चैतेधानको चटारो, हरायो अर्मपर्म
बिर्तामोड : अन्य क्षेत्रमा खडेरीले खेत सुकिरहेको बेला झापाको दक्षिणी क्षेत्रका किसान भने चैतेधान रोपाइँमा व्यस्त छन्। गौरादह, गौरीगञ्ज, शिवसताक्षी र कमललगायत नगरपालिका तथा गाउँपालिकाका कृषकलाई यतिबेला धान रोप्ने चटारो छ।
अधिकांश क्षेत्रमा कन्काई नहर सिँचाइ आयोजनाको पानी पुगेकाले उनीहरूलाई धान खेती गर्न सहज भएको हो। ‘नहर पुगेपछि धान उत्पादनमा वृद्धि हुने भएकाले सबै चैतेधानमा लागेका छन्’, शिवसताक्षी नगरपालिका ६ का कृषक बद्री पौडेलले भने। कुलो वा नहरको पानी नपुग्ने ठाउँमा विद्युतीय मोटरबाट पानी तानेर पनि सिँचाइको व्यवस्था गरिएको छ। ‘यतिबेला घरमा कसैलाई भेट्न सकिँदैन’, धान रोपाइँमा व्यस्त भेटिएकी पूर्णिमा चौधरीले भनिन्, ‘भेट्नुपरे खेतमै पुग्नुपर्छ, अरू असारमा गर्छन्, हामी त चैतमा पनि।’
सिँचाइ आयोजनाले यसपटक चैतेधान रोपाइँका लागि पानी दिने सूचना गरेपछि माघ लाग्दै किसानले धानको बीउ जोहो गरेका थिए। आयोजनाले यस क्षेत्रका कृषकलाई वर्ष बिराएर पानीको सुविधा दिँदै आएको छ। सिँचाइ व्यवस्थापन डिभिजन गैंडेका प्रमुख वीरेन्द्रकुमार यादवले सिँचाइको व्यवस्था गरेपछि खेती सुरु गरिएको हो। ‘हिउँदमा कम र वर्षात्मा सबैलाई पानी दिने गरेका छौं’, उनले भने। नहरमा यसपटक पर्याप्त पानी आएपछि सहज भएको शिवसताक्षीका किसान वीरबहादुर राजवंशीले बताए। ‘पहिले नहरको पुछारसम्म पानी आइपुग्दैनथ्यो, यो वर्ष सबै स्थानमा पानी वितरण गरेकाले चैतेधान रोप्न धेरै सहज भएको हो’, उनले भने।
सिँचाइ आयोजनाले यसपटक चैतेधान रोपाइँका लागि पानी दिने सूचना गरेपछि माघ लाग्दै किसानले धानको बिउ जोहो गरेका थिए।
पहिले पानीकै लागि गाउँलेबीच झगडा हुने गरे पनि अहिले नहरले वर्ष छुट्याएर पानी वितरण गरेपछि सबैलाई सहज भएको किसान बताउँछन्। कन्काई नहरले भेट्ने स्थानमा ३५ सय हेक्टर क्षेत्रफलमा चैतेधान खेती हुँदै आएको छ।
यस क्षेत्रमा एउटै खेतमा हिउँदे र बर्खे गरी धान रोप्ने काम हुन्छ। दुई बाली खेती गर्नुपर्ने हुँदा चैतेधान समयमै रोप्नुपर्ने किसान बताउँछन्। हावापानी अनुकूल रहँदा झापामा बर्खेजस्तै चैतेधान उत्पादन राम्रो हुन्छ। यहाँका किसान चैतदेखि दसैंसम्म खेतकै काममा किसान व्यस्त हुन्छन्। ‘असारमा सबैका खेतमा धान रोपिन्छ, चैतमा भने खोला र नहरबाट खेतमा कुलो लाग्ने ठाउँमा मात्रै रोपाइँ हुन्छ’, गौरादह नगरपालिका ३ का कृषक भवानी शंकरले भने।
प्रविधिले हरायो अर्मपर्म
चैतेधान रोपाइँमा व्यस्त झापा दक्षिणी क्षेत्रका कृषकको खेत अहिले राँगा अथवा गोरुले जोतिँदैन। सबैको खेतमा ट्र्याक्टरले जोतिरहेको भेटिन्छ। कृषिमा आधुनिकीकरण भित्रिसकेका सहरोन्मुख झापाका गाउँका किसानका लागि कृषि औजार अहिले सहयोगी बनेको छ। दैनिक ५०० रुपैयाँ ज्यालामा पाउने कृषि मजदुरको चर्को अभाव रहेकाले पनि आधुनिक मेसिनको प्रयोग गर्नु बाध्यता भएको किसान बताउँछन्।
‘ट्र्याक्टरको जोताइ महँगो छ, अर्मपर्म त अहिले कथा बनेको छ’, अर्जुनधारा नगरपालिका ७ का कृषक टिकाराम आचार्यले बताए। धेरै युवा वैदेशिक रोजगारीमा गएकाले गाउँमा मजदुरको अभाव भएको आचार्य बताउँछन्। पहिले चल्ने अर्मपर्मको चलन अहिले हराएको उनको भनाइ छ। केही वर्षअघिसम्म यस क्षेत्रका किसानका घरमा कम्तीमा एक हल राँगा अथवा गोरु हुन्थे। राँगा–गोरुलाई जोत्न, धान दाइँ गर्न, गाडा तान्ने काममा लगाइन्थ्यो। तर, अहिले किसानले राँगा–गोरु पाल्न छोडेका छन्।
प्रतिक्रिया दिनुहोस !