व्यापार युद्धका बाछिटा
केही विषय यस्ता हुन्छन्, जसको विकल्प नै हुँदैन। विकल्प खोज्नु टाढाको कुरा, सामान्य विचलनले समेत शंकाउपशंका पैदा गर्छन्। वास्तवमा कहिलेकाहीँ परम्परा नै यथार्थ र सत्य बनिदिन्छन्। तिनले समयानुकूल सुधारबाहेक ठूलो परिवर्तनको खोजी गर्दैनन्। त्यस्तै, सत्य बनेको छ— विश्वव्यापीकरण। यसको विकल्पबारे सोच्ने त के सामान्य विचलनले समेत विश्वभर आर्थिक राजनीतिक सम्बन्धमा जटिलता देखा पर्न सक्छन् भन्ने हामीले अनुभूत गरिरहेकै छौं।
विश्वव्यापीकरण अहिले राष्ट्रहरूबीचको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक सम्बन्धको आधार (जग)का रूपमा रहेको छ। विश्वव्यापीकरणलाई बलियो बनाउन र संस्थागत गर्न संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएएफ), विश्व व्यापार संगठन (डब्ल्यूटीओ) जस्ता संस्थाको स्थापना भएको हो। यो व्यवस्थाले विश्वका सबै देशलाई समान ‘लेभल प्लेइङ फिल्ड’ प्रदान गरेको छ। खासगरी पछिल्लो समय महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाले संरक्षणकारी नीति अंगीकार गर्दा यसले विश्व अर्थ व्यवस्थामा सुस्तता आएको छ।
विश्व व्यापार प्रणालीमा समयानुकूल सुधार आवश्यक छ। तर हठात् विश्व व्यापार संगठनले संस्थागत गरेका नियमबाट शक्ति राष्ट्रहरू नै विचलन हुँदा यसले यस संस्थाहरूलाई क्रमशः कमजोर बनाउँदै लैजान्छ। र अन्ततः हामीले स्थापित गरेका यी संस्थाहरूको औचित्य समाप्त हुन्छ। यसले अन्ततः विश्वव्यापीकरणको जग भत्कनेछ।
विश्वव्यापीकरणको विकल्प के त ?
संयुक्त राज्य अमेरिकाको पोर्टल्यान्डस्थित रिड कलेजकी प्रा. अर्थशास्त्री किम्बर्ली क्लाउजिङ भन्छिन्, ‘विश्वव्यापीकरणको विकल्प संरक्षणवाद होइन। यसमा सुधार आवश्यक हुन सक्छ। हिजो विश्वव्यापीकरणका लागि संयुक्त राज्य अमेरिकाले जुन संस्थाहरूलाई सशक्त बनाउन भूमिका खेल्यो, आज तिनलाई कमजोर बनाउने हो भने अन्ततः यिनीहरूमाथिको विश्वास समाप्त हुन्छ।’
क्लाउजिङको विचारमा अमेरिकी अर्थतन्त्रको गतिशीलता यसको निजी क्षेत्रमा निर्भर छ। ‘आप्रवासनलाई बन्द गरेर हाम्रा कम्पनीहरूलाई आवश्यक ट्यालेन्ट (दक्ष जनशक्ति) कहाँबाट ल्याउने ? अनि कच्चा वस्तुदेखि एउटा उत्पादनलाई चाहिने सम्पूर्ण वस्तु देशमै उत्पादन गरेर कसरी प्रतिस्पर्धी हुने भन्ने जटिल प्रश्न हाम्रो अघि छ’, उनी भन्छिन्।
