बूढो मुस्तफा
पचपन्न वर्ष पार गरिसकेको मुस्तफाले परैबाट हात उठाउँछ मलाई देखेपछि।
‘वालेकुमसलाम !’
‘बस् अल्लाहका शुक्र है’, ऊ आफू स्वस्थ रहेकोमा अल्लाहलाई
धन्यवाद दिन्छ।
मलाई उसले पहिला अभिवादन गरेकोमा अप्ठेरो लाग्छ- मेरो संस्कारगत असहजता। अभिवादन गर्ने हाम्रो आफ्नै परम्परा छ। मान्यजनका अगाडि टाउको निहुराउनु पर्छ- बडालाई आपूmले पहिले अभिवादन गर्नुपर्छ- मैले सिकेको अभिवादनको मान्यता।
ऊ सधैं मेरो मान्यता भत्काउँछ र मलाई सकसमा पार्छ।
ऊ मेरो बुवाभन्दा पनि बूढो मान्छे। दाह्री फुलेको छ। लामो बाक्लो दाह्री काइँयोले कोरेर मिलाउँछ। शिरमा उसको टोपी हुन्छ सधैं- सेतो गोलो ‘मुस्लिम टोपी’।
ऊ भन्सार अधिकारीको सहयोगका लागि खटाइएको श्रमिक हो।
ऊजस्तै अरू दसजना श्रमिक ‘इम्पोर्ट’ विभागमा छन्। तीमध्ये ऊ
सबैभन्दा पुरानो हो।
एउटा सामान्य लेबर। एउटा बंगलादेशी नागरिक।
उसले ‘सलामवालेकुम’ भनी अभिवादन गरेकोमा मलाई उसको चाप्लुसीको अनुभूति भएको थियो पहिलो पटक भेट्दा।
उसलाई चिया÷बिस्कुट÷जुसको आशा हुन सक्थ्यो मबाट। तर मेरो सोचाइ गलत रहेछ। यी खानेकुरा उसले भन्सार अधिकारीको कार्यकक्षबाट निर्धक्कसाथ आपैंmले झिकेर
खान सक्थ्यो।
र पनि ऊ प्रायः किचनमा पस्छ, कुनै कागजपत्रका
साथ र मलाई अह्राउँछ, ‘इसका पाँच फोटोकपी कर दो। कस्टम माँगता है।’
कस्टम अधिकारीले माग्ने कुनै कागजपत्रको
फोटोकपीका निम्ति मलाई अह्राइरहने बूढो मुस्तफासँग मेरो दोस्ती
बाक्लिँदै गयो।
म उसको छोराको उमेरको मान्छे।
ऊ मलाई सोध्छ, ‘शादी किया ?’
‘हाँ, विवाहित हो म। एउटा छोरा छ।’
मेरो नाइट ड्युटीको समयमा उसँगको मित्रता केही बाक्लिन्छ। रातको समयमा काम नहुँदा हामी किचनमा बसी चिया सुक्र्याउँदै गफ गर्छौं र समय बिताउँछौं। (यो किचनमा कस्टम अधिकारका लागि मात्रै चिया पाक्छ।)
हामी गफ गर्छौं- ब्रह्मपुत्रदेखि बाग्मतीसम्मको।
-बंगलादेश गार्मेन्ट उद्योगमा दुनियाँको दोस्रो ठूलो मुलुक हो।
-बंगालदेशको गार्मेन्ट उद्योगमा आगलागी हुँदा सयौं कामदारको जलेर मृत्यु भयो।
-बंगलादेशमा दसतले घर भत्किँदा एघार सयभन्दा बढी मान्छेको
मृत्यु भयो।
म ऊसँग उसकै देशको इतिहासको कुरा गर्छु।
-सन् १९७१ अघि बंगलादेश पाकिस्तानको अधीनमा थियो।
(मुस्तफाले पाकिस्तानीलाई कहिल्यै राम्रो भनेन। भन्थ्यो- उनीहरू मुस्लिम हुन् तर पनि हामीसँग ‘दिलको नाता’ कहिल्यै भएन। न त उनीहरूले नै हामीलाई राम्रो मान्छन्।)
उसका कविहरूका नाम म उसलाई भटाभट सुनाउँछु-
काजी इस्लाम नजरुल हक- रवीन्द्रनाथ ठाकुर- तसलिमा-
सलाम आजाद।
ऊ तसलिमाको नाममा नाक खुम्च्याउँछ र भन्छ, ‘बेकार आइमाई हो त्यो। ऊ त बंगलादेशमा छैन अहिले। डाक्टर हो ऊ तर फतवा जारी भएपछि बंगलादेशबाट भागिसकी।’
मैले ऊसँग कुरा गर्दा उसलाई लाग्छ- मैले धेरै जानेको छु, धेरै ‘तालिम’ छ मसँग। ऊ गुनासो पनि गर्छ- यति धेरै तालिम भएको मान्छे तँ परिवार छोडेर किन आइस् ? त्यो पनि यति थोरै तलबका लागि ? यस्तो कामका लागि ? तँ नआउनु पर्ने !’
