उत्कृष्टताका आधार

उत्कृष्टताका आधार

शिक्षा जस्तो संवेदनशील विषयमा अभिभावकले निकै ध्यान पुर्‍याउनुपर्छ। महँगो र नाम चलेको विद्यालय छान्दैमा पढाइ उत्कृष्ट हुन्छ भन्ने छैन।


‘राम्रो स्तरको पढाइ हुने, सजिलै भर्ना पाउने र महिनैपच्छे बिल बढाएर अभिभावकको दाँतबाट पसिना नझार्ने स्कुल कुन होला ? कक्षा ४ को लागि,’ केही दिनअगाडि एक महिला कलाकारले आफ्नी छोरीका लागि राम्रो विद्यालय खोज्न फेसबुकमा स्टाटस नै राखिन्। उनी केही वर्षको विदेश बसाइपछि छोरीसहित नेपाल फर्केकी थिइन्। तर विडम्बना उनलाई अहिलेसम्म कसैले राम्रो विद्यालयको नाम सुझाउन सकेको छैन ।

नयाँ शैक्षिक सत्र सुरु हुँदै छ।

आफ्ना छोराछोरीका लागि राम्रो विद्यालयको खोजीमा अभिभावकको दौडधुप पनि सुरु हुने नै भयो। पछिल्लो दशक विद्यालय च्याउसरी उम्रिएका छन्। ती बाहिरबाट हेर्दा भव्य देखिन्छन्। कतिपय विद्यालय बढाइचढाइ गरी विज्ञापन गरेरै विद्यार्थीको संख्या पढाउन लागिपरेका छन् ।

कहिलेकाहीँ त वाइफाई, कम्प्युटर ल्याब आदि विद्यालयको विशेषता भन्दै अभिभावकलाई लोभ्याउने काम हुन्छ। त्यसमाथि गुणस्तरीय पढाइ हुने भन्दै कक्षाकोठाको डेस्कबेन्चलाई देखाइन्छ। यसबाट अभिभावकले सधैं धोका खान्छन् ।

केही दिनअघि टेम्पोमा यात्रा गर्दा भेटिएकी थिइन्, निर्मला गुरुङ। उनी दुई सन्तानकी आमा हुन्। यो शैक्षिक सत्रमा उनले स्कुलको बिल्डिङ हेरेर आफ्नो छोरालाई भर्ना गर्ने निर्णय गरेकी छन्। स्कुलको व्यवस्थापन पक्ष बुझ्न समय नभएको भन्दै उनले यस्तो निर्णय गरेकी रहिछन्, जुन बिल्कुल गलत छ ।

सन्तानको भविष्यसँग जोडिएको शिक्षा जस्तो संवेदनशील विषयमा अभिभावकले निकै ध्यान पुर्‍याउनुपर्छ। यसका लागि अभिभावकको क्रियाशीलता आवश्यक छ। महँगो र नाम चलेको विद्यालय छनोट गर्दा पढाइको स्तर उत्कृष्ट हुन्छ नै भन्ने छैन ।

विद्यार्थीका लागि विद्यालय नै दोस्रो घर हो, जहाँ ऊ कम्तीमा पनि दिनको ६ घण्टा बिताउँछ। आजकल त बिहान आठ बजेदेखि बेलुकी ६ बजेसम्म ट्युसन र कोचिङ क्लास भन्दै विद्यार्थीबाट पैसा असुली गर्ने परिपाटी छ। यसबाट अभिभावकले आफ्नो जिम्मेवारी कम हुने ठानेका हुन्छन्। तर यसले विद्यार्थीको पढाइमा कुनै स्तरोन्नति हुन सक्दैन। यसका लागि बुबाआमाले स्वयं आफ्ना बालबच्चालाई समय दिनुपर्ने हुन्छ ।
कक्षा ६ मा पढ्ने प्रतीक महर्जन पढाइमा खासै राम्रा छैनन्। विज्ञान र गणितमा सुधार गर्नुपर्ने भन्दै उनलाई विद्यालयले ट्युसन राख्न सुझायो। तर ट्युसनले सिकाउनुभन्दा गृहकार्यको चाङमा थमायो। 