व्यवसाय गर्न सहजताकै कारण केही विश्वविख्यात अमेरिकी कम्पनीहरू माइक्रोसफ्ट, अमेजोनले समेत क्यानडाको भ्यानकुभरमा मुख्यालय सार्न लागेका छन्। उनीहरूको मुख्य चासो आप्रवासन र कर रहेको बताइएको छ। हार्वर्ड युनिभर्सिटी प्रेसबाट हालै प्रकाशित क्लाउजिङको पुस्तक ‘ओपन (द प्रोगे्रसिभ केस फर फ्री ट्रेड, इमिग्रेसन एन्ड ग्लोबल क्यापिटल)मार्फत पछिल्लो समय ट्रम्प प्रशासनको नीतितर्फ निशाना गर्दै व्यापार, पुँजी र आप्रवासनका सम्बन्धमा समयसापेक्ष बहस सार्वजनिक गरेकी छन्। केही समयअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी छिमेकी राष्ट्र मेक्सिकोसँगको सीमामा राष्ट्रिय संकटकाल लगाएर पर्खाल बनाउने घोषणा गरेपछि विपक्षी कंग्रेसम्यानहरूले पर्खालले होइन आप्रवासनले अमेरिका बलियो हुन्छ भन्ने अभिव्यक्ति दिए।
वास्तवमा अहिले अमेरिकामा खुला व्यापार र आप्रवासनको विषयलाई लिएर ठूलो बहस छ। ट्रम्प प्रशासनले अमेरिकी उद्योगहरू एसेम्बलिङमा निर्भर रहे, जसले गर्दा रोजगारी कटौती भयो र प्राथमिक औद्योगिक वस्तु उत्पादनदेखिको लाभ अमेरिकाले पाउनुपर्नेमा अन्यत्रै सर्यो भनिरहेको छ। तर, अमेरिकी निजी क्षेत्रका प्रतिनिधिहरू त्यो सत्य नभएको बताउँछन्। ‘सामान्य र औसत सीपमा बनाउन सकिने श्रम सघन प्रकृतिका औद्योगिक उत्पादन अमेरिकाले अन्यत्रबाट लिइरहेको छ।
अन्तिम उत्पादन जसमा दक्ष जनशक्ति र बौद्धिक सम्पत्तिसँग सम्बन्धित विषय छन्, ती काम अमेरिकी कम्पनीले बाहिर लगेका छैनन्। यसमा उनीहरू सजग छन्’, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष (अन्तर्राष्ट्रिय नीति) जोन मर्फी भन्छन्, ‘यसले हाम्रा उद्योग लागत किफायती छन्। प्राथमिक औद्योगिक वस्तु उत्पादनसमेत अमेरिकामै गर्न थाल्ने हो भने श्रमिकको ज्याला यति महँगो छ कि ती उत्पादनको लागत अत्यधिक बढ्न जान्छ।’
अमेरिकी चुनावमा व्यवसायी र श्रमिकको ध्रुवीकरण बडो रोचक हुन्छ। व्यवसायीहरूले रिपब्लिकनलाई समर्थन गर्छन्। रिपब्लिकनहरू धनीलाई कम कर लगायो भने बढी रोजगारी सिर्जना हुन्छ भन्ने मान्यता राख्छन्। जुन व्यवसायीका लागि आकर्षक विषय हुने नै भयो।
वास्तवमा खण्डित उत्पादन विधि (फ्य्राग्मेन्टेड मोड अफ प्रडक्सन)ले विश्वभरबाट अमेरिकी उत्पादकलाई वस्तु आपूर्ति गरिरहेका आपूर्तिकर्ताहरू मूल्य शृंखलामा जोडिएका छन्। यसले आपूर्तिकर्ता देशको अर्थतन्त्रलाई पनि चलायमान बनाएको छ। अमेरिकी कम्पनीहरूलाई पनि फाइदा भएको छ। यसमा ‘विन–विन’ (दुवै तर्फको जीत)को अवस्था छ।
उदाहरणका लागि अमेरिकी जहाज निर्माता कम्पनी बोइङले जहाजका एक तिहाइ भागहरू अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीबाट लिन्छ, एक तिहाइ अमेरिकी आपूर्तिकर्ताबाट। गत महिना स्टेट डिपार्टमेन्टको ‘इन्टरनेसनल भिजिटर्स लिडरसिप प्रोग्राम’मा सहभागी भएर सियाटलस्थित बोइङको १०० एकड क्षेत्रफलमा फैलिएको फ्याक्ट्री अवलोकनका क्रममा बोइङका एक अधिकारीले सबै पार्टस् समयमा आइपुगेनन् भने जहाज उत्पादन कार्य नै प्रभावित हुने बताए। सियाटलस्थित फ्याक्ट्रीमा मात्रै एकसाथ दर्जनौं जहाज निर्माण भइरहेका छन्।
