प्रशिक्षक बर्खास्तीको लहर

प्रशिक्षक बर्खास्तीको लहर

युरोपियन फुटबल लिग संसारमै सबैभन्दा बढी मन पराइने क्लब फुटबल प्रतियोगिता हो। स्टार खेलाडीको जमघट र करोडौं डलर लगानीले लिगको महत्व बर्सेनि चुलिँदै गएको छ। टोलीको अवस्था र खेलाडीको प्रदर्शनसँगै प्रशिक्षकको उतारचढावले पनि लिगलाई रोचक बनाएको छ।

लिगको घम्साघम्सीसँगै यस पटक टोलीको प्रदर्शनलाई लिएर प्रशिक्षक बर्खास्तीको घटनाले लिगको पारो झनै तात्दै गएको छ। क्लबले जितेमा वाहवाही र हार्दै गएमा प्रशिक्षक बर्खास्त गर्न क्लबहरू तल्लीन छन्। जारी सिजन बर्खास्तीको पहिलो सिकार इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्हो परे। मोउरिन्हो विश्वकै हाई प्रोफाइल प्रशिक्षक मानिन्छन्। युनाइटेडले जारी सिजनको सुरुआतमै खराब प्रदर्शन गरेको भन्दै उनलाई बर्खास्त गरेको थियो।

मोउरिन्होलाई सन् २०१५ को डिसेम्बरमा चेल्सीले पनि बर्खास्त गरेको थियो। त्यसपछि उनले म्यानचेस्टर युनाइटेड सम्हाल्दै आएका थिए। मोउरिन्होको करिब साढे दुई वर्षको युनाइटेड बसाइ खासै सुखद रहेन। उनको बर्खास्तीले निकै चर्चा पायो।

यसअघि इन्टर मिलान, रियल म्याड्रिड, चेल्सी जस्ता नामुद क्लब सम्हालिसकेका माउरिन्होले अब के गर्लान् भन्ने खुल्दुली निकै छायो। क्रिसमसको बिदा मनाउने समयमा माउरिन्होलाई दुःखी हुने खबर सुन्नु परेको थियो। मोउरिन्होलाई बर्खास्तीको संयोग पनि कतिसम्म भने उनी १० वर्षको हुँदा रियो एभ क्लबका म्यानेजर रहेका उनका बुवा क्रिसमसकै समय बर्खास्तीमा परेका थिए।

युनाइटेडबाट बर्खास्तीको समाचार पाएपछि मोउरिन्होले भनेका थिए, ‘क्रिसमसकै दिन हामी घरमा खाना खाइरहेको बेला बुवालाई बर्खास्त गरेको फोन आएको थियो। त्यसैले फुटबलमा हुने उतारचढाव मलाई थाहा छ। म पनि एक दिन बर्खास्त हुन्छु भन्ने मलाई थाहा थियो। मबिना युनाइटेडको भविष्य छ र युनाइटेडबिना मेरो पनि भविष्य छ।’

यस वर्षको क्रिसमसअघि प्रिमियर लिगमा लिभरपुलसँग ३-१ गोलले हारेपछि युनाइटेडले मोउरिन्होलाई बर्खास्त गरेको थियो। बर्खास्तीपछि माउरिन्होका लागि क्लब फुटबको यात्रा त्यति सजिलो भएको छैन। नामुद क्लबहरू सम्हालिसकेका उनी चानचुने क्लबमा जाने कुरा पनि भएन। चर्चित क्लबले उनलाई भित्याउने सम्भावना पनि निकै कम छ। माउरिन्होको बर्खास्तीले विश्व फुटबलमा एक खाले प्रश्न खडा भएको छ। के नाम चलेका र पाका प्रशिक्षकहरूको समय सकिएकै हो ?        यो प्रश्नको समाधान मोउरिन्हो आफैंले खोजेका छन्। उनी अब टेलिभिजनमा फुटबल कार्यक्रम सञ्चालनको तयारीमा छन्। ‘आफूले जानेकै कामलाई अर्को माध्यामबाट थप उचाइ दिने मेरो योजना छ’, ५६ वर्षीय मोउरिन्होले भनेका छन्।

