बेनीमा होलीको रौनक
बेनी : वसन्त ऋतुको रमाइलो पर्व फागु पुर्णिमा (होली) बिहीबार पहाडी र हिमाली जिल्लामा मनाइएको छ। विशेष गरी युवापुस्ता होलीको ‘मुड’ मा देखिए। पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड लाग्यो। पर्वको छेकोमा विभिन्न संघसंस्थाले उत्सव आयोजना गरेका छन्। होलीलाई मर्यादित बनाउन सुरक्षा प्रबन्ध मिलाइएको थियो।
प्रेम र भाइचाराको प्रतिक मानिने होली पर्वको असर शहर हुँदै गाउँसम्म पुगेको छ। होलीलाई विशेष गरी सहरी युवाले धुमधामसँग मनाउने गरेका छन्।
आधुनिकताले पर्वको मौलिकतामा ठेस नपुगेको पनि होइन। तर पनि, होली मान्ने प्रवृत्ति र उल्लास भने वर्षेनी थपिँदो छ। होली पर्वलाई जगेर्ना गर्ने नयाँ पुस्ताको आफ्नै शैली देखिन्थ्यो।
होलीलाई परम्परागत शैलीमै मनाउन नसके पनि पहिचानलाई मर्न नदिने उद्देश्यले नेपाल भाषा मंका खल म्याग्दीले बेनीमा परम्परालाई निरन्तरता दिएको छ। खलले वर्षौंदेखि फागु पर्वलाई संस्थागत रूपमा मनाउँदै आएको अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।
बेनीका नेवार समुदायले परम्परागत बाजामा मौलिक होली गीत गाएर रङसँगै नाचगान गरेर बजार परिक्रमा गर्दै होली मनाए। 


प्रतिक्रिया दिनुहोस !