शिक्षकले दिने यातना, गृहकार्यको तनाव, कमजोर विद्यार्थीमाथि विद्यालयले गर्ने हेलचेक्र्याइँले साना बालबालिकाको मनोविज्ञानमा ठूलो असर पुग्न सक्छ। विद्यार्थीको इच्छा, भावना र स्वभावलाई पहिचान गरी सोहीअनुसार ग्रुमिङ गर्न सक्ने विद्यालयले मात्र राम्रो शिक्षा प्रदान गर्न सक्छन्। त्यसैले सबैभन्दा पहिले विद्यालयको शैक्षिक वातावरणमा ध्यान दिन अत्यावश्यक छ। आफ्ना छोराछोरी पढ्ने विद्यालय क्षेत्र कत्तिको शान्त छ ? त्यहाँका कर्मचारी, सञ्चालकको व्यवहार, कार्यशैली कस्तो छ भन्ने विषयमा जानकारी लिनुपर्छ ।

केटाकेटीहरूको स्वभाव, व्यवहार र संस्कार धेरै हदसम्म विद्यालयले दिने शिक्षा र त्यहाँको वातावरणले निर्धारण गर्छ। यो कुरालाई अभिभावकले राम्रोसँग बुझ्न जरुरी छ ।नेपालको शिक्षा प्रणाली उत्पादनमूलक छैन। यसबाट युवा बेरोजगार हुने क्रम दिनप्रतिदिन बढ्दो छ । यसलाई न्यूनीकरण गर्न विद्यालयको पठनपाठन प्रक्रियामा नै सुधार गर्नुपर्ने देखिन्छ। गुणस्तरीय शिक्षा आजको आवश्यकता हो। विद्यालयले यस विषयलाई आत्मसात् गरे÷नगरेको विषयमा अभिभावकले ध्यान दिन सके राम्रो विद्यालय छान्न मद्दत मिल्छ ।

यसका लागि विद्यालयले अतिरिक्त क्रियाकलापमा कत्तिको जोड दिएको छ, त्यसबारे जानकारी लिनु आवश्यक छ। पढाइलगायत खेलकुद, कला, प्रविधि, विज्ञान जस्ता विषय समेटिएको विद्यालय छान्नु उपयुक्त हुन्छ। सबै विद्यार्थीको पढ्ने क्षमता एकै नासको हुँदैन। कोही पढाइमा अब्बल हुन्छन् भने कोही खेलकुद त कोही कलाकारितामा। उनीहरूको रुचि र क्षमतालाई बुझेर अभिभावकले विद्यालयको छनोट गर्नुपर्छ। आफ्नो सन्तान पढाइमा अब्बल छन् भन्दैमा उनीहरूको रुचिविरुद्ध निर्णय गर्नु उचित हुँदैन। 

इच्छाविपरीतका विषय पढ्दा राम्रा विद्यार्थीले पनि परीक्षामा औसत स्थान हाँसिल गर्छन्। टोखामा बस्ने आकृति अधिकारी सानैदेखि पढाइमा अब्बल थिइन्। उनी भविष्यमा नर्सिङ पढ्न चाहन्थिन्। तर परिवारले डाक्टर पढ्न बाध्य गराएपछि उनको नतिजा खस्कियो ।

आजको आवश्यकता व्यावहारिक ज्ञान पनि हो। अभिभावकले विद्यालय छनोट गर्दा शिक्षाको व्यावहारिक पक्षलाई ध्यान दिन आवश्यक छ। रटेर पढिएको घोकन्ते विद्याले विद्यार्थीको परीक्षामा राम्रो 
अंक त आउँछ। तर उनीहरूलाई जीवनको परीक्षामा कुनै सफलता मिल्दैन। 

विद्यालय छान्दा त्यहाँ पढाउने शिक्षकहरू कत्तिको शिक्षित छन् भन्ने विषयमा जानकारी लिनुपर्छ। प्रायः विद्यालयले शैक्षिक सत्र सुरु भएको केही महिनासम्म बाहिरबाट शिक्षक मगाएरै भए पनि राम्रो अध्यापन गराउँछन्। त्यसपछि पुनः स्तरहीन पढाइ गराउने परिपाटी छ। विद्यालयको यस्तो चलाखीपूर्ण व्यवहारलाई अभिभावकले बुझ्नैपर्छ। 