तर मलाई थाहा छ- मलाई केही पनि आउँदैन। फगत समय बिताउन सक्ने गरी गफ गर्न
जानेको छु। र, यति बेला ऊसँग गफिँदै रातको समय बिताइरहेको छु।
एक दिन म उसलाई ठट्टैठट्टामा भन्छु,
‘जवानीको बेलामा खुब रमाइलो गरे हौला बूढाले, अहिले बुढेसकालमा यो परदेशमा यसरी दुःख गर्नु परेको छ !’
मेरो कुरा सुनेर एकछिन ऊ मौन देखिन्छ। उसको मौनता गम्भीर छ। केही गलत बोलेँ कि जस्तो पनि लाग्छ मलाई।
एकछिनपछि ऊ आपैंm बोल्छ, ‘मेरी जवानी कब आई और कब चली गई, मुझे पता भी नहीँ चला। मुझे अपनी जवानीका अहसास तक नहीँ हुआ।’ (मेरो जवानी कति बेला आयो र कति बेला सकियो, मलाई थाहै भएन। मलाई आफ्नो जवानीको अनुभूतिसम्म भएन।)
मन हुन्छ उसलाई छातीमा टाँसेर ‘म्वाइँ’ खाऊँ तर यो त सपनाको कुरा हो। यथार्थमा यो सम्भव छैन। अब त यो झनै सम्भव छैन। छोरा अब मेरो सपनामा जस्तै बामे सर्दैन। ऊ त साथीहरूसँग स्कुल पो जान्छ।
उसको आवाजमा उदासीनता छ। मेरो आँखामा हेर्न सक्दैन। ढोकानेरको क्यापुचिनोको मसिनतिर मुख फर्काई गम्भीर अनुहार बनाएर एकोहोरो बोल्छ ऊ, ‘२५÷३० वर्ष परदेशमा बसी बूढो ज्यान लिएर जब तिमी घर जान्छौ, तिमीले आपूm उनीहरूका लागि परदेसिनु परेको कुरा पनि भन्न सक्दैनौं। जब आफ्नै छोराले सोध्छ- तपाईंले मेरो लागि के गर्नुभयो बाबा ? त्यो बेला म उसलाई भन्न सक्दिनँ कि छोरा मैले तेरो उत्सवमय जवानीका निम्ति आफ्नो सम्पूर्ण जिन्दगी परदेशमा सकिदिएँ। बरु छोराले उल्टै भन्छ- जति बेला मलाई तपाईंको काँधको आवश्यकता थियो, जति बेला मलाई तपाईंको अभिभावकत्व चाहिएको थियो- त्यो बेला त तपाईं परदेशमा हुनुहुन्थ्यो। अब जब तपाईंमा रगत सकियो, ताकत सकियो अनि काम गर्न नसक्ने बूढो तन लिएर मकहाँ मेरो बाउ भएको हकदाबी गर्न आउनुभयो ? ’
उसका आँखा रसाउँछन्। उसले आँसु पुछ्यो, दाह्री मुसार्यो र आफ्नो ‘दास्ताँ’ सुनाइरह्यो। उसको गला अवरुद्ध भइदियो, उसका कतिपय शब्द पक्रन मलाई गाह्रो भयो।
आँसुले भरिएका आँखा पर कतै शून्यमा टक्क रोक्छ अनि मलाई सोध्छ- तिमीले जन्मदिन मनाएका छौ ? अनि मेरो उत्तर नपर्खेर नै भन्छ, ‘मुलुकमा छँदा मनायौं होला तर यहाँ जन्मदिन मनाउन मन लाग्दैन। २५ वर्षको जन्मदिन मनाउँदा परदेशी जति खुसी हुन्छ, २६ वर्षको उमेरमा त्यो खुसी बाँकी रहँदैन। ३० वर्षको उमेर पुगेपछि जन्मदिन मनाउन चाहँदैन। ३५÷४० पुगेपछि आफ्नो उमेर पनि बिर्सन चाहन्छ।’
‘अरूलाई जन्मोत्सव मनाउँदा हर्ष लाग्छ। एउटा परदेशीलाई आफ्नो उमेर थाहा पाउँदा पीडा हुन्छ। म बूढो हुँदै छु। म जवानी बाँच्न नपाउँदै बूढो हुँदै छु। कति चाँडै बितेको हो यो समय !’
