तिको हिसाबले भारत चौथो सैनिक शक्ति राष्ट्र मानिन्छ अमेरिका, रूस तथा चीनपछि। जबकि पाकिस्तान छैटौं ठूलो सैनिक संख्या (६ लाख ५४ हजार) भएको राष्ट्र भए पनि सैनिक शक्तिका आधारमा १७ औं स्थानमा पर्छ विश्व मानचित्रमा। सन् २०१७ मा भारतको वार्षिक रक्षा बजेट ६४ अर्ब अमेरिकी डलर थियो जबकि पाकिस्तानको केवल पाँच करोड डलरको हाराहारीमा थियो त्यस वर्ष। भारतसँग पाकिस्तानको तुलनामा झन्डै दोब्बरको संख्यामा लडाकु हवाईजहाज छन्। सैन्य शक्तिबीचको विविधता भारतको पक्षमा हुँदाहुँदै पनि भारतसँग भन्दा पाकिस्तानसँग आणविक हतियारको भण्डार ठूलो रहेको (पाकिस्तानसँग १४० देखि १५० तथा भारतसँग १३० देखि १४०) अनुमान गरिन्छ।

सन् १९४७ देखि नै पाकिस्तानको सत्तामा हालीमुहाली गर्दै आएको सेनाको लक्ष्य भनेको पाँच भारतीय सैनिकभन्दा आफ्नो एक सैनिकलाई दक्ष तुल्याउनु हो। विगतका तीन युद्धहरूमा नराम्रोसँग पराजय भोगेका पाकिस्तानी नेतृत्वले भारतसँग भिड्ने अख्तियार गरेको रणनीति भनेको आणविक राष्ट्र बन्ने तथा भारतविरोधीलाई तालिम, हतियार तथा आर्थिक सहयोग दिएर भारतलाई टुक्र्याउने नै हो। भारतले पाकिस्तान टुक्र्याएर बंगलादेश निर्माण गरेको बदला लिने दाउमा पाकिस्तान पहिलेदेखि नै छ।

पाकिस्तान मात्र विश्वको यस्तो आणविक शक्ति राष्ट्र हो, जसको आणविक हतियार सेनाको नियन्त्रणमा छ। त्यसैगरी उसको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्सी (आईएसआई) को अधीनमा विदेशी आतंकवादीहरूको संरक्षण हुने गरेको लुकेको छैन। पाकिस्तानको अर्को विशेषता भनेको यो मुलुकका प्रभावशाली तथा सम्भ्रान्त परिवारका सदस्यहरू बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया तथा अन्य पश्चिमा मुलुकहरूको नागरिक भइसकेका छन्।

यिनै कारणले सन् २०१७ देखि भारतले पाकिस्तानसँगको तनाव मत्थर गर्न सैनिकभन्दा बढी कूटनीतिक उपायको सहारा लिने गरेको थियो। बालकोट हवाई आक्रमणले भारतले अब पाकिस्तानको आणविक युद्ध गर्ने क्षमताबाट त्रसित हुने अथवा ‘ब्ल्याक मेल’ हुन छाडेको संकेत मिल्छ। पाकिस्तानको सीमा प्रवेश गरेर जवाफी कारबाही गर्न अब भारत पछि हट्नेवाला छैन भन्ने सन्देश दिएको छ यस घटनाले। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पक्षलाई शान्तिवार्ताको आह्वान गर्दै युद्ध भयो भने त्यो अनियन्त्रित हुने अर्थात् आफ्नो नियन्त्रणभन्दा बाहिर हुने सन्देश दिएको अनुमान गर्न सकिन्छ।

भारत–पाकिस्तानबीचको युद्धले हामीलाई पार्न सक्ने असर थुप्रै छन्। यी दुई राष्ट्रबीच युद्ध भइ नै हाल्यो भने निसन्देह हामी नेपाली साँढेको जुधाईमा बाच्छाको मिचाइमा पर्ने निश्चित छ। आणविक युद्ध भयो भने अनुमानित दुई अर्ब मानवीय क्षतिमध्ये हामी पनि पर्नेछौं। कनभेन्सनल युद्ध नै लम्बिन गएको खण्डमा पनि प्रत्यक्ष असर भारतीय सेनामा कार्यरत ४०÷५० हजार नेपालीलाई पर्ने निश्चित छ। ‘नेपालीलाई युद्धभूमिमा नपठाऊ’ भन्न सक्ने हैसियत हामी राख्दैनौं। नेपाल–ब्रिटेनबीचको सन् १८१५ को सन्धि जसलाई सन् १९४७ मा भारत–नेपालबीचको गोर्खा सेनासम्बन्धी सन्धिले अनुमोदन गरेको छ। सो सन्धिको प्रावधानले गोर्खा सेनालाई हिन्दुविरुद्ध परिचालन गर्न बन्देज लगाएको छ।

पाकिस्तान हिन्दु राष्ट्र होइन। त्यसैगरी रोजगारका निमित्त नियमित एवं मौसमअनुसार त्यहाँ जाने नेपालीहरूको संख्या ५० लाख भएको अनुमान गरिन्छ। ठूलो संख्यामा रोजगारमा प्रतिकूल असर पर्‍यो भने धेरैको दैनिकी मात्र नभएर मुलुकको अर्थतन्त्रमा पर्ने असरको अनुमान गर्न सिकिन्छ। त्यसो त भारतीय अर्थतन्त्र निर्भर हाम्रो अर्थतन्त्रमा भारतले जति बढी युद्धमा खर्च गर्दछ त्यति नै क्षति हामीले परोक्ष रूपमा बेहोर्नुपर्ने हुन्छ।

दुई छिमेकी राष्ट्रहरूबीच द्वन्द्व बढ्न थालेको परिपे्रक्ष्यमा हामी मूकदर्शक हुनु अथवा उनीहरूलाई संयम धारण गर्न औपचारिकता निभाउने कार्य हाम्रो अवस्थाले किमार्थ दिँदैन। हामीले अग्रगामी कूटनीतिक पहल गर्नु असल छिमेकीको कर्तव्य मात्र नभएर युद्धको परिणाम अनायास भोग्नुपर्ने राष्ट्र भएको नाताले बाध्यता पनि हो। झन् त्यसमा पनि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन राष्ट्रको अध्यक्ष रहेको अवसरमा हामीलाई मूकदर्शक बन्न सुहाउँदैन। यस अर्थमा ढिलै भए पनि हामीले कूटनीतिक पहलहरूको सुरुवात गर्नु नितान्त आवश्यक छ।

दिल्ली तथा इस्लामाबादबीच शान्तिवार्ताका निमित्त हामी सुविधा उपलब्ध गर्न सक्छौं भनेर निमन्त्रणा दिनु हाम्रो परम् कर्तव्य हो। त्यस्तो शान्तिवार्तामा सहजकर्तादेखि मध्यस्थकर्ताको भूमिकासमेत हामी निर्वाह गर्न तयार छौं भन्न हामीलाई कसैले रोक्ने छैन। काठमाडौं, पोखरादेखि सगरमाथा बेसक्याम्पका होटेलहरू वार्ताका निमित्त हामीले उपलब्ध गर्न सक्छौं। हाम्रो सरकारबाट हुने कुनै पनि शान्तिस्थापनाका पहलकदमीको विश्वले स्वागत गर्नेमा दुईमत छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.