चौंरीको चाम्रो छुर्पी
डगच्युको माग बढेपछि उनले जोगमाईमा गाईपालन घटाए। सूर्योदय नगरपालिकाको फिक्कल आएर २०७२ मा डेरी उद्योग सुरु गरेका दिनेशले फिक्कलको उद्योगमा पाँच लाख पैयाँ लगानी गरे।
माइजोगमाई गाउँपालिका भित्तेका ३२ वर्षीय दिनेशकुमार महत युवा व्यवसायी हुन्। बीबीएससम्म अध्ययन गरेका उनी दुग्धजन्य व्यवसायबाट गाउँमै करोडपति बनेका छन्। आफ्नो उमेरका धेरै युवा वैदेशिक रोजगारीको चक्करमा रहेका बेला उनी त्यसबाट ‘सय हात’ टाढा छन्। पासपोर्ट बनाएर म्यानपावर र कन्सल्टेन्सी धाउनुको साटो उनले गाउँमै उद्यमको बाटो रोजे। मेहनत गर्दा नाम र दाम दुवै मिल्ने उनको अनुभव छ।
बिहान रेडियो खुल्नासाथ दैनिकी सुरु हुन्छ। तर रेडियो स्टेसनमा होइन, दूध प्रशोधनशालामा। उनका लागि दुग्ध व्यवसाय पाँच पुस्ता पुरानो हो। उनी गाईपालनबाट दुग्धजन्य व्यवसायमा लागेका रहेछन्। उनले सूर्योदय नगरपालिका– ९ बरबोटेमा फिक्कल डेरी सञ्चालन गरेका छन्। ‘पुख्र्यौली पेसालाई अझ व्यवस्थित बनाउने चाहनाले म दूध प्रशोधनतर्फ आकर्षित भएँ’, उनी भन्छन्।
अघिल्लो पुस्ताले दूधबाट घिउ बनाई भारतको मानेभन्ज्याङ पुर्याएर बिक्री गथ्र्यो। उनका बुवा ललिबुङले केही समय क्रिम सेप्रेटर (दूध पेल्ने मेसिन) प्रयोग गरी छुर्पी र घिउ बनाएर बेचे। तर यस्तो घिउ उपभोक्ताले नरुचाएपछि डेरी बन्द भयो। उनले काठको ‘टोलङ’मा मोही पारेर घिउ बिक्री गर्न थाले। २०६१ मा निधन भयो। त्यसपछि दिनेशले व्यवसाय सम्हाले।
साबिक जोगमाई गाउँ विकास समिति— ३ ढाडे (अहिले माइजोगमाई गाउँपालिका— २)मा २०५२ सालमा चिज उद्योग सुरु भएपछि गाउँगाउँमा डेरी उद्योग खुले। दिनेशले पनि १७ वर्षअघि क्रिम सेप्रेटर ३० हजारमा खरिद गरेर दूध प्रशोधनको काम थाले। २०५९ मा एसएलसी पास गरेपछि उनले डेरीमा भविष्य खोज्न थालेका थिए। संकलित दूध सुरुमा हाते मेसिनले प्रशोधन गरे। ‘गाई पाल्दा प्रत्येक दिन बिहान ४ बजे उठ्थें’, उनी भन्छन्, ‘बेलुका १० बजेसम्म गाईधन्दामै समय बित्थ्यो। ’ त्यसबेला उनको मासिक कमाइ एक लाख रुपैयाँ हाराहारी थियो।
छुर्पी बिक्री गर्न भरपर्दो बजारको आवश्यकता पर्यो। उनी स्थानीय बजारमै छुर्पी र घिउ बिक्री गर्दै थिए। सुनसरी धरानका डगच्यु (अमेरिकामा कुकुरलाई खुवाउने छुर्पी) का कारोबारी रूपनारायण दाहालसँग २०६५ मा भेट भयो। दाहालको मागअनुसार उनले छुर्पीको नमुना अमेरिका पठाए। सामान बिक्रीयोग्य देखियो। तब माग बढ्यो। पहिलो महिना ४० किलो पठाए।
दाहालले उनलाई गाउँभरिका छुर्पी संकलनको जिम्मा दिए। उनले ३१ वटा डेरीसँग छुर्पी खरिद सम्झौता गरे। मासिक २५ सय किलो अमेरिका पठाउन थाले। इलामे छुर्पीको भाउप्रतिकिलो तीन सय ५० रुपैयाँ पुग्यो। स्थानीय बजारमा दुई सय ५० ले चलिरहेको थियो। सय रुपैयाँ बढी पाउन थालेपछि डेरी व्यवसायी उत्साहित भए। उनले कमाइ रामै्र गरे।
संकलकका रूपमा उनले ६ वर्ष काम गरे। उनी माईजोगमाई गाउँपालिकाका गोर्खे, सोयाङ, जोगमाई नयाँबजारबाट छुर्पी संकलन गर्थे। महिनामा सात दिन काम गर्दा पुग्थ्यो। बाँकी २३ दिन फिक्कल डेरीमा डगच्यु छुर्पी र घिउ उत्पादन गर्थे। ‘अरूको डेरीबाट छुर्पी संकलन गर्दा भर भएन’, उनी भन्छन्, ‘त्यसैले आफ्नै डेरीमा काम सुरु गरेँ। ’
डगच्युको माग बढेपछि उनले जोगमाईमा गाईपालन घटाए। सूर्योदय नगरपालिकाको फिक्कल आएर २०७२ मा डेरी उद्योग सुरु गरेका थिए। उनले फिक्कलको उद्योगमा पाँच लाख रुपैयाँ लगानी गरे। ३५ सय लिटरसम्म दूध संकलन हुँदा मासिक ३५ सय किलै डगच्यु अमेरिका पठाउन थाले। महिनामा ३५ सय किलो घिउ स्वदेशमै खपत हुन थाल्यो। यो क्रम दुई वर्ष चल्यो। उनले छुर्पी बटुल्ने काम छाडे। साना डेरी सञ्चालकलाई दिएको २० लाख रुपैयाँ डुब्यो। उनले २०७४ मा भाडा बसेको जग्गा र कारखाना गरी ६० लाखको सम्पत्ति जोडे। त्यही अवधिमा उनले ४० लाख लगानी गरी ‘रेडियो बुद्धवाणी’ सञ्चालनमा ल्याए।
उनका अनुसार अब छुर्पीको भविष्य छैन। यसको व्यवसाय खुम्चिँदै छ। अमेरिकाबाट माग घट्यो। पुरानो व्यवसायप्रतिको मोह उस्तै छ। उनी दूधको व्यापारले आफूलाई स्थापित गराएको ठान्छन्। उनले चारवटा डिपो र दुई कर्मचारीका साथमा उद्योगलाई निरन्तरता दिएका छन्। उनको कारखानामा एक हजार लिटर हाराहारी दूध संकलन हुन्छ। अहिले मासिक १५ सय किलो छुर्पी अमेरिका नै निर्यात हुने गरेको छ।
बिहान साढे ५ देखि १० बजेसम्म दूध प्रशोधनमा बिताउने उनी त्यसपछि रेडियो जान्छन्। रेडियोका प्रमुखदेखि समाचार संकलन, सम्पादन, बजार व्यवस्थापनको पाटोसमेत भ्याउँछन्। दुवै काममा खट्न पाउँदा आनन्द लाग्ने गरेको उनी सुनाउँछन्। सानोमा रेडियो बोकेको फोटो देखाउँदै उनी भन्छन्, ‘सानै उमेरदेखि रेडियोप्रति मोह थियो। त्यसले रेडियो स्थापनामा झकझक्यायो।’ संघसंस्थाका प्रमुख हुँदा पनि उनी स्थानीय रेडियोमा काम गर्थे। उनी समाचारदाताका रूपमा आफूलाई चिनाउन चाहन्थे।
उनलाई गाईपालन गर्दाको सम्झना मीठो लाग्छ। खोलेकुढो पकाउने, गाई चराउने, बाछालाई घाँसको जोहोमै उनको दैनिकी बित्ने गरेको थियो त्यसबेला। त्यही मेहनतले उनको हातमा एक करोड ५० लाखको सम्पत्ति छ। भन्छन्, ‘कामलाई निरन्तरता दिँदा असफल हुने सम्भावना घट्दो रहेछ। ’
उनका छिमकी माईजोगमाई–२ का नर्बु तामाङ भन्छन्, ‘निकै मेहनती छन्, यहाँ हुँदा राम्रो व्यवसाय गरेका थिए।’ पूर्वसाझेदार इटहरीका प्रकाश दाहालका अनुसार महतले विभिन्न कम्पनीमार्फत अझै डगच्यु अमेरिका पठाउने गरेका छन्। बजार समस्याका कारण पहिलेको तुलनामा छुर्पीको कारोबार ओरालो लागेको उनी सुनाउँछन्।
परिवारका कान्छो छोरा हुन्, दिनेश। जेठो दाजु गंगा शिक्षक छन्, माइलो दाइ टंक लोकसेवा आयोगमा उपसचिव। साइलो लीला अमेरिकामा छन्। ‘दुग्ध व्यवसायले मलाई यहाँ ल्यायो’, उनी भन्छन्, ‘रेडियो सोख र व्यवसाय दुवै हो।’ कामलाई माया गर्दा लाभ र सम्मान दुवै मिल्ने उनको व्यावसायिक अनुभव छ। उनले रेडियो र डेरी उद्योगमा गरेर सात कर्मचारी राखेका छन्। १३ जनालाई पार्टटाइम रोजगारी दिएका छन्।