अहिले पाएको बिजनेसका आधारमा मात्र सन् २०२५ सम्म बोइङलाई कामको खाँचो नहुने ती अधिकारी बताउँछन्। अमेरिकासँग यस्ता कम्पनी छन्, जसलाई कतै ध्यान दिने फुर्सद छैन। पार्टस्मा दक्षता र गुणस्तरका आधारमा विभिन्न देशका आपूर्तिकर्तासँग उनीहरूको १०औं वर्षसम्मको सम्झौता छ, त्यसलाई तोड्न सम्भव पनि छैन। यस्तो मूल्य शृंखलाले उत्पादनमूलक उद्योगहरूलाई प्रतिस्पर्धी पनि बनाएको छ, अन्तरआबद्धता र अन्तरनिर्भरता बढाएको छ। जुन विश्व अर्थव्यवस्थाको सुन्दरतम पक्ष पनि हो।
अमेरिकी चुनावमा व्यवसायी र श्रमिकको ध्रुवीकरण बडो रोचक हुन्छ। व्यवसायीहरूले रिपब्लिकनलाई समर्थन गर्छन्। रिपब्लिकनहरू धनीलाई कम कर लगायो भने बढी रोजगारी सिर्जना हुन्छ भन्ने मान्यता राख्छन्। जुन व्यवसायीका लागि आकर्षक विषय हुने नै भयो। श्रमिकहरूले भने डेमोक्र्याटलाई समर्थन् गर्छन्। ट्रम्प प्रशासनले उठाएका केही सवालमा व्यवसायीहरू सहमत छन् तर सबैमा छैनन्। प्रत्यक्ष कर नबढे पनि ट्रम्प प्रशासनको महसुल (भन्सार) नीतिले व्यवसायीहरू प्रभावित देखिन्छन्। बौद्धिक सम्पत्ति चोरी लगायतका सवालमा ट्रम्प प्रशासनको कदमले समर्थन प्राप्त गरेका छन्। अमेरिकी कम्पनीहरूले लामो समय र लगानीमार्फत गरेको अनुसन्धान र बौद्धिक सम्पत्तिलाई कसैले नक्कल गरी उत्पादन गर्छ। त्यो उत्पादनमा बौद्धिक सम्पत्तिको मूल्य छैन भने त्यसले अमेरिकी कम्पनीहरूलाई आघात पुर्याइरहेको छ।
यी यावत् विषयहरूमा विश्वका दुई आर्थिक शक्तिहरू अमेरिका र चीनको व्यापारिक द्वन्द्व, व्यापार युद्ध हुँदै वार्ताको क्रममा अघि बढिरहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने दुई सय अर्ब अमेरिकी डलर बराबरको चिनियाँ आयातमा भन्सार बढाएपछि चीनसँग वार्ताका लागि रोकिएका छन्। वासिङ्टन र बेइजिङका अधिकारीहरू यसमा सहमति खोज्न दौडधुप गरिरहेकै छन्। चीनबाट अमेरिकामा उच्चस्तरीय भ्रमणहरू भइरहेका छन्। स्वयं चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेर अमेरिका र चीनबीचको व्यापारमा देखिएका जटिलता सल्ट्याउने प्रतिबद्धता जनाएपछि फ्रेबुअरीको अन्त्यसम्म तोकिएको समयसीमामा अमेरिकी राष्ट्रपतिले केही लचकता अपनाएका छन्। यसले दुई देशबीचका असमञ्जस्य र दूरी कम भएको संकेत मिल्छ।
तर चीनबाट हुने आयातमा भन्सार बढाएर पनि अमेरिकाले समाधान निकाल्न सकेको भने छैन। उसको चासो सोही बराबरको अमेरिकी वस्तु चीनले पनि खरिद गरिदिए हुन्थ्यो भन्ने छ। अमेरिकाले इनर्जी (ऊर्जा) निर्यातबाट मात्र चीनसँगको व्यापार सन्तुलन कायम गर्न चाहान्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको ध्येय पनि यही देखिन्छ। चीन अमेरिकासँग ऊर्जा खरिदमा सहमत हुन्छ या हुँदैन, यो भविष्यले नै तय गर्छ।
अमेरिकामा आप्रवासन, विश्वव्यापीकरणसँगै रिटालिएसन (प्रतिशोध) पनि त्यत्तिकै चर्चामा छ। प्रतिशोधपूर्ण भन्सार नीतिले चीनबाट आयात हुने स्टिलको मूल्य बढेको छ। यसले निर्माण क्षेत्र र औद्योगिक उत्पादनलाई प्रभाव पारेको छ। अमेरिकाको उत्तरी भागमा पर्ने विस्कनसिन राज्य, जहाँ सापेक्ष रूपमा अन्य राज्यहरूको तुलनामा कम कर छ। ट्रम्प प्रशासनको प्रतिशोधकारी भन्सार महसुल नीतिले औद्योगिक उत्पादनको लागत बढेको निर्माण उद्योगलाई प्रत्यक्ष हानि भएको उनीहरूको अनुभव छ। अमेरिका र चीनबीचको व्यापार युद्धले चिनियाँ अन्तर्राष्ट्रिय व्यापारमा मन्दी आएको छ भने अमेरिकाले पनि व्यापार युद्धबाट लाभ लिन नसकिरहेको यथार्थ छ।
अमेरिकी उद्योगहरूलाई खण्डित उत्पादन विधिबाट उत्पादनमा जुन लाभ छ। यसले अमेरिका र सँगसँगै विश्वव्यापी आपूर्तिकर्तालाई पनि फाइदा भइरहेको छ। चीनलाई त्यो बाध्यता छैन। चीनमा श्रमिक ज्याला सस्तो छ, प्रविधिका हिसाबले पनि अत्याधुनिक प्रविधिहरू चीनसँग उपलब्ध छन्। यसले चीनका ठूला उद्योगले औद्योगिक प्राथमिक वस्तुहरू स्वदेशी आपूर्तिकर्ताहरूबाट प्राप्त गर्छन्। स्वदेशी आपूर्तिकर्ताको क्षमता नभएका ठाउँमा अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूबाट।
अमेरिका र चीनबीचको व्यापार प्रभावित हुँदा एक अर्को देशको उत्पादन सञ्जालमा आबद्ध आपूर्तिकर्ता देशहरूसमेत प्रभावित भएका छन्। खासगरी विकासशील देशहरूले यसलाई अनुभूत गरेका छन्। अमेरिका र चीनको उत्पादन सञ्जालमा आबद्ध भएका आपूर्तिकर्ताहरूसँग अमेरिकी र चिनियाँ कम्पनीहरूसँग आपूर्तिको वर्षौं लामो सम्झौता हुन सक्छन्।
कुनै ठूलो उद्योगको उत्पादन सञ्जालमा पार्टस् आपूर्ति गर्ने लगानीकर्ताले उत्पादकबाट त्यो सम्झौताबिना पक्कै पनि त्यति ठूलो लगानी गरेको हुँदैन। यसले अमेरिकामा आउने प्रत्यक्ष वैदेशिक लगानीलाई पनि असर पर्न सक्छ। उदाहरणका लागि अमेरिकाको विस्कनसिन राज्यमा आगामी केही वर्षमा १० अर्ब अमेरिकी डलर लगानीसहित फक्सकन भ्याली निर्माणको घोषणा गरेको फक्सकनको लगानीमा पनि व्यापार युद्धका कारण अनिश्चिततामा धकेलिएको टिप्पणीसमेत हुने गरेको छ। व्यापार युद्धले बजारमा समेत अनिश्चय पैदा गर्दा यसले स्वतः पुँजी लगानीलाई प्रभावित गर्नु स्वाभाविक हो, जसले गर्दा अमेरिका र चीन दुवैलाई विश्वभरबाट दबाब सिर्जना भएको छ— विश्वव्यापी आर्थिक सहयोग र साझेदारीको विकल्प छैन।