प्रायः अभिभावक हल्लाको भरमा विद्यालय छान्छन्। जब कि विद्यालयको शैक्षिक प्रगति, विगतको नजितालाई मूल्यांकन गर्नु अत्यावश्यक छ। यसले विद्यालयको शैक्षिक योग्यतालाई प्रमाणित गर्छ। विद्यार्थीलाई शिक्षा प्रदान गर्न विद्यालय कति संवेदनशील छ। उसले आफ्ना जिम्मेवारी र योजना पूरा गर्दै लगेको छ कि छैन भन्ने विषयमा जानकारी लिन आवश्यक छ ।

अर्कोतर्फ विद्यालयको सुरक्षा, सेवासुविधा कत्तिको भरपर्दो छ भन्ने विषयमा निक्र्योल गर्नुपर्छ। कम्तीमा पनि विद्यार्थीले दिनको ६ घण्टा विद्यालयमा बिताउँछन्। यहाँ रहुन्जेल उनीहरूको सुरक्षाको पूर्ण जिम्मेवारी विद्यालय व्यवस्थापनकै हुन्छ। सुरक्षा प्रदान गर्न विद्यालय असमर्थ छ भने त्यस्तो ठाउँमा आफ्नो छोराछोरी नपढाएकै राम्रो हुनेछ । विद्यालय छनोट गर्नुअघि अभिभावक आफैंले उक्त विद्यालयको अवलोकन गर्न आवश्यक छ। 

विद्यालयको वातावरणलाई आफ्नै आँखाले नियालेपछि धेरै कुरा थाहा हुन्छ। विद्यालयको संस्कारबाट विद्यार्थी प्रभावित हुने भएकाले त्यहाँ काम गर्ने कर्मचारीको स्वभाव, सहयोगी भावना, अनुशासन केकस्तो छ, त्यसमा पनि ध्यान दिनुपर्छ ।

विद्यालय छान्नुअघि उक्त विद्यालयका दीर्घकालीन उद्देश्यहरूमा थाहा पाउनुपर्छ। कतिपय विद्यालय उद्देश्यविहीन हुन्छन्। यसले विद्यार्थीको भविष्यलाई कहीँ पुर्‍याउँदैन। त्यसैले विद्यार्थी भर्ना गर्नुअघि विद्यालयको भावी उद्देश्यबारे राम्ररी जानकारी राख्नुपर्छ ।

शैक्षिक प्रणाली, शिक्षक, विद्यालयको दीर्घकालीन योजना र गुणस्तरीय शिक्षालाई हेरेर अभिभावकले आफ्ना छोराछोरीका लागि राम्रो विद्यालय छनोट गर्न सक्छन्। तर प्रायः अभिभावक यी सब कुरामा ध्यान दिँदैनन्। भवनको संरचना, प्राविधिक सुविधा, अंग्रेजी विषयमा पढाइ हुने र महँगो फिस भएमा विद्यालयको पढाइ गुणस्तरीय हुने कुरामा विश्वास गर्छन्। यस्तो गर्नु भनेको आफ्नो सन्तानको भविष्यप्रति खेलवाड गर्नु हो ।
आजभोलि राम्रो विद्यालय छान्न निकै कठिन हुँदै गएको छ। विद्यालयबीचको प्रतिस्पर्धाले देखावटी शिक्षा प्रणाली लागू हुन थालेको छ, जहाँ किताबको संख्या थप्नेदेखि अनावश्यक क्रियाकलापमा विद्यार्थीलाई समावेश गरिन्छ। यसले विद्यार्थीको ज्ञान पढ्नेभन्दा पनि मानसिक तनाव बढाउने मात्र गर्छ। 

पढाइको गुणस्तरभन्दा विद्यालयको नाम र ब्रान्ड हेर्नु, छिमेकका छोराछोरी कस्तो विद्यालयमा पढेका छन् भन्ने कुरामा बढी ध्यान दिनु जस्ता कुरामा प्रायः अभिभावक केन्द्रित हुन्छन्। यस्तो प्रवृत्ति हटाउन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.