स्पाइक सुज नहुँदाको पीडा

स्पाइक सुज नहुँदाको पीडा

बेलझुन्डी (दाङ) : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स खेलका प्रतिस्पर्धा दाङको बेलझुन्डीमा आयोजना भइरहेको छ। सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ टोली अहिले बेलझुन्डीमा छन्। सर्वाधिक महत्त्वको घरेलु प्रतियोगितामा सहभागी भएकामध्ये एक हुन्, सुर्खेत कालागाउँकी सेरेस्ना सिरपाली ।

भर्खर १३ वर्ष लागेकी सेरेस्नाले ट्र्याकका दुई विधामा प्रतिस्पर्धा गरिन्, एक सय र दुई मिटर दौडमा। ९ कक्षामा अध्ययनरत सेरेस्ना दुवै स्पर्धामा हिट चरणबाटै बाहिरिइन्। एक सय मिटरको हिटमा उनी चौथो स्थानमा रहिन् भने दुई सय मिटरमा पाँचौं स्थानमा रहेर दौड पूरा गरिन् ।

जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा पहिलो हुँदै राष्ट्रिय प्रतियोगिता खेल्न दाङ पुगेकी सेरेस्ना हिट चरणबाटै बाहिरिएपछि निकै भावुक भइन्। उनी ठूलै आश लिएर प्रतियोगितामा सहभागी भएकी थिइन् तर उनको आशा पूरा हुन सकेन ।

खेलपछि निकै भावुक देखिएकी सेरेस्नाले छोटो तयारी, ब्लकमा बस्न नजान्नु र राम्रो जुत्ताको अभावमा हिट चरणबाटै बाहिरिनु परेको बताइन्। ‘प्रतियोगिताका लागि हामीलाई ४५ दिनअघि नै छनोट गरिएको थियो। यसबीचमा आफूले सामान्य दौड्नुबाहेक अन्य प्रशिक्षण नै भएन’, उनले भनिन्। प्रदेश छनोटपछि अरू खेलाडीले लगातार प्रशिक्षण गर्न पाए पनि आफू भने प्रदेश छनोटपछि सीधै राष्ट्रिय प्रतियोगितामा खेल्न आएको बताइन् ।

उनले यसअघि कहिल्यै पनि ब्लकमा नबसेको र सामान्य जुत्तामा दौडेको बताइन्। ‘जिल्लामा दौडँदा ब्लक भन्ने नै देखेको थिइनँ’, उनले भनिन्, ‘स्पाइक सुज लगाएर दौडनु पर्छ भन्ने पनि थाहै थिएन ।’

स्पिन्टर यामसाजन सुनारले स्पाइक सुजले स्पिडलाई कन्ट्रोल गर्ने भएकाले स्पाइक सुजबिना दौडँदा गम्भीर घाइते हुने सम्भावना रहेको औंल्याए। ‘स्पिडमा स्पाइक भएन भने लड्ने मात्र होइन, गम्भीर घाइते हुने सम्भावना पनि हुन्छ’, यामसाजनले भने, ‘स्पाइक सुज नलगाउँदा एक तथा दुई सय मिटरमा १० मिटरसम्मको फरक पर्छ ।’ उनले राष्ट्रिय खेलकुद परिषद्ले सामान्य दुई÷चार सय रुपैयाँ पर्ने जुत्ता मात्रै उपलब्ध गराएको बताए ।

एथलेटिक्सका प्रशिक्षक पुष्पराज ओझाले स्पिन्टरका लागि स्पाइक सुज अनिवार्य रहेको बताए। ‘छोटो दूरीका लागि स्पाइक सुज अनिवार्य हुन्छ’, उनले भने ‘स्पाइक सुज नलगाउँदा ८–१० मिटरसम्म फरक पर्न सक्छ ।’ उनले ब्लकमा नबस्दा पनि दौडमा प्रभाव पार्न सक्ने बताए। ‘स्पिन्टरका लागि स्पाइक सुजसँगै ब्लकको पनि ठूलो भूमिका हुन्छ। ब्लकमा नबस्दा सुरुमै अरूले पछाडि छाड्ने सम्भावना हुन्छ’, उनले भने ।

सेरेस्नाले हरेक दिन प्रशिक्षण गर्ने विभागीय टोली र अन्य सिनियर खेलाडीसँग पहिलो सहभागितामै कडा टक्कर दिन सकेको बताइन्। ‘मैले ब्लकमा नबसी र स्पाइक सुज नै नलगाएर पनि अरू खेलाडीलाई जितेँ’, उनले भनिन्, ‘राम्रो तयारी र राम्रो जुत्ता भए सिनियर खेलाडीलाई पनि टक्कर दिन सक्ने रहेछु ।’ परिवारबाट राम्रो सहयोग पाएकाले आगामी दिनमा पनि खेललाई भने नछाड्ने बताइन्। ‘खेल्नका लागि बुवाआमाले राम्रो सहयोग गर्नुभएको छ। त्यसैले आगामी दिनमा पढाइसँगै खेलकुदलाई पनि अघि बढाउँछु’, सुर्खेतकै एसओएसकी छात्रा सेरेस्नाले भनिन् ।

कर्णाली प्रदेशबाट सहभागी लामो दूरीका धावक दुर्गाबहादुर बुढाले सेरेस्नाबाट ठूलो आशा गर्न सकिने बताए। ‘नियमित प्रशिक्षण गर्ने हो भने सेरेस्नाबाट ठूलो आशा गर्न सकिन्छ’, उनले भने, ‘तर विडम्बना ! सुर्खेतमा प्रशिक्षकले सिकाएको अहिलेसम्म देखेको छैन ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.