डेढ लाख रोजगारी थपिने
काठमाडौं : चालु आर्थिक वर्षको असारसम्म डेढ लाख नयाँ रोजगारी सिर्जना हुने भएको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी सिर्जना गर्ने तयारी गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिक दिवसका अवसरमा आयोजित कार्यक्रममा यो जानकारी दिएका हुन् ।
सरकारले यसै वर्षदेखि कम्तीमा पनि सय दिनको रोजगारी ग्यारेन्टी गर्ने गरी गत फागुनदेखि प्रधानमन्त्री रोजगारी कार्यक्रम सुरु गरेको थियो । देशभरका सात सय ५३ स्थानीय तहबाट बेरोजगार युवाको आवेदन संकलनको काम भइरहेको छ ।
मन्त्री विष्टले यसै वर्ष कम्तीमा पनि ४५ दिनका लागि डेढ लाख थप रोजगारी सिर्जना हुने दाबी गरे । ‘हामी गृहकार्य गर्दैछौं, यसै वर्ष डेढ लाखभन्दा बढी रोजगारी सिर्जना हुने गरी कार्यक्रम घोषणा गर्दै छौैं’, उनले भने । उनले आउँदो पाँच वर्षभित्र गरिबी र बेरोजगारीका कारण बाध्यात्मक स्थितिले वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य हुने दाबी गरे ।
‘नेपालभित्रै कामका अवसर खोज्दै छौं’, उनले भने, श्रमशक्ति विकासमा हाम्रो ध्यान केन्द्रित भएको छ ।’ आउँदो आर्थिक वर्षदेखि दातृ निकायको सहयोगमा थप एक लाख रोजगारी सिर्जना हुने गरी प्रक्रिया अघिबढेको उनको भनाइ छ ।
न्यूनतम पारि श्रमिक र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी ढंगले अघि बढाउन सरकारले नियमन गर्ने उनले प्रतिबद्वता व्यक्त गरे । ‘ श्रमिकको अधिकार सुनिश्चित हुने गरी कानुनी संरचना तयार गरिएको छ’ ,उनले भने, ‘कानुन कार्यान्वयन गर्न सबै लाग्नुपर्छ ।’ श्रम ऐन र श्रम निरीक्षण गर्न सरकारले ध्यान दिने उनको भनाइ छ ।
‘ श्रमिक शोषण गर्ने प्रवृति अन्त्य गरिनेछ’, उनले भने, ‘अझै पनि कुनै बहानामा श्रमिक शोषण गर्नेलाई कडा कारबाहीको दायरामा ल्याउने छौैं’, उनले भने । यन्त्र, उपकरणको प्रयोगमा निरुत्साहित गर्दै श्रमशक्तिलाई पहिलो प्राथमिकता दिएर रोजगारी सिर्जना गरिने उनले बताए ।