अन्नपूर्ण@अन्नपूर्ण

अन्नपूर्ण@अन्नपूर्ण

कास्कीको नयाँ पुल, बिरेठाँटी पुग्नेबित्तिकै प्रकृतिले कम्मर मर्काउन थाल्छ। पुस महिनाको चिसो चिर्दै मोदीखोला उस्तै फाल हान्दै दक्षिणतिर बग्दो छ। बाटोभरि पर्यटकको हूल खचाखच छ। म पनि त्यही हूलमा मिसिन्छु। अब हामी पदयात्रामा एकअर्काका सहयात्री बनेका छौं। यसरी यात्रा अघि बढ्छ, बाटैबाटो। 

किम्ची पुगेर तलतिर हेर्दा मोदीखोलाको मनोहर दृश्यले मन हर्छ। प्रकृतिको शिल्पकला विचित्रको लाग्छ। म फोटो खिच्न तम्सिन्छु। लेन्सलाई सम्हाल्नै धौधौ हुन्छ। फोटो जति खिचे पनि नअघाउने सुन्दरता। अहा ! यो प्रकृतिको ऋतुलीला ! 

यसरी अनेकौं दृश्यसँग खेल्दै म घान्द्रुक गाउँ आइपुगेँ। यसपटकको मेरो भ्रमण हुने छ- अन्नपूर्ण बेस क्याम्पसम्मको। घान्दुरक पुग्दा गाउँ पदयात्री र गाइडहरूको उपस्थितिले भरिभराउ थियो। अन्नपूर्ण बेस क्याम्प पुग्ने भरपर्दो बाटो यही गाउँ हुँदै अघि बढ्ने हुँदा पनि यसो हुनु सम्भव थियो। गाउँ हुँदै रुट अघि बढेको हुँदा स्थानीयवासी आर्थिक दृष्टिले स्वावलम्बी बन्दै गएका रहेछन्। लाग्यो- घान्दुरक समृद्ध छ, सुन्दरता र स्वावलम्बन दुवै हिसाबले। 

घान्दुरकबाट पारिपारि पृष्ठभूमिमा हेर्दा अन्नपूर्ण साउथ र माछापुच्छ्रे हिमाल दावली साथीजस्तै देखिन्छन्। ती हरसमय घान्दुरक पुग्ने यात्रुहरूको स्वागतमा नतमस्तक भई उभिएका जस्ता लाग्छन्। आँखा र मनमा बिछट्टै शीतलता भर्ने यो प्रकृतिको अथाह जादुमयी वैभवसँग जति रमाए पनि धितै मर्दैन। मन घान्दुरक गाउँले अभिभूत हुन्छ। यसरी पहिलो दिनको यात्रा मेरो घान्दुरक गाउँमा टुंगियो। 

भोलिपल्टको मेरो यात्रा झिनुमा बिहानी खाना खाने उद्देश्यसाथ अगाडि बढ्यो। बाटोभरि हिजोजस्तै बग्रेल्ती पदयात्री भेटिए। त्यो हूल ब्याम्बो पुग्दासम्म एकनासकै थियो। बाटो वरपरको प्राकृतिक सुन्दरता उस्तै वैभवशाली थियो। बाटोमा भेटिने खच्चडका लावालस्करले भने बेलाबेला झस्काउँथे, अलिक अप्ठेरो पथ्र्यो। कहीँकतै भने त्यही दृश्य रमाइलो लाग्थ्यो। यसरी दोस्रो दिनको यात्रालाई मैले छुम्रुङ गाउँमा विश्राम दिन आइपुगेको थिएँ।

 

अर्को दिन, ब्याम्बो पुग्ने उद्देश्यसाथ मैले आफूलाई सबेरै उठाएर साइत गरेँ। सिनुवा पुग्दा छुम्रुङ गाउँ आँखाबाट ओझेलियो र यात्रा ब्याम्बोतर्फ अगाडि बढ्यो। ब्याम्बो पुग्दा गाउँ प्रकृतिको एकांगीमा हराइरहेको थियो। ८-१० घरमा फैलिएको ब्याम्बो निकै सुन्दर थियो। वरिपरि बाक्लो निगालोघारी र बायाँ किनारबाट बगेको मोदीखोलाले यस गाउँको सौन्दर्य शोभा बढाएका थिए। 

ब्याम्बोबाटै सुरु हुन्छ, माछापुच्छ्रे बेस क्याम्प पुग्ने उकालो। यही उकालोसँग पौंठेजोरी खेल्दै माछापुच्छ्रे बेस क्याम्प पुगेँ। त्यहाँबाट हेर्दा माछापुच्छ्रे हिमाल आफ्नो माछाको जस्तो पुच्छर आकार लुकाएर कुनै अनाम हिमालजस्तो उभिएको थियो। यस्तो लाग्थ्यो, माछापुच्छ्रे हिमाल अन्नपूर्ण इस्टको सुरक्षा गार्ड हो। 

