रियलमा फेरि जिजु...

रियलमा फेरि जिजु...

जिजु अर्थात् जिनेदिन जिदान। उनी फेरि आफ्नो जिम्मेवारीमा फर्किए। आफ्नो समयका महान् खेलाडी जिजुले प्रशिक्षकको रूपमा समेत छोटो समयमै ठूला सफलताको अनुभव गर्न भ्याइसकेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा धेरै माग बढिरहेका बेला जिदान पछिल्लो नौ महिना परिवारसँगै समय बिताएर घरमै बसे। अन्ततः उनी फेरि फर्किएका छन्। आफ्नो पुनरागमनमा उनले पूर्वक्लब रियल म्याड्रिड नै रोजे। त्यसैले नौ महिनाको वि श्रामपछि प्रशिक्षण कर्ममा फर्कंदा यी ‘हट केक’ प्रशिक्षक चर्चामा रहने नै भए।

जिदान गत वर्ष यो समय रियलसँगै थिए। युरोपियन फुटबल यति चलायमान छ कि नौ महिनापछि उनी फेरि त्यही क्लबसँग अनुबन्धित भएका छन्, जुन क्लबबाट उनले खेलाडी र प्रशिक्षकको हैसियतले ठूला उपलब्धि चुमेका छन्।

उनकै नेतृत्वमा रियलले गत संस्करण युरोपकै सर्वाधिक प्रतिष्ठित युरोपियन च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गरेको थियो। यो रियलका लागि समग्रमा च्याम्पियन्स लिगको १३औं उपाधि थियो। जुन आफैंमा कीर्तिमानी उपलब्धि हो। अहिलेसम्म च्याम्पियन्स लिग उपाधिमाथि दोस्रो पटक ह्याट्रिक गर्ने र १३औं पटकसम्म उपाधि जित्ने रियल पहिलो र एक्लो टोली हो। तर, टोलीको त्यो ऐतिहासिक सफलतापछि प्रशिक्षक जिदानले क्लब छाड्ने निर्णय सार्वजनिक गरे।

उनको यो निर्णय धेरैका लागि अप्रत्याशित थियो। अप्रत्याशित यस कारण कि प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेलगत्तैबाट उनले क्लबलाई जितको लयमा फर्काएका थिए। त्यही लयबाट उनले टोलीलाई महत्वपूर्ण सफलता पनि दिलाए। जिम्मेवारी सम्हालेको झन्डै तीन वर्षको छोटो अवधि र त्यसमा पनि निरन्तर सफलता प्राप्त गरिरहेका बेला कुनै प्रशिक्षकले किन क्लब छाड्थे ?       

त्यसमाथि जिदान र उनको कामलाई रियलका समर्थकले रुचाएकै थिए। युरोपेली क्लब फुटबलमा समर्थकहरूको ठूलो महत्व र भूमिका रहने गर्छ। जिदानलाई त्यसबेला जस्तै अहिले पनि समर्थकहरूको साथ उस्तै छ।

अन्तर्राष्ट्रिय फुटबलमा धेरै माग बढिरहेका बेला जिदान पछिल्लो नौ महिना परिवारसँगै समय बिताएर घरमै बसे। अन्ततः उनी फेरि फर्किएका छन्। आफ्नो पुनरागमनमा उनले पूर्वक्लब रियल म्याड्रिड नै रोजे। त्यसैले नौ महिनाको विश्रामपछि प्रशिक्षण कर्ममा फर्कंदा यी ‘हट केक’ प्रशिक्षक चर्चामा रहने नै भए।

किनभने जिदानले छाडेपछि रियलले आफ्नो पुरानो छवि गुमाएको छ। सहज शब्दमा भन्नु पर्दा रियलले आजभोलि महत्वपूर्ण खेलमा जितको बाटो पकड्न बिर्सेको छ। साबिक विजेता टोलीको हैसियतमा सहभागी भएको रियल यो सिजन च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिइसकेको छ। रियल घरेलु कोपा डेल रे फुटबलको उपाधि होडबाट पनि हराइसकेको छ।

