प्रहरीलाई घुस दिन खोज्ने दुई पक्राउ
ललितपुर : ललितपुर महानगरपालिकाको नखिपोटमा बुधबार राति ११ बजे गस्तीमा निस्किएको प्रहरीलाई घुस दिन खोज्ने दुई व्यक्ति पक्राउ परेका छन्।
मादक पदार्थ सेवन गरेर शंकास्पद तरिकाले स्कुटर डोर्याएर लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई भेटेको थियो। शंका लागेपछि सोधपुछ गर्न खोज्दा उल्टै एक हजार रुपैयाँ घुस दिन खोजेपछि पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कास्की घर भई नख्खु बस्दै आएका सन्तोष थापा र धनुषा घर भई पाटनढोका बस्दै आएका बुनियाँ बहादुर रावत छन्।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रको टोलीले पक्राउ गरेको हो। उनीहरुका साथमा स्कुटरको कुनै कागजातपत्र नभेटिएको र सोधखोज गर्दा उल्टै पैसा दिन खोजेको मिश्रको भनाइ छ।
उनीहरु दुबैलाई सार्वजनिक हितविरुद्ध कसुर अन्तर्गत मुद्दा दर्ता गरेर सात दिनका लागी म्याद थपिएको छ।
प्रतिक्रिया दिनुहोस !