सवारी चालकको सडकमै आँखा परीक्षण
रुकुम पश्चिम : सधैँ सवारी चालकका कागजपत्र चेक गर्न मात्र गाडी रोक्ने ट्राफिक प्रहरीले शनिबार चालकको आँखाको परीक्षण गर्न गाडी रोक्यो।
शनिबार दिनभरि रुकुम पश्चिमको मुसीकोटमा गाडी रोकेर ट्राफिक प्रहरीले चालकको आखाँ जाँच गर्यो। मुसीकोट ४, शितलपोखरीको सडक छेउमा अस्थाई क्याम्प स्थापना गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमसँगको समन्वयमा आँखा उपचार केन्द्र रुकुमले चालकहरुको आखाँको जाँच गरेर परामर्श दिएको हो।
चालकहरु प्रायः काममै व्यस्त हुने र आफ्नो अन्य स्वास्थ्य अवस्थाका साथै विशेष गरी आफ्नो आँखाको जाँच नगराउने समस्यालाई मध्यनजर गरेर यो शिविर संञ्चालन गरिएको आँखा उपचार केन्द्रकी इन्चार्ज मञ्जु बोहराले बताइन्। बोहराका अनुसार शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन भएको शिविरमा एक सय बढी बस, ट्रक र ट्याङ्करका चालक र सह–चालक गरी जम्मा १ सय ३५ जनाको आखाँको अवस्थाको जाँच गरिएको हो।
जाँच गरिएकाहरुमध्ये धेरैमा रंग पहिचानको समस्या देखियो।उनीहरुमा रक्तचापको समस्या पनि धेरै भएको पाइएको इन्चार्ज बोहराले बताए। ‘धेरैले पहिलोपल्ट आँखाको जाँच गराएको पाइयो, 'उनले भनिन्, ‘सवारी चलाउँदा कलर भिजन अर्थात रंग पहिचान एकदम महत्वपूर्ण हुन्छ, धेरैमा यो समस्या पनि देखियो।'
शिविरमा जाँच गरिएका १ सय ३५ मध्ये दुई जनामा पूर्ण रुपमा रंग पहिचान गर्न नसक्ने, एक जनामा आंशिक रंग पहिचान गर्न सक्ने र २० जनामा दृष्टि दोष रहेको कारण उनीहरुलाई चस्मा लगाउनुपर्ने सल्लाह दिएको बताइएको छ। साथै ९० प्रतिशतमा रक्तचाप उच्च रहेको पनि बोहराले बताइन्। जाँच गरिएकाहरुलाई आवश्यक औषधीका साथै परामर्श प्रदान गरिएको र नियमित आँखाको जाँच गराउन सुझाव पनि दिएको उनले बताइन्।
सवारी दुर्घटना न्यून गर्न चालकको नियमित स्वास्थ्य जाँच आवश्यक रहेको बताउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख भरतबहादुर भण्डारीले ट्राफिक सचेतना तथा दुर्घटना न्यूनीकरण कार्यक्रम अन्तरगत चालक तथा सह चालकहरुको आँखाको जाँच गरिएको बताए।