मैले टाउको मात्रै हल्लाउन सकेँ, मसँग बोल्ने कुनै शब्द थिएनन्।
‘सुरुमा यहाँ आउँदा हरेक कुरा जमिन, माटो, हावा, भाषा, संस्कृति, मान्छे, बोली, सब थोक अनौठा लाग्छन्। अपरिचित लाग्छन्। डर लाग्छ यी अपरिचितहरूबाट। दिनहरू बित्दै जान्छन् र यी सबै कुरासँग परदेशी झ्याम्मिन्छ। सबै कुरा थाहा पाइँदै जान्छ। सबै कुरा थाहा पाउँदै गएर पनि डर हराउँदैन बरु बढ्दै जान्छ। यो पराई भूमिलाई जति चिनिँदै गइन्छ नि, उति नै डर लाग्छ। मैले चिनेको यो ठाउँ, यी मान्छे, यो सहर कुनैलाई पनि त म आफ्नो भन्न सक्दिनँ।’
साँच्चै हो त ! यी कुनै पनि त मेरा आफ्ना होइनन्।
‘आफू जन्मेहुर्केको ठाउँभन्दा नितान्त बेग्लै संसारमा बूढो हुँदै जानुको डरले परदेशीको मन सधैं आक्रान्त रहन्छ। परदेशमा जति धेरै वर्ष बिताउँछ, उति नै उसको मन खोक्रो हुँदै जान्छ, प्यासो हुँदै जान्छ।’
‘यहाँ सब थोक छ। पैसा छ भने यहाँ पनि सब थोक छ। सब थोक भएर पनि मान्छे यहाँ खुसी छैन।’ मुस्तफाले गहिरो दर्शन बोलेको थियो। मैले पनि अनुभूति गरेको छु- श्रीमतीले माया गरेर पस्किदिने मीठो खानाको तुलना १०÷२० दिराम मा पाइने रेस्टुराँको खानासँग हुन सक्दैन। दसैंमा आमाबाबाको हातबाट लगाइने टीका र आशीर्वाद यहाँ पाइँदैन। तिहारमा साथीसंगीसँग रमाइलो गरी देउसीभैलो खेल्नुको आनन्द यहाँ कुनै पनि समूहमा पाइँदैन।
यी सब थोक गुमाउँदै जानुको पीडाले गाँज्छ मान्छेलाई। परदेशमा जतिसुकै पैसा कमाए पनि मान्छे खुसी रहन सक्दैन। परदेशमा ऊ अनागरिक हो- परदेशमा ऊ आयातीत श्रमिक मात्र हो। एक न एक दिन आफ्नो माटोमा फर्किनै पर्छ। मुस्तफा जस्तै बूढो भएर होस् अथवा दुर्घटनाग्रस्त मृत्यु बोकेर होस् ! फर्किनु त पर्छ नै।
मुस्तफा बोलिरहेकै छ उसै गरी मानौं ऊ एकल संवाद गर्दै छ, ‘यो पराया मुलुकमा हाम्रो लास ‘दफन’ गर्न पनि ठाउँ छैन।’ ऊ फुस्रो हाँसो हाँस्छ।
‘मैले पठाएको दिरामले मेरी श्रीमतीलाई खुसी दियो होला त ?’
एकछिन चुप लाग्छ ऊ, मानौं मेरो सहमति खोजिरहेको होस्, मलाई सोधिरहेको होस्। अनि चोर आंैला उठाएर भन्छ, ‘अहँ... मलाई लाग्दैन। ऊ खुसी छैन म यहाँ बसेकोमा !’
हामीले फेरि एक एक कप चिया थप्यौं। कस्टम अधिकारीहरू सुतिरहेका छन् आआफ्नै क्याबिनमा। रातको समय... गर्नुपर्ने काम हुँदैन। लेबरहरू पनि कुर्सीमा बसी उँघिरहेका छन्। र, मुस्तफा मलाई आफ्नो व्यथा र पीडा सुनाउँदै छ। चेतनशील जीवन परदेशमा बिताउनुको दर्शनगाथा बताउँदै छ !
‘दुई भाइलाई पढाएँ, एउटी बहिनीको विवाह गरिदिएँ। बाबा बिरामी पर्नुभयो। उपचार गराएँ। घर बनाएँ। धेरै गरेँ। र पनि भाइ छोराले भन्छन्- तैंले के गरिस् ? ’
‘मैले धेरै गरेँ। धेरै ! तर समय थामिएन। मलाई बूढो बनाउँदै गएको समय थामिएन। यी धेरैधेरै काम गर्दै गर्दा मलाई थाहै भएन, म कतिखेर बूढो भएँ। कतिखेर मेरो जवानी आएछ र गई पनि सकेछ ! मलाई थाहै भएन !’
‘पहिलोपटक चार वर्षपछि घर फर्केको थिएँ। छोरा पाँच वर्षको थियो। मसँग खेल्थ्यो बस्थ्यो। मलाई आपूmले पढेका कुरा सुनाउँथ्यो। दुई महिना बसेर फर्किएँ। त्यसको तीन वर्षपछि फेरि गएँ। छोरी अढाई वर्षकी थिई। काखमा खेलाएको सम्झना छ। तर त्यसको चार वर्षपछि घर फर्किंदा छोरा छोरी दुवैले मलाई पछ्याएनन्। उनीहरू मसँग डराए। कतिपटक इच्छा हुन्थ्यो कि छोरीले मसँग कान निमोठेर चकलेट मागोस्, छोराले पैसाको फर्माइस गरोस्। अहँ, उनीहरूको लागि उनकी आमा नै सबथोक थिई।’
‘म कोही पनि थिइन। म केवल ‘अजनवी’ थिएँ। बाबु नामको
परदेशी अजनवी !’
‘त्यसपछि छोराको पढाइको कुरा आयो। छोरीको पढाइ। विवाह...। मैले बिर्सें आफ्नो यौवन, आफ्ना रहर, आपूm बूढो हुँदै गएको समय।
आज तीस वर्षपछि पनि लाग्छ- छोरी उस्तै छे होली। फ्रक लगाएर घरको आँगनमा गिट्टी खेलिरहेकी ! तर उसकै छोरी अहिले त्यत्रो
भइसकी होली।’
‘अब थाकिसकेँ म। यत्रो जीवन मैले बाँच्नै नपाएर सकाएँ।’ ऊ केही पल मौन हुन्छ र मुहार चम्किलो बनाएर भन्छ, ‘इन्साँ अल्लाह ! दो महिने बाद क्यान्सिल जा रहा हुँ !’
उसले दाह्री मुसार्यो। दाह्रीमा अल्झेका आँसुका थोपा पुछिए।
‘बेटा ! यो जिन्दगी फेरि पाइँदैन। ठूलो खुसी हात पार्ने निहुँमा जिन्दगी जिउन सिकाउने ससाना खुसीहरूलाई कहिलै नपन्छाउनू ! भोलि खुसी हुने आशामा हामी आजलाई दुःखमा बिताउँछौं। तर हाम्रो लागि भोलि कहिल्यै आउँदैन र हामी कहिल्यै खुसी हुँदैनौं। जिन्दगी त आजमा बाँचेको हुन्छ।’
ऊ मौन भयो। म उसै गरी मौन छु अघिदेखि नै। तर उसले मेरो मनलाई उद्वेलित पारिदिएको छ।
उसले उठ्दै भन्यो, ‘‘अजान’को वक्त भइसक्यो। म नमाज पढ्न जान्छु। चियाको लागि शुक्रिया !’
ऊ मलाई चियाका लागि धन्यवाद दिँदै बाहिरियो। मेरो शान्त मनको पोखरीमा सुनामी सिर्जना गर्दै।
उसले बाध्य बनायो मलाई मेरो आफ्नो छोरा सम्झन जसलाई म अभैm बामे सर्दै गरेको देख्छु सपनामा जहाँ ऊ खित्खिताएर हाँसिरहेको हुन्छ। मन हुन्छ, उसलाई छातीमा टाँसेर ‘म्वाइँ’ खाऊँ तर यो त सपनाको कुरा हो। यथार्थमा यो सम्भव छैन। अब त यो झनै सम्भव छैन। छोरा अब मेरो सपनामा जस्तै बामे सर्दैन। ऊ त साथीहरूसँग स्कुल पो जान्छ। मुस्तफा मेरो मनभरि पीडा र मस्तिष्कभरि प्रश्नहरू थुपारेर अल्लाह पुकार्दै छ।
‘अल्लाह हु अकबर !!’
अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेर वैदेशिक श्रम रोजगारमा यूएई गई फर्केका महक मूलतः कथा लेख्छन्