प्रशासनले बन्द गरायो महोत्सव

प्रशासनले बन्द गरायो महोत्सव

बेनी : स्थानीय प्रशासनले बेनीमा सञ्चालित प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव शनिबारदेखि बन्द गराएको छ। ग्रामीण सामुदायिक विकास मञ्चद्धारा सञ्चालित रेडियो म्याग्दी १०४.४ मेघाहर्जले ११ औँ वार्षिकोत्सवको अवसरमा चैत २३ देखि सुरु गरेको महोत्सव प्रहरी परिचालन गरेर बन्द गराएको हो।

दिएको समयसीमाभित्र समापन नगरेको, मेला सञ्चालनका लागि दिएको शर्त पालना नगरेको, स्थानीय कला, संस्कृति, ब्यापार र उद्योगको प्रवर्द्धन भन्दा अमुक व्यक्तिलाई ठेक्का दिएर विकृति विसंगति भित्र्याउने, शान्ति सुरक्षालाई प्रतिकुल प्रभाव पार्ने गतिबिधि गरेकाले बन्द गराएको दावी प्रशासनले जनाएको छ।

‘मेला आयोजकलाई पर्याप्त समय दिँदा दिँदै अटेर र अवज्ञा गरेकाले शान्ति सुरक्षा कायम गर्न बन्द गराउन बाध्य भएका हौँ,’ प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने ‘पछिल्लो पटक जनप्रतिनिधिहरूको उपस्थितिमा भएको छलफलमा २९ गते मेला समापन गर्ने समझदारी गरेका आयोजकले शनिबार पनि सञ्चालन गर्ने घोषणा गरेकाले बन्द गराउनुपरेको हो।’

पहिलो पटक चैत २१ देखि बैशाख १ गतेसम्म अनुमति दिइएको थियो। राजनीतिक दल र उद्योग वाणिज्य संघ तथा बजारबासीको सुझावका आधारमा चैत २३ देखि २७ गतेसम्म दिएको समयसीमा प्रशासनले २८ गतेसम्म थप गरेको थियो।

प्रजिअ अधिकारीका अनुसार प्रदेश सांसद विनोद केसी, जिसस प्रमुख देवेन्द्र केसी, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको उपस्थितीमा २८ गते भएको छलफलमा आयोजकले २९ गते दिउँसो सम्म समापन गर्ने सहमति गरेका थिए।

महोत्सवस्थलमा मदिराको स्टल नराख्ने शर्त आयोजकले उल्लङ्‍घन गरेको प्रशासनले बताएको छ। महोत्सवस्थलमा कुटपिट हुँदा चार जना घाइते भएका थिए। मदिरा सेवन गरेर कुटपिट र उच्छृङ्खल गतिविधि गर्ने १० जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए।

रेडियोको व्यवस्थापकीय सुधारका लागि स्रोत जुटाउने र जिल्लाको पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण, ब्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सव प्रशासनले छापामार शैलिमा ठाडो हस्तक्षेप गरेर मनोरञ्जन र शान्तिपूर्ण रुपमा पेशा व्यवसाय गर्न पाउने अधिकारबाट कुण्ठित बनाएको रेडियो म्याग्दीका स्टेशन म्यानेजर भरत रकालले बताए।

शनिबार बिहान सुरक्षाकर्मीले महोत्सव स्थलको ब्यानर च्यातेर जलाएको, ध्वनीका सामग्रीहरु बिगारेको, सिसिटीभी क्यामेरा तोडफोड गरेको र प्रवेशद्वारबाट दिउँसो १२ बजेसम्म कसैलाई पनि भित्र छिर्न नदिएको रकालले बताए।

महोत्सव बन्द भएपछि लोक दोहोरी गित प्रतियोगिताको फाइनल, पुरस्कार, सम्मानपत्र वितरण र समापन कार्यक्रम हुन सकेनन्। ‘चैत २१ देखि बैशाख १ गतेसम्मको लागि आफैले दिएको अनुमति पटक पटक संशोधन गर्न लगाइयो,’ रकालले भने ‘महोत्सव समापन गर्न समेत नदिई प्रशासनले ज्यादती गरेकोमा दुखित भएका छौ।’

‘प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, जनप्रतिनिधि र उद्योग वाणिज्य संघको आग्रहमा २१ गते तय भएको उद्घाटन कार्यक्रम २३ गते गर्‍यौँ,’ महोत्सवका मूल संयोजक चिरञ्जीवी शर्माले भने ‘१ गते सम्मका लागि तय भएको कार्यक्रम छोट्याएर आजै तीन घण्टामा सक्ने तयारी गर्दा गर्दै बिना सुचना निरंकुश र छापामार शैलीमा हस्तक्षेप गरिएकोमा हाम्रो आपत्ति छ।’

आयोजकका अनुसार महोत्सवको मुख्य आकर्षण लोक दोहोरी गीत प्रतियोगिताको तेस्रो स्थानको फाइनल समेत नगराई शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र अन्नपूर्ण गाउँपालिकालाई दामाशाहीले पुरस्कार दिने गरी तृतीय घोषणा गरिएको थियो।

१५ टुक्का गीतलाई दश टुक्कामा झारिएको थियो। एकल नृत्य प्रतियोगितामा सोनीय पुन प्रथम, सोनीया बोगटी दृतीय र सन्धीता गुरुङ तेस्रो भएपनि पुरस्कार पाएका छैनन्। महोत्सव स्थल बेनीको खुल्ला मञ्चमा ११५ वटा स्थल राखिएको थियो।

सुरुका २ दिन वर्षातका कारण ब्यवसाय प्रभावित भएको, त्यसपछि पनि चाँडै बन्द गर्नुपर्ने भएकाले ब्यापार नभएको र तोकिएको समयसम्म ब्यापार गर्न नपाउँदा मर्कामा परेको महोत्सवमा रेष्टुरेन्टका स्थल राखेका व्यवसायीहरुले गुनासो गरेका छन्।

फेन्सी, भाडा लगायतका स्टलमा भने महोत्सव बन्द गरिएपछि किनमेल गर्नेको घुँइचो लागेको थियो। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए। शनिबार गायक प्रकाश सपुतको प्रस्तुति थियो।

म्याग्दीको सुरक्षा चुनौती देखिएको मेलालाई नियमन गर्न स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालाहरुसँग परामर्श गरेर मापदण्ड तयार पार्न लागिएको प्रजिअ अधिकारीले बताए।

लामो अवधिसम्म मेला सञ्चालन गर्न नपाउने, विद्यालयमा मेला सञ्चालन गर्न रोक लगाउने, कुनै प्रकारका मदिरा बिक्री गर्न नपाउने व्यवस्था सहितको मापदण्ड बनाउन छलफल चलाइएको समेत उनले बताए। स्थानीय संस्कृतिको प्रवर्द्धन र परम्पराको संरक्षणमा सहयोग पुग्ने गरि छोटो अवधिका लागि मात्र मेला सञ्चालन गर्न दिने प्रशासनको भनाइ छ।

म्याग्दीका बस्ती नै पिच्छे १० देखि १५ दिनसम्म सामुदायिक विद्यालयको पठनपाठननै बन्द गरेर मेला सञ्चालन गर्ने, मदिराको अव्यस्थित उत्पादन र बिक्री वितरणका कारण कुटपिट, झैझगडा हुने भएकाले प्रहरी प्रशासनले मेला र मदिरालाई म्याग्दीको मुख्य सुरक्षा चुनौती मानेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.