रियलका समर्थकहरूलाई पीडा त्यतिखेर महसुस भयो जतिबेला आफ्नो क्लब डच टोली अयाक्ससँग समग्रमा ५–२ गोलको भारीअन्तरले पराजित हुँदै जारी सिजनको युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरियो। अनि कट्टर प्रतिद्वन्द्वी बार्सिलोनासँग लगातार दुई खेलमा पराजित हुँदा टोली कोपा डेल रेको उपाधि होडबाट मात्रै बाहिरिएन, घरेलु ला लिगाको उपाधि होडमा पनि निक्कै पछि परेको छ।

टोलीको यो नतिजामा समर्थकहरू निरास देखिए। खेलाडीहरू आफंै खुसी देखिएनन्। क्लबलाई माया गर्ने समर्थकदेखि पैसा लगाउने प्रायोजकहरू समेत असन्तुष्ट बनेपछि क्लब व्यवस्थापनले टोलीलाई यो अवस्थाबाट बाहिर निकाल्ने जिम्मेवारीका लागि फेरि उनै जिजु अर्थात् जिदानलाई रोजेको छ।

टोलीले जिदान माथि यत्ति विश्वास देखाएको छ कि मंगलबार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनलाई स्वागत गर्दा आफ्ना समर्थकलाई खुसी दिलाउने जिम्मेवारी सुम्पिएको बताए। त्यसको अर्थ टोलीलाई फेरि घरेलु र युरोपियन क्लब फुटबलमा च्याम्पियन छविमा फर्काउनु हो। तर, यो चुनौती सहज छैन। विशेषगरी जति बेला जिदान क्लबको नेतृत्व गर्न आइपुगेको छन्, यो समय र अवस्थाले उनलाई कम्तीमा यो वर्ष चुनौतीको सामना गर्न सहज देखिँदैन। किनभने रियल अहिले इतिहासकै कमजोर अवस्थाबाट गुज्रिरहेको छ।

रियलका लागि यो सिजन उपाधि जित्न अब एउटै मात्रै प्रतियोगिता बाँकी छ, घरेलु स्पेनिस ला लिगा। तर, घरेलु लिगमा पनि रियल अन्तिम ११ चरणको खेल मात्रै बाँकिरहँदा (५१) शीर्ष स्थानको बार्सिलोना (६३) भन्दा १२ अंकले पछि परिसकेको छ। त्यसैले रियल यो सिजन उपाधिविहीन बन्ने सम्भावना नजिक छ भन्दा पनि फरक पर्दैन।

फेरि पनि जिदानसँग रियलका समर्थकको अपेक्षा यही रहन्छ कि उनले यसअघि जस्तै जादु गरुन् र उनको नेतृत्वमा क्लब कम्तीमा उपाधिविहीन हुनबाट जोगियोस्। त्यो सम्भव नभए कम्तीमा टोली जितको लयमा फर्कियोस्। जसले गर्दा आगामी सिजन टोलीले पहिले जस्तै घर र घर बाहिरको फुटबलमा एक छत्र राज गर्न सकोस्। समर्थकहरू जिदानसँग यो अपेक्षा गर्नु सही पनि मान्छन्। किनभने जिदानले यसअघि उनीहरूको त्यो अपेक्षा पूरा पनि गरिदिएका छन्।

जिदान अघिल्लो पटक यस्तै अवस्थामा रियलको प्रशिक्षक बनेका थिए। टोली निरन्तर पराजय बेहोर्दै घरेलु लिग उपाधिको होडमा निक्कै पछि पुगेपछि क्लब व्यवस्थापनले तत्कालीन प्रशिक्षक राफेल बेनेटिजलाई बर्खास्त गर्दै जिदानलाई जिम्मेवारी सुम्पिएको थियो।

त्यसपछि उनकै नेतृत्वमा क्लबले आफ्नो च्याम्पियन छवि समातेको हो। जिदानले जिम्मेवारी सम्हालेलगत्तै टोली खेलमा यस्तरी फर्कियो कि निक्कै मुस्किल अवस्थाबाट पनि घरेलु लिगमा उपाधिका लागि रियलले बार्सिलोनालाई ठूलो चुनौती दियो। मात्रै एक अंकले पनि परेपछि रियलले घरेलु ला लिगाको उपाधि जित्न सकेन। तर, युरोपियन च्याम्पियन्स लिगको उपाधि जितिछाड्यो। त्यसपछिको थप दुई सिजन पनि उनै जिदानको नेतृत्वमा उपाधि जित्दै रियलले युरोपियन च्याम्पियन्स लिग उपाधिमाथि ह्याट्रिक गरेको हो।

तीन वर्ष पनि नपुग्दैको छोटो अवधिमा जिदानले रियलबाट प्रशिक्षकको हैसियतमा नौ ठूला उपाधि जितेका थिए। जसमा युरोपियन च्याम्पियन्स लिगको तीन (२०१५÷१६, २०१६÷१७, २०१७÷१८), स्पेनिस ला लिगाको एक (२०१६÷१७), स्पानिस सुपर कपको एक (२०१७), यूईएफए सुपर कपको दुई (२०१६, २०१७) र फिफा क्लब विश्वकपको दुई उपाधि (२०१६, २०१७) रहेका छन्।

जिदानले टोलीलाई जुन अवस्थामा पुर्‍याएर छाडेका थिए, उनी बिना टोली अघि बढ्न सकेन। उनले छाडेपछि क्लब युरोपेली क्लब फुटबलमा मात्रै हैन घरेलु प्रतियोगितामै कमजोर बन्दै गयो। यो अवस्थामा क्लब व्यवस्थापनले अरू दुई प्रशिक्षकलाई समेत जिम्मेवारी सुम्पियो, जुलेन लोपेटेगुई र सान्टिआगो सोलारीलाई। तर, दुवै प्रशिक्षकबाट आशातित सफलता प्राप्त हुन सकेन।

त्यसैले क्लब व्यवस्थापनले फेरि जिदानलाई नै रोजेको छ। र, जिदानले क्लबले सुम्पिएको नयाँ जिम्मेवारीका लागि आफू तयार रहेको पनि बताएका छन्। उनले आफू रियल म्याड्रिडबाट यही चुनौतीको सामना गर्न पछिल्लो नौ महिना अन्य कुनै पनि क्लबको प्रस्तावलाई स्विकार नगरेको बताएका छन्। उनको यो भनाइले रियलका समर्थकहरूमा टोलीको भविष्यलाई लिएर नयाँ खुसी सञ्चार भएको छ।

रियलका पूर्वकप्तान तथा गोलरक्षक इकार कासियासले त जिदानको अनुबन्धलाई क्लबको नयाँ इतिहासको सुरुआत भनेका छन्। रियलको प्रशिक्षकको रूपमा दोस्रो पाली सम्हाल्दै गर्दा जिदानलाई कासियासलगायत टोलीका यस्तै पुराना खेलाडी, समर्थकदेखि सबैको साथ रहने नै छ। तर, उनीमाथिको त्यो समर्थन र माया कति लामो रहला ? , त्यसको निर्धारण भने उनले अब टोलीलाई गर्ने नेतृत्व र त्यसमा प्राप्त हुने सफलताले गर्नेछ।

जिदानले आफ्नो करिअरमा अहिलेसम्म मात्रै एउटा क्लब रियल म्याड्रिडको जिम्मेवारी सम्हालेका छन्। रियलसँगको त्यही छोटो अवधिमा हात पारेको यी उपलब्धिसँगै जिदान प्रशिक्षकको रूपमा पनि सफलताको ग्राफमा नयाँ उचाइतर्फ अग्रसर छन्, जुन उचाइ उनले खेलाडीको रूपमा हात पारेका थिए। खेलाडीको रूपमा विश्वकप उपाधिदेखि बेलोन डेअरजस्ता प्रतिष्ठित उपाधि जितेका जिदानले प्रशिक्षकको रूपमा पनि आफ्नो सफलताको यो क्रमलाई अझ निरन्तरता दिन सकुन्, शुभकामना।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.