विप्लवका गण्डकी प्रदेश नेता पक्राउ
पोखरा : गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले धमाधम समातेको छ।
कास्कीमा मंगलबार उक्त पार्टीका प्रदेशस्तरीय नेता किसानसिंह गुरुङ पक्राउ परेका हुन। उनलाई पोखराको लेखनाथबाट प्रहरीले पक्राउ गरेको हो। गुरुङ विप्लवको पार्टीले २ वर्षअघि घोषणा गरेको तमुवान जनसरकारका प्रमुख हुन्। पछिल्लो समय उनी जनपरिषद् तमुवान संयोजक छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख डीएसपी रवीन्द्रमान गुरुङले नेता गुरुङलाई उनको आश्रयस्थलबाट पक्राउ गरेको जानकारी दिए।
त्यसैगरी तनहुँ प्रहरीले विप्लवका ३ पक्राउ कार्यकर्ता पक्रेको छ। केशवटारका भेषबहादुर सुनार, सिसाघाटका सुनील कुमाल र जुम्ला घर भई तनहुँ बस्ने अमर बुढा सोमबार राति पक्राउ परेका हुन्।
सुनार र कुमाल आफ्नै घर र बुढा बन्दीपुरको याम्पाफाँटबाट पक्राउ परेका थिए। म्याग्दीमा जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन पक्राउ परेका छन्। मालिका गाउँपालिका-३ का पुनसहित म्याग्दीमा प्रहरीले अरु २ जनालाई पनि पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस !