विद्यार्थीले हटाए ‘पुस्तक महल’ को सिन्डिकेट
राजविराज : पुस्तक व्यवसायीले अघोषित रूपमा अपनाउँदै आएको सिन्डिकेट प्रणाली विद्यार्थीले हटाएका छन् । सिन्डिकेट प्रणालीविरुद्ध विद्यार्थी संगठन आन्दोलनमा उत्रिएपछि पुस्तक व्यवसायी पछि हट्न बाध्य भएका हुन् । ‘पुस्तक महल’ मा तालाबन्दी गरी विद्यार्थी संगठन आन्दोलनमा उत्रिएपछि शनिबार राजविराजमा भएको सर्वपक्षीय बैठकले सिन्डिकेट प्रणाली अन्त्य गर्ने निर्णय गरेको हो ।
पुस्तक व्यवसाय क्षेत्रमा दबदबा कायम गर्दै वैशाख २ गतेदेखि १२ जना व्यवसायीद्वारा राजविराजको मुख्य चोकमा सञ्चालन गरिएको ‘पुस्तक महल’मा विद्यार्थीले तालाबन्दी गरेपछि व्यवसायी सिन्डिकेट प्रणाली अन्त्य गर्न राजी भएका छन् ।
राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवको पहलमा जिल्ला समन्वय समितिमा भएको बैठकले सिन्डिकेट लागू गरी ‘पुस्तक महल’ले पाठ्यपुस्तक बिक्री–वितरण गरिरहेको पुष्टि गर्दै सिन्डिकेट प्रणाली अन्त्य गर्ने र जिल्लाभरका हरेक पुस्तक पसलबाट सहज रूपमा पाठ्यपुस्तक बिक्री–वितरणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

वर्षौंदेखि अभिभावक र विद्यार्थीलाई सास्ती खेपाउँदै पुस्तकमा ‘लुट’ मच्चाउँदै आएका व्यवसायीले ‘पुस्तक महल’मा मात्र पाइने गरी सिन्डिकेट खडा गरेको विषयमा चार दिनअघि अभिभावकसँग पसलमै ठूलो विवाद भएको थियो । अबदेखि जिल्लाभरिका पुस्तक पसलमा सहज रूपमा उपलब्ध गराउन अधिकृत बिक्रेता व्यवसायीले लिखित सहमति जनाएको व्यवसायी अमित पाठकले जनाए ।
यसैगरी, निजी विद्यालयको नर्सरीदेखि कक्षा १० सम्मको सम्पूर्ण पुस्तक अंकित मूल्यमा व्यावहारिक रूपमा मिल्न सक्ने छुट दिन पनि व्यवसायीले लिखित सहमति गरेका छन् । लिखित रूपमा छुटको प्रतिशत छुट्याउन कानुनी कठिनाइ भएकाले समहतिपत्रमा नखुलाइए पनि न्यूनतम १० प्रतिशतसम्म छुट दिने आन्तरिक सहमति भएको वार्तामा सहभागी विद्यार्थी नेता रञ्जित मण्डलले बताए ।
यसअघि ‘पुस्तक महल’ सञ्चालन गरेका व्यवसायीले पाठ्यपुस्तकमा एक रुपैयाँ पनि छुट नदिने निर्णय गरेका थिए । विभिन्न प्रकाशन गृहको अधिकृत बिक्रेता रहेका सप्तरीका ठूला पाँच र साना सात पुस्तक व्यवसायीले आफ्ना पसलबाट समेत पुस्तक बिक्री बन्द गरी ‘पुस्तक महल’ जान अभिभावक र विद्यार्थीलाई बाध्य पारेका थिए ।
सप्तरीका निजी विद्यालयमा पढाइने पुस्तक अन्य साना पुस्तक व्यवसायीलाई समेत नदिएपछि उनीहरूसमेत सिन्डिकेट प्रणालीको विरोधमा उत्रिएका थिए । छलफलमा पुस्तक व्यवसायी संघ सप्तरीका अध्यक्ष शिवनारायण साह र अर्का व्यवसायी प्रवेश यादवले सिन्डिकेट प्रणालीको विरोधमा खुलेर आलोचना गरे ।
अनेरास्ववियु सप्तरीका अध्यक्ष ललित रजकसमेतले सिन्डिकेट प्रणाली अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीमाथि उपयुक्त कारबाही नभएपछि विद्यार्थी संगठनले तीन दिनअघि पुस्तक महलमा तालाबन्दी गरी आन्दोलनको उद्घोष गरेका थिए । तालाबन्दीपछि आक्रोशित पुस्तक व्यवसायीले कुनै पनि स्टेसनरी सामग्री बिक्री नगर्ने भन्दै पसल बन्द गरेका थिए ।
बैठकमा जिल्ला समन्वय समिति प्रमुख मनोजकुमार यादव, राजविराज नगर प्रमुख शम्भुप्रसाद यादव, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेविसंघ, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरमका जिल्ला नेता, पुस्तक व्यवसायी महासंघ, सप्तरीका अध्यक्ष शिवनारायण साहलगायत व्यवसायी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस !