ललितपुर बक्सिङ संघमा विवाद

ललितपुर बक्सिङ संघमा विवाद

काठमाडौं : ललितपुर जिल्ला बक्सिङ संघमा पदाधिकारीबीच विवाद बढेको छ। संघको तीनवर्षे कार्यकाल गत फागुन १५ गते सकिए पनि अधिवेशन नगराएकाले पुनर्गठनको माग गर्दै संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक र पूर्वपदाधिकारीले जिल्ला खेलकुद विकास समिति ललितपुरमा निवेदन दिएका छन्।

२०७२ फागुन १५ गते राम अवालेको अध्यक्षतामा गठन भएको कार्यसमितिको तीनवर्षे कार्यकाल गत फागुन १५ गते नै सकिए पनि अधिवेशन र साधारणसभा नगरी गुपचुप रूपमा कार्यकाल बढाउन लागेको भन्दै उनीहरूले असन्तोष व्यक्त गरेका हुन्।

ललितपुर जिल्ला बक्सिङ संघका निवर्तमान अध्यक्ष गोविन्द डंगोलले तीनवर्षे कार्यकालभित्र एउटा पनि बैठक बस्न नसकेको र बक्सिङको विकासमा कुनै काम नभएपछि संघ पुनर्गठनका लागि पूर्वपदाधिकारी, खेलाडी र प्रशिक्षक एकजुट भएको बताए।

‘अहिलेको कार्यसमितिले तीन वर्षमा बक्सिङको विकासका लागि कुनै पनि काम गर्न सकेन’, निवर्तमान अध्यक्ष डंगोलले भने, ‘अहिलेसम्म एउटा पनि बैठक बस्न सकेको छैन भने विधानअनुसार प्रत्येक वर्ष हुनुपर्ने साधारणसभा पनि हुन सकेको छैन।’ उनले अहिलेका पदाधिकारी बक्सिङको विकास र खेलाडी उत्पादनभन्दा पनि आफ्नो पदावधि लम्ब्याउन सक्रिय रहेको आरोप लगाए।

संघका अध्यक्ष राम अवालेले आफ्नो तीनवर्षे कार्यकाल सकिएकाले विधानअनुसार नै ६ महिना म्याद थप गर्न लागेको बताए। ‘संघको तीनवर्षे कार्यकाल सकिएको हो। विधानअनुसार ६ महिना पदावधि थप्न पाइन्छ’, अध्यक्ष अवालेले भने, ‘सोही प्रावधानअनुसार हामी म्याद थप्न लागिपरेका छौं।’ उनले आफूहरूले बक्सिङको विकासमा थुप्रै काम गरेको दाबी पनि गरे।

‘मेरो कार्यकालमा ललितपुरमा बक्सिङको विकासका लागि धेरै काम भएको छ’, अवालेले भने, ‘पहिलो पटक नोभिस च्याम्पियनसिप हामीले नै गरेका हौं। यसबाहेक पनि अन्य थुप्रै कार्यक्रम भएको छ।’

ललितपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुजन देवकोटाले संघको कार्यकाल सकिए पनि अधिवेशन नभएकाले संघ पुनर्गठन वा साधारणसभाका लागि निवेदन दिइएको बताए। ‘निवर्तमान अध्यक्ष र कोषाध्यक्षसहितले संघको पुनर्गठन गर्न वा अधिवेशन बोलाउन माग गर्दै निवेदन दिनुभएको छ’, उनले भने, ‘यस विषयमा बुझ्न जिल्ला बक्सिङ संघलाई आइतबार नै पत्र काटिसकिएको छ।’

निवर्तमान अध्यक्ष डंगोलले केन्द्रीय संघको अध्यक्ष भएपछि जिल्लाको नेतृत्व छाड्नुपर्नेमा अवालेले दुवैतिर बसेर बक्सिङलाई बन्दी बनाएको आरोप लगाए। ‘केन्द्रीय संघको अध्यक्ष भएपछि जिल्लामा बस्नुको औचित्य रहँदैन’, डंगोलले भने। अवालेले भने विधानमा केन्द्रको अध्यक्ष भएपछि जिल्लाको नेतृत्व छाड्नुपर्ने कुनै प्रावधान नरहेको दाबी गरे। ‘केन्द्रको अध्यक्ष भएपछि जिल्लाको नेतृत्व छाड्नुपर्छ भन्ने कुरा विधानमा छैन’, उनले भने, ‘विधानमै नभएको विषयलाई अतिरञ्जित गर्नु उचित होइन।’

निवर्तमान अध्यक्ष डंगोलले अवाले केन्द्रमा निर्वाचित भएपछि जिल्लाको नेतृत्व आफूलाई दिने सहमति माइन्युटमै उल्लेख गरे पनि पछि आफूलाई धोखा दिएको दाबी गरे। ‘उहाँ केन्द्रमा निर्वाचित भएपछि जिल्लाको नेतृत्व मलाई दिने सहमति गर्नु भएको थियो। ललितपुर खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुख पनि साक्षी बस्नु भएको थियो। तर, पछि उहाँले धोखा दिनुभयो’, डंगोलले भने। अवालेले भने यस्तो कुनै सहमति नभएको दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.