मोउरिन्होलाई युनाइटेडमा खेलाडीले पनि धोका दिएको पछिल्लो समय स्पष्ट भएको छ। पउल पोग्वा, रोमेलु लुकाकु जस्ता खेलाडीले मोउरिन्हो छउन्जेल त्यति खेलेनन्। जब मोउरिन्हो बर्खास्तीमा परे र क्लबले पूर्वखेलाडी ओले गुनर सोल्सायरलाई अन्तरिक प्रशिक्षक बनायो। त्यसपछि युनाइटेडले लगातार नतिजा निकालेको छ। खेलाडीले पनि स्तरीय प्रदर्शन गरिरहेका छन्। युनाइटेट अहिले लिगको चौथो स्थानमा उक्लिएको छ। उसको च्याम्पियन्स लिगमा छनोटको सम्भावना पनि बलियो बनेको छ।

मोउरिन्हो मात्र होइन, इङ्लिस प्रिमियर लिगमा फुलहामले खराब नतिजा निकालेपछि प्रशिक्षक क्लाउडियो रानिएरी पनि बर्खास्तीमा परे। फुलहामले रानिएरीलाई यही अघिल्लो साता मात्र प्रशिक्षकबाट बर्खास्त गरेको छ। प्रिमियर लिगअन्तर्गत फुलहाम साउथह्याम्पटनसँग २-० गोलले पराजित भएको थियो। यो हारले फुलहाम रेलिगेसनबाट जोगिन नसक्ने भएपछि प्रशिक्षक रानिएरी बर्खास्तीको सिकार बने। फुलहाम अहिले लिगको रेलिगेसनमा छ।

२८ खेलबाट जम्मा १७ अंक बनाएको फुलहाम १९औं स्थानमा छ। फुलहामले हडर्सफिल्डलाई मात्र पछाडि पारेको छ। १८औं स्थानमा रहेको कार्डिफ सिटीको २५ अंक छ। १४ अंक बनाएको हडर्सफिल्ड टाउन अन्तिममा छ।

चेल्सी र लेस्टर सिटीका पूर्वप्रशिक्षक रानिएरी गत नोभेम्बरमा मात्र फुलहाममा अनुबन्ध भएका थिए। इटालीका ६७ वर्षीय रानिएरीको प्रशिक्षणमा लेस्टरले सन् २०१६-१७ मा प्रिमियर लिगको उपाधि नै चुमेको थियो।

तर, रानिएरीको प्रशिक्षणमा फुलहामले सोचेजस्तो प्रदर्शन गर्न सकेन। फुलहामले पछिल्ला १७ खेलमा तीनवटा मात्र जित निकाल्यो। फुलहामले रानिएरीको स्थानमा इङ्ल्यान्डका पूर्वखेलाडी स्कट पार्करलाई टोलीको अन्तरिम प्रशिक्षकका रूपमा यो सिजन जिम्मा दिएको छ।

युरोपियन लिगअन्तर्गत फ्रेन्च लिग वान क्लब मोनाकोले पनि आफ्नो मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ। क्लबले हालै हेनरीलाई बर्खास्त गरेको हो। हेनरी गत अक्टोबरमा मात्रै क्लबको मुख्य प्रशिक्षक बनेका थिए। पछिल्लो समय उनको प्रशिक्षणमा मोनाकोले लगातार खराब प्रशिक्षण गरेपछि क्लबले उनलाई एक सय चार दिनमै बर्खास्त गर्‍यो। मोनाको अहिले फ्रेन्च लिग वानको रेलिगेसनको जोनको १९औं स्थानमा छ। हेनरीको प्रशिक्षणमा मोनाकोले २० खेल खेल्दा मात्रै चार खेलमा जित हात पारेको छ।

इङ्लिस क्लब आर्सनलका पूर्वस्ट्राइकर हेनरीलाई बर्खास्त गरेसँगै क्लबले क्लबकै पूर्वप्रशिक्षक लियोनार्दाे जर्दिमलाई अनुबन्ध गर्ने तयारी थालेको छ। हेनरी तीन महिनाअघि लियोनादालाई नै विस्थापित गर्दै तीन वर्षको लागि प्रशिक्षकमा अनुबन्ध भएका थिए।

खराब प्रदर्शनले मात्र होइन स्पेनिक क्लब रियल म्याड्रिडका युथ प्रशिक्षक अल्भेरो बेनिटोलाई क्लबले मिडियामा अनावश्यक टिप्पणी गरेको भन्दै बर्खास्त गरेको छ। बेनिटो यू-१९ टोलीका प्रशिक्षक थिए। रियलले गतसाता कोपा डेल रे फुटबल अन्तर्गतको सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनासँग ३-० गोलले पराजित भएपछि बेनिटोले क्यासेमिरो र टोनी क्रुसविरुद्ध बोलेका थिए।

रिलय समग्रमा बार्सिलोनासँग ४-१ गेलले पराजित हुँदै फाइनल पुग्नबाट वञ्चित थियो। त्यसपछि बेनिटोले एक रेडियोसँगको अन्तर्वार्तामा क्यासेमिरो र क्रुसले आफ्नो स्तरभन्दा धेरै टाढा खेलिरहेका छन् भन्दै रेडियोमा अन्तर्वार्ता दिएका थिए।

बेनिटो मात्र होइन, रियल म्याड्रिडले जारी सिजन सबैखाले प्रतियोगितामा कमजोर प्रदर्शन गरेको भन्दै क्लबले मुख्य प्रशिक्षक सान्टियागो सोलारीलाई पनि बर्खास्त गर्ने तयारी गरेको समाचार बाहिरिएका छन्। रियल अहिले सोलारीलाई स्थानान्तरण गर्न सक्ने व्यक्तिको खोजीमा छ।

जाइन्ट किलरको छवि बनाउँदै आएको रियल विश्व फुटबल इतिहासको सफल क्लब हो। सधैं उत्कृष्ट फर्ममा रहने क्लब पछिल्लो समय केही कमजोर अवस्थामा देखिन थालेको छ। रियलले खेलेका पछिल्ला चार खेलमध्ये तीन खेलमा हार बेहोरेको छ। रियल अहिले ला लिगाको तेस्रो स्थानमा छ।

कोपा डेल रेको हारपछि अझै रियल प्रशिक्षकप्रति रुष्ट बनेको छ। रियलले यसअघि पनि बार्सिलोनासँगको खेल फराकिलो अन्तरमा गुमाएलगत्तै प्रशिक्षक जुलेन लुपेटेगुईलाई बर्खास्त गरेको थियो। त्यसपछि सहायक प्रशिक्षक सोलारीलाई कर्यवाहक प्रशिक्षको जिम्मेवारी दिएको थियो।

रियलले सोलारीको विकल्प खोल्न लागेको जस्तै इङ्लिस क्लब चेल्सीले पनि आफ्ना प्रशिक्षक मोउरिसियो सारीलाई बर्खास्त गर्न लागेको समाचार बाहिरिएका छन्। सधैं जित र उपाधि मात्र सोच्ने चेल्सी यति बेला प्रिमियर लिगमा खराब नतिजाबाट गुज्रिएको छ। लिगको उपाधि चुम्ने लक्ष्यका साथ सारीलाई भित्याएको चेल्सी अहिले प्रिमियर लिगको छौटौं स्थानमा छ। लिग जित्न त परको कुरा शीर्ष चारमा रहेर च्याम्पियन्स लिगका छनोट हुन पनि चेल्सीलाई गाह्रो पर्ने अवस्था छ। त्यसैले चेल्सीका पदाधिकारी सारीको विकल्पमाथि गोप्य छलफलमा जुटेका छन्।

एजेन्सीको सहयोगमा
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.