मेचीनगर गोल्डकप : संकटा सेमिफाइनलमा
काँकडभिट्टा : आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा संकटाले काँकडभिट्टालाई ४-१ गोलले पराजित गर्यो।
२२औं मिनेटमा विदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। डीबक्सभित्र पाएको पासलाई काँकडभिट्टाका गोलरक्षक किशोर गिरीलाई बिट गर्दै उनले गोल गरेका थिए। २९औं मिनेटमा फोडेले नै गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलको ४४औं मिनेटमा फोडेले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए। ५५औं मिनेटमा क्रिस्टियनले गोल गर्दै खेललाई ४-० को अवस्थामा पुर्याएका थिए।
काँकडभिट्टाका लागि खेलको ८०औं मिनेटमा विमल घर्तीमगरले डीबक्स नजिकैबाट गरेको फ्रिकिक गोलमा परिणत भएको थियो। निशान्त लिम्बूलाई संकटाका खेलाडीले फल गरेपछि पाएको फ्रिकिकमा उनले गोल गरेका थिए।
खेल अवधिभर काँकडभिट्टाविरुद्ध हावी भएको संकटाले विपक्षी पोस्टमा एक दर्जन प्रहार गरेको थियो। नवौं मिनेटमा संकटाका सुवास गुरुङले वान भर्सेस वानमा गोल गर्न सकेनन्। १०औं मिनेटमा डीबक्स नजिकै पाएको फ्रिकिकलाई लक्ष्मण रुचालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो।
खेलको ३०औं मिनेटमा काँकडभिट्टाका विमल घर्तीमगरले विपक्षी गोलरक्षक बिट भइसकेको अवस्थामा गरेको प्रहार आकासिएको थियो।
खेलको म्यान अफ दी म्याच संकटाका फोफोना फोडे भए। उनले ११ हजार रुपैयाँ पुरस्कार पाए। आइतबार त्रिभुवन आर्मी क्लब र धरान फुटबल क्लब सुनसरीबीच खेल हुने छ। प्रतियोगिताका विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतिक्रिया दिनुहोस !