बारा-पर्सामा भएको के हो ? मौसमविद्लाई नै थाहा छैन

काठमाडौं : आइतबार बेलुका आएको प्रकृतिक विपद्मा बारा र पर्सा जिल्लामा गरी मृत्यु भएका २७ जनाको शव भेटिएको पछिल्लो जानकारी आएको छ। ४०० भन्दा बढी घाइते भएका छन्।
मृतकको संख्याबारे सरकारी निकाय तथा व्यक्तिहरूकै आआफ्ना तथ्यांक आएका छन्। सयौँ घाइते भएको र उद्दार कार्य जारी रहेकोले क्षतिको विवरण बढ्नु अस्वभाविक भएन तर खासमा बारा र पर्सामा आएको प्राकृतिक विपद् के हो भन्नेमा पनि अन्योल देखिएको छ।
अरु त अरु मौसविद्हरूले पनि यसलाई नामाकरण गर्न सकेका छैनन्। र, यसको प्रकृति खुट्याउन सकेका छैनन्। प्रधानन्त्री केपी शर्मा ओलीले घटनामा भएको क्षति 'ब्रेक' गर्ने क्रममा गरेका ट्विट हेरौँ।
प्रधानमन्त्री ओलीले पहिलो ट्विटमा ‘डरलाग्दो ऑधी/हुरी’ भनेका थिए। तर बिहान गरेको ट्विटमा भने उनले ‘त्रासद आँधी हुरी’ लेखेका छन्। त्यसपछिको ट्विटमा उनले ‘त्रासद् आँधी’ मात्र लेखेका छन्। नेपालका अधिकांश समाचार मिडियाहरूले यसलाई ‘हावाहुरी’ भनेका छन्। हामीले पनि हावाहुरी नै लेखेका छौँ।
तर यो खासमा के हो ? यो कस्तो प्रकारको हावाहुरी थियो भन्ने निष्कर्षमा मौसम पूर्वानुमान महाशाखा पनि पुगेको छैन। यद्यपि, महाशाखाका विज्ञहरू यस विषयमा काम गरिरहेको बताउँछन्। 'हावाहुरी कस्तो प्रकारको थियो भन्ने हामीलाई पनि थाहा छैन, यसका लागि हामीले तथ्यांक (डाटा) मगाएर अध्ययन गर्नपर्ने हुन्छ' विभागका वरिष्ठ मौसमविद् सुजन सुवेदीले भने, 'यो असामान्य हावाहुरी हो भन्ने निष्कर्षमा चाहिँ हामी पुगेका छौं।'
पर्याप्त प्रविधिको अभावका कारण विभागले अहिलेसम्म हावाहुरीबारे विस्तृत जानकारी प्राप्त गर्न नसकेको सुवेदीले बताए। उनका अनुसार नेपालमा पहिलो पटक देखापरेको यो प्रकोपले अन्योल निम्त्याएको छ।
'माथिल्लो वायु मण्डल र तल्लो वायु मण्डल एक आपसमा मिसिएपछि असामान्य हावाहुरी चलेको हामीले अनुमान गरेका छौं', वरिष्ठ मौसमविद् सुवेदीले भने, 'यसको रुप कस्तो थियो भन्ने कुरा पत्ता लगाउन प्रयास गरिरहेका छौं।'
कास्कीको तल्लो भागबाट यो हावाहुरी सुरु भएको हुनसक्ने समेत मौसमविद् सुवेदीले अनुमान गरे। उनका अनुसार दक्षिण-पूर्वी भागमा बहने क्रममा उक्त हावाहुरीले बारा-पर्सामा वितण्डा मच्चाएको हो।
प्रतिक्रिया दिनुहोस !
