काममा फर्किए चिकित्सक

काममा फर्किए चिकित्सक

काठमाडौं : सरकारी चिकित्सक काममा फर्किएका छन्। आकस्मिकबाहेकका सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका उनीहरूको धर्नामा प्रहरी हस्तक्षेप बढेपछि बुधबारबाट उनीहरू पछि हटेका हुन्। सरकारले बुधबार बिहान चिकित्सकको धर्नामा सुरक्षाकर्मी परिचालन गरी वीर अस्पतालको बहिरंग विभाग (ओपीडी) खुलाएको थियो।

चिकित्सकको समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक संघ (गोदान)को आह्वानमा शुक्रबारदेखि सरकारी चिकित्सक आन्दोलनमा थिए। सुरक्षाकर्मी परिचालन गरी सरकारले वीर अस्पतालको ओपीडी खुलाएर बिरामीलाई टिकट वितरण गरेको थियो। यसअघि भने आन्दोलनरत चिकित्सकले टिकट वितरणमा अवरोध गर्दै आएका थिए।

हतियारसहित प्रवेश गरेका प्रहरीले शान्तिपूर्ण आन्दोलनका चिकित्सकमाथि दुव्र्यवहार गर्दै हातपात गरेको गोदानका अध्यक्ष दीपेन्द्र पाण्डेले बताए। ‘अस्पतालभित्र प्रवेश गरेका प्रहरीले अश्लील शब्द बोल्दै दुव्र्यवहार गरे। शान्तिपूर्ण रूपमा धर्ना दिएका चिकित्सकलाई हातपात गरे’, डा.पाण्डेले भने। प्रहरीको हातपातबाट डा. सन्तोष राई घाइते भएपछि आकस्मिक कक्षमा उपचार गरिएको थियो।

प्रहरीको धरपकडपछि वीर अस्पताल प्रशासनले ओपीडीको टिकट वितरण गरेको थियो। बुधबार झन्डै चार सय बिरामीले उपचार पाएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले जानकारी दिए। अस्पतालभित्र र बाहिर दुवै स्थानबाट बिरामीलाई सेवा प्रवाह गरिएको थियो।

१ हजार ७ सय बिरामीलाई दैनिक सेवा दिने अस्पतालले बुधबार भने न्यूनलाई सेवा प्रवाह ग¥यो। राष्ट्रिय ट्रमा सेन्टरमा भने १ सय ५० जना बिरामीले बहिरंग विभागबाट उपचार पाए। चिकित्सकको आन्दोलनअघि दैनिक तीन सयको हाराहारीमा बिरामी जँचाउन आउँथे। वीर अस्पताल र ट्रमा सेन्टरमा चिकित्सकले शल्यक्रिया भने गरेनन्। नाक, कान घाँटी तथा दन्त विभागमा चिकित्सकले अस्पतालभित्रैबाट सेवा दिएका थिए। अस्पतालबाहिर प्राङ्गणमा चिकित्सकले सादा पानामा संस्थाको छाप लगाएर जाँच गरेका थिए। ‘उपचारका लागि आएका बिरामीलाई दुःख दिने मन होइन। तर सरकारले चिकित्सकको गुनासो नसुनेका कारण शान्तिपूर्ण आन्दोलनमा उत्रिनुपरेको हो’, गोदान अध्यक्ष डा. पाण्डेले भने।

प्रहरीको धरपकडपछि वीर अस्पताल प्रशासनले ओपीडीको टिकट वितरण गरेको थियो।

संघ मातहत राखेर समायोजन गर्दा दुर्गम क्षेत्रमा जान तयार रहेको उल्लेख गर्दै डा. पाण्डेले अहिले गरिएको समायोजन अवैज्ञानिक रहेको दाबी गरे। उनले भने, ‘जहाँ खटायो त्यहाँ जीवनभर बस्नुपर्ने गरी समायोजन गरिएको छ। त्यसो गर्दा थप अध्ययन एवं वृत्ति विकास हुन पाउँदैन।’

चिकित्सकीय पेसालाई समयसापेक्ष अध्ययन गरिराख्नुपर्ने, वृत्ति विकासका विभिन्न गतिविधिमा निरन्तर समावेश हुनुपर्नेमा समायोजनका बेला बेवास्ता गरिएको उनको तर्क छ।

चिकित्सक संघको भर्त्सना

शान्तिपूर्ण आन्दोलनका चिकित्सकमाथि गरिएको धरपकड र हातपातप्रति नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ। समस्याको उचित समाधान वार्ता र संवादबाट गर्नुपर्नेमा सरकारका जिम्मेवार व्यक्तिले चिकित्सा पेसालाई नै मानमर्दन गरी धरपकड गर्ने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने काम गरेको संघको ठहर छ। संघका महासचिव डा. लोचन कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी चिकित्सकमाथि भएको हातपातको निन्दा गरेका छन्।

चिकित्सकको समायोजनका सम्बन्धमा विशेष रणनीति तर्जुमा गर्न उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न क्षेत्रका प्रतिनिधिबीच बिहीबार विस्तृत छलफल गरिने संघका महासचिव डा.कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.