विज्ञान विषयको परीक्षा रद्द हुँदा ७० हजार परीक्षार्थी प्रभावित
राजविराज : सप्तरीमा जारी एसईई परीक्षाअन्तर्गत विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि प्रदेश २ को विज्ञान विषयको परीक्षा रद्द भएको छ। प्रश्नपत्र बुधबार राति नै बाहिरिएको तथ्य पुष्टि भएपछि माध्यमिक शिक्षा परीक्षा सञ्चालन समिति सप्तरीको सिफारिसमा राष्ट्रिय परीक्षा बोर्डले प्रदेश-२ मा बिहीबार लिएको एसईई परीक्षा रद्ध गरेको हो।
बिहीबार बसेको बोर्डको बैठकले विज्ञान विषयको परीक्षा रद्द गरी आगामी चैत २२ गते परीक्षा लिने निर्णय गरेको परीक्षा नियन्त्रक (कक्षा १०) बिष्णु अधिकारीले बताए। अधिकारीका अनुसार अनिवार्य ६ वटा विषयको प्रश्नपत्र प्रदेश अनुसार फरक-फरक बनाइएकाले प्रदेश २ मा लिइएको परीक्षा मात्र रद्द गरिएको हो। यसले करिब ७० हजार पाँच सय ६८ परीक्षार्थी प्रभावित भएका छन्। अरु प्रदेशमा भने परीक्षा तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने भएको छ।
छानबिन समिति
समाजिक सञ्जालमा प्रश्नपत्र र हुबहु प्रश्न-उत्तर
लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको चर्चा चलिरहेकोमा सामाजिक सञ्जालमा परीक्षा अगावै आएको प्रश्नपत्र र बिहीबार परीक्षा सुरु हुनासाथ परीक्षार्थीबाट खोसिएको चिटले सो तथ्य पुष्टि भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन्। पौडेलका अनुसार प्रश्न पत्र वितरण अगावै सामाजिक सञ्जालमा आउनु र प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार परीक्षार्थीबाट खोसिएको चिटको प्रतिलिपी हुबहु मेल खानुले परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको पुष्टि हुन्छ।
एसएलपी मावि पत्थरगाढामा परीक्षा दिइरहेका सात जना र नरेन्द्र मेमोरियल मावि बोरियामा दुईजना परिक्षार्थी प्रश्नपत्रको समूह र नम्बर अनुसार हुबहु उत्तर भएको चिटसहित पक्राउ परेको र अन्य केन्द्रमा समेत सोही किसिमका फ्ल्याप प्रतिलिपी फेला परेको छ।
हुबहु चिटको फ्ल्यापसहित पक्राउ परेका परीक्षार्थीमध्ये केहीले राति नै र केहीले बिहान पाँच बजे नै अभिभावकले उत्तरसहितको प्रतिलिपी उपलब्ध गराएको बताएका छन्।
परीक्षा सुरु हुनासाथ पुगेको अनुगमन टोलीले सबैलाई चिट, गेसपेपर निकाल्न निर्देशन दिएपछि जम्मा भएको दर्जनौ बोरा चिटमा पनि प्रश्नपत्रसँग मेल खाएको समूह र नम्बरसहित उल्लेख भएको फेला परेको थियो।

परीक्षार्थीबाट खोसिएका गेसपेपर।
निजी तथा ठूला विद्यालयको आर्थिक चलखेलमा प्रश्नपत्र बाहिरिएको कुरा एसएलपी मावि पत्थरगाढाका केन्द्राध्यक्ष देबुप्रसाद यादवले जनाए । तर परीक्षा अगावै प्रश्न पत्र बाहिर ल्याउने कार्यमा शिक्षा क्षेत्रका माफियाको मिलोमतो रहेको श्रोतले बताएको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय समिति, प्रहरी देखि शिक्षा क्षेत्रका माफियाहरु क-कस्को संलग्नता र मिलोमतोमा प्रश्नपत्र बाहिरिएको बारे थप अनुसन्धान हुने परीक्षा नियन्त्रक अधिकारीले बताए।
मोबाइल सुविधा
मोबाइलबाट उत्तर लेख्न छुट दिएको पाइए पछि बुधबार मात्र कमलेश्वरी किशुन झौलाई मावि बनरझुलाका केन्द्राध्यक्ष रामअवतार गुप्ता र सह केन्द्राध्यक्ष देवनारायण मण्डल र चार निरीक्षकलाई जिम्मेवारीबाट हटाई शिक्षा ऐनअनुसार कारवाही सुरु गरिएको छ।
मोबाइल प्रयोग गरी उत्तर लेखिरहेका विभिन्न विद्यालयका आठ विद्यार्थीको गणित विषयको परीक्षा रद्द गरिनुका साथै २४ थान मोबाइल सिज गरिएको एसपी राजेन्द्र विष्टले बताए।
परीक्षा सञ्चालनका बेला पुग्ने प्रमुख जिल्ला अधिकारीसहितको छुट्टा-छुट्टै टोलीले चेक गरुञ्जेल मर्यादित तथा शान्तिपूर्ण रहने परीक्षा केन्द्रहरु टोली फर्कने बित्तिकै चिट सार्न व्यस्त हुने गरेको टोलीमै संलग्न स्वीकार्छन्।
वर्षभरी अध्यापनमा ध्यान नदिने केन्द्राध्यक्ष र निरीक्षक भने चिट चोर्ने परीक्षार्थीका सहयोगी बनेका छन्। विद्यालयमा पढाई नै नभएको भन्दै आइतबार बीपी स्मारक मावि भारदह परीक्षा केन्द्रमा परीक्षार्थी लक्ष्मण शर्माले खाली उत्तरपुस्तिका बुझाएका थिए।
बैठक
यसैबीच प्रश्नपत्र बाहिरिएपछि चुनौतिपूर्ण बनेको एसईई परीक्षा थप व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिको बैठक निरन्तर बसिरहेको छ। सप्तरी, सिरहालगायत प्रदेश २ का समितिको वैठक बसी एसईईका बाँकी रहेका विषयको परीक्षा मर्यादित बनाउन छलफल भएको छ। प्रश्नपत्र कस्को लापरवाहीमा बाहिरिएको भन्ने विषयमा प्रारम्भिक अनुसन्धान सुरु भएको प्रजिअ पौडेलले बताए।

प्रतिक्रिया दिनुहोस !