कुनै मानव पदचाप शिरमा नपरेको माछापुच्छ्रे अहिलेसम्म ‘कुमारी’ नै छ। यसको कौतूहलपूर्ण कुमारी सौन्दर्यले सबैलाई लठ्याउँछ। म चाहन्छु- यसमाथि कसैको कदृष्टि नलागोस्, कीर्तिमानका नाउँमा कुनै मानव पद यसको शिरमा नपरोस् ! चोखो र कुमारी नै यसको अनन्त परिचय कायम गर्न सके यसको महत्व दुनियाँमा अझै बढ्ला। 

दिनभरिको थकानलाई माछापुच्छ्रे बेस क्याम्पमै वि श्राम दिएँ। त्यो रात पनि सुन्दर र सुखमय बित्यो। भोलिपल्ट बिहान अन्नपूर्ण इस्टमा सूर्यनारायणको दर्शन गर्ने उद्देश्यले म सबेरै उठेँ। 
जब सूर्यनारायणको रक्तिम आभा अन्नपूर्ण हिमालमा खस्यो, दृश्य अनौठो सौन्दर्यमा पोतियो। अन्नपूर्ण हिमाल सूर्यका लाल किरणको ताज पहिरिएकी कुनै रूप लावण्ययुक्त कुमारी युवतीजस्ती देखिन्थ्यो। मौसम उस्तै स्वच्छ र शान्त थियो। प्रकृतिको यो वैभव, यो अवर्णनीय सुन्दरता पान गर्दै पर्यटक विचित्रसँग नियालिरहेका थिए।

उनीहरूको क्यामेराका लेन्स चलायमान थिए, फोटोमा उक्त दृश्य कैद गर्न। म भने सोझिएँ अन्नपूर्ण बेस क्याम्पतर्फ। अन्य पदयात्रीको लर्को पनि उतै लाग्यो। बेस क्याम्प पुग्दा अन्नपूर्ण हिमशृंखला विचित्रपूर्वक आफ्नो सौन्दर्य शोभामा विराजमान देखेर मन फुरुंग भयो। सबैले बडो टक दिएर प्रकृतिको सुन्दरतालाई रसपान गरिरहेका थिए। कोहीकोही त ठाउँठाउँमा ध्यान मुद्रामा हराइरहेका पनि भेटिए। सबै मग्नमस्त, चकित अनि पुलकित देखिन्थे।

आफ्नै अघिल्तिर यति भव्य सौन्दर्य पान गर्न पाउँदा अरूजस्तै म पनि दंग थिएँ। मेरो चित्त खुसीले भरिएको थियो। जसरी हराउँछ कुहिरोमा काग, त्यसरी नै म पनि हराएँ- अन्नपूर्णको सौन्दर्यमाझ। यात्राबाट फर्केर पनि यो मन अन्नपूर्णको छातीमै विहार गरिरहेको भान भइरहन्छ।

अन्नपूर्ण बेस क्याम्पको यात्राका लागि सात दिनको समय छुट्याउँदा उपयुक्त हुन्छ। नेपालको व्यस्त पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण क्षेत्रका प्रायः गाउँ तथा बजार यस सिजनमा पाहुनाले भरिभराउ हुन्छन्। यो रुट पनि अछूतो छैन। पर्याप्त मात्रामा होटलहरू नहुँदा सिजनको बेला यहाँ बास पाउनै मुस्किल हुन्छ। स्थानीय परिकारसहितको खानपान तथा बासका लागि होटलको मेनु भने निकै महँगो बनाइदिन्छन्। यसमा सरोकारवालाहरूको बेलैमा ध्यान जान जरुरी देखिन्छ। अन्यथा पर्यटकमा नराम्रो सन्देश प्रवाह हुने र आवागमन समेत घट्ने देखिन्छ। 

घान्द्रुकबाट उता लाग्दा प्रायः सबै क्याम्प स्टेसनमा पदयात्रीहरूले खान तथा बास बस्नका लागि सास्ती बेहोर्नु परेको देखियो। आफू बास बसेको ठाउँबाट अगाडि बढ्दा अघिका बासस्थान क्षेत्रको पहिचान गरी सूचना र सम्पर्क बाँड्दै अघि बढ्नुपर्ने हुन्छ, जसले यात्रा सहज बन्न सक्छ।

फोटो कलाकार  [email protected] को ‘नगरा घन्किन्छ’ (२